कोहलपुर । कोहलपुर नगरपालिका फेरि विवादमा तानिएको छ । कोहलपुर १५ नं. वडा कार्यालयको कार्यालय सहयोगी पदमा अपारदर्शी तरिकाले कर्मचारी राखेपछि कोहलपुर नगरपालिका फेरि विवादमा तानिएको हो । वडा कार्यालयमा कार्यरत एक जना कर्मचारीले राजिनामा दिएपछि १५ नम्बर वडा कार्यालयमा एउटा दरबन्दी रिक्त थियो ।
सोही ठाउँमा नगरपालिकाका नगर प्रमुख लुटबहादुर रावतको मनोमानी ढंगले कर्मचारी नियुक्त गर्न ठाडो आदेश दिएको र अपारदर्शी तरिकाले कर्मचारी राखेको कुरा बाहिएिको छ । नगर प्रमुख रावतको ठाडो आदेशमा कार्यालय सहयोगी पदमा अपारदर्शी तरिकाले कर्मचारी राखेपछि कोहलपुर नगरपालिका फेरि विवादमा तानिएको छ ।
कोहलपुर नगरपालिका–१५ को वडा कार्यालयले थप कर्मचारीको आवश्यकता नपरेको जनाए पनि नगर प्रमुख रावतको ठाडो आदेशमा रातारात कोहलपुर–१४ निवासी तिलकुमारी बिकलाई १५ नम्बर वडाको कार्यालय सहयोगी नियुक्ति गरिएको छ । तर, वडा कार्यालयले भने उक्त पदमा सुनिता मगरलाई नियुक्त गरिसकेको छ ।
वडा कार्यालयले निर्णय गरिसकेको अवस्थामा नगरपालिकाले विकलाई नियुक्त गर्न आदेश दिएपछि नगरपालिका र वडा कार्यालयबीच विवाद बढेको छ । १५ नम्बर वडा कार्यालयका कावा वडाध्यक्ष अनिताकुमारी बुढाथोकीले वडा समितिको निर्णय अनुसार वडा नम्बर १५ कै सुनितालाई कार्यालय सहयोगीमा नियुक्त गर्न नगरपालिकालाई सिफारिस गरेकी थिइन् ।
नगरपालिकाका नगर प्रमुख रावतले भने सिफारिसलाई व्यवास्ता गर्दै गैरवडावासीलाई जवरजस्ती नियुक्ती दिन ठाडो आदेश दिएपछि विवाद बाहिरिएको हो । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अनन्त पौडेलले बिकलाई करारमा नभएर दैनिक ज्यालादारीमा नियुक्त गरेको स्वीकार गरेका छन् ।
ज्यालादारीमा नियुक्ति पाएकी उनलाई स्वास्थ्यमा जिम्मेवारी तोकिएको समेत बताए । वडा कार्यालयले थप कर्मचारीको आवश्यकता नपरेको प्रतिक्रिया दिएपछि अहिले नगर स्वास्थ्य कार्यालयमा कार्यरत कार्यालय सहयोगीलाई वडा कार्यालयमा पठाउने र नयाँ कर्मचारी बिकलाई नगर स्वास्थ्य कार्यालयमा राख्ने तयारी भइरहेको नगरपालिका स्रोतले बतायो ।
कर्मचारी नियुक्त गर्दा सार्वजनिक सूचना प्रकाशित गरि प्रतिश्पर्धाको आधारमा नियुक्त गरिन्छ । तर, सबै प्रक्रियालाई चुनौती दिँदै रातारात कर्मचारी नियुक्त गर्नुले कोहलपुर नगरपालिकाको सुशासनको अवस्था भ्रष्टाचारउन्मुख रहेको कुरा प्रष्ट भएको नेपाली काँग्रेस कोहलपुर नगर सचिव भुमबहादुर भण्डारी बताउँछन् ।
यता नगर प्रमुख रावतले तत्कालका लागि कर्मचारी आवश्यक देखिएकाले दैनिक ज्यालादारीमा एक जना कर्मचारी नियुक्त गरिएको बताए । उनले खाली रहेको दरबन्दीमा कर्मचारी नियुक्त गर्ने प्रक्रिया लामो हुने भएकाले उक्त प्रक्रियाबाट नयाँ कर्मचारी नआउँदासम्म स्थानीय एक महिलालाई दैनिक ज्यालादारीमा काम गराउन वडा कार्यालयलाई आग्रह गरिएको उल्लेख गरे ।
नगर प्रमुख रावतका अनुसार प्रमुख प्रशासकीय अधिकृत नआएकाले तत्काल रिक्त दरबन्दीका लागि प्रक्रिया अघि बढाउन नसकिएको भन्दै छिट्टै प्रक्रियागत रुपमै कर्मचारी भर्ना गरिने दाबी गरे । सूचना प्रकाशित नगरी कार्यकर्ता नियुक्त गरेर गलत काम नगर्न नगर प्रमुख र निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई आग्रह गरिएको कांग्रेस नगर सचिव भण्डारीले बताए ।
नगरपालिकालाई राजनीतिक कार्यकर्ताहरुको भर्ती केन्द्र नबनाउन र प्रक्रियाभन्दा बाहिर गएर अराजकता प्रदर्शन नगर्न सचिव भण्डारीले चुनौती दिएका छन् । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पौडेलले बिकलाई करारमा नभएर दैनिक ज्यालादारीमा नियुक्त गरेर उनलाई स्वास्थ्य केन्द्रमा जिम्मेवारी तोकिएको समेत स्वीकार गरेका छन् ।
सम्बन्धीत समाचारहरु :
।