बाँकेमा कार्यरत दुईजना ट्राफिक प्रहरी जवान निलम्बनमा परेका छन् । बुटवलस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले दुईजना ट्राफिक प्रहरीलाई निलम्बन गरेको हो ।
सेवाग्राहीसँग आचरण विपरीत आर्थिक लाभ लिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ट्राफिक प्रहरी जवानद्वय श्रीषराम थारु र तोपबहादुर खड्का निलम्बनमा परेका हुन् । उनीहरूलाई थप अनुसन्धान सुरु गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके मातहतको अस्थायी ट्राफिक प्रहरी पोष्ट धनौलीमा कार्यरत श्रीषराम र अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालगन्जमा कार्यरत तोपबहादुरले पोसाकमै ड्युटीमा खटिएको अवस्थामा सेवाग्राहीसँग रकम असुलिरहेको भिडियो सार्वजनीक भएको थियो ।
ट्राफिक प्रहरीको पोसाकमै रहेको अवस्थामा सेवाग्राहीसँग रकम असुलिरहेको भिडियो मङ्सिर १० गते फेसबुक लगायत विभिन्न सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडियो सार्वजनिक भएपछि कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ ।
घटनामा संलग्न दुवै जना प्रहरी कर्मचारीलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) बमोजिम मङ्सिर ११ गतेदेखि नै लागू हुने गरी निलम्बन गरिएको कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाले जानकारी दिए ।
