नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को यही मंसिर ६ र ७ गते भएको भारतको राजकीय भ्रमणलाई नेपाल–भारत सम्बन्धको नयाँ अध्यायका रूपमा लिन सकिन्छ । यो भ्रमण केवल दुई देशका प्रधानमन्त्रीबीचको औपचारिक भेटघाटमा सीमित रहेन, बरु आर्थिक विकास, व्यापार, पारवहन, ऊर्जा, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार र जनस्तरको सम्बन्धलाई नयाँ गति दिने प्रयासका रूपमा देखा परेको छ । नेपाल र भारतबीचको सम्बन्ध सामान्य दुई छिमेकी मुलुकबीचको सम्बन्ध मात्र होइन ।
यो भूगोल, इतिहास, संस्कृति, धर्म, भाषा, परम्परा, पारिवारिक सम्बन्ध र आर्थिक अन्तरनिर्भरताले जोडिएको विशेष सम्बन्ध हो । खुला सीमाका कारण दुवै देशका नागरिक एकअर्काको भूमिमा सहज रूपमा आवतजावत गर्छन् । नेपालीहरू रोजगारी, शिक्षा, उपचार र व्यापारका लागि भारत पुग्छन् भने भारतीय नागरिकहरू पर्यटन, व्यापार, तीर्थाटन र विभिन्न व्यवसायका लागि नेपाल आउँछन् । यस्तो गहिरो सम्बन्ध भएको अवस्थामा प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई राजनीतिक चस्माले मात्र हेर्नु उचित हुँदैन । यसलाई दुवै देशका आम नागरिकको जीवनस्तरमा कस्तो परिवर्तन ल्याउन सक्छ भन्ने दृष्टिकोणबाट मूल्याङ्कन गर्नुपर्छ ।
भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटवार्ता, राष्ट्रपति द्रौपदी मुर्मूसँगको शिष्टाचार भेट, विभिन्न समझदारीपत्रमा हस्ताक्षर तथा विकास आयोजनासम्बन्धी सहमतिले भविष्यमा सकारात्मक परिणाम दिने अपेक्षा जगाएका छन् । तर कूटनीतिक भ्रमणको वास्तविक सफलता घोषणापत्र र तस्बिरमा होइन, त्यसबाट नागरिकले पाउने प्रत्यक्ष लाभमा मापन हुनुपर्छ । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको पहिलो सकारात्मक पक्ष दुई देशबीच उच्चस्तरीय राजनीतिक संवाद र विश्वासको वातावरणलाई निरन्तरता दिनु हो । नेपालमा सरकार परिवर्तन हुँदा भारतसँगको सम्बन्ध कस्तो रहने भन्ने विषयले प्राय: चर्चा पाउने गरेको छ ।
कहिले सीमा विवाद, कहिले व्यापार तथा पारवहन, कहिले जलस्रोत र कहिले राजनीतिक धारणाका कारण दुई देशबीच असमझदारी देखिने गरेको छ । यस्तो परिस्थितिमा नयाँ प्रधानमन्त्रीले भारतसँग संवादको ढोका खुला राख्नु परिपक्व कूटनीतिक कदम हो । छिमेकी परिवर्तन गर्न सकिँदैन, तर सम्बन्धलाई अझ विश्वासिलो, सम्मानजनक र परिणाममुखी बनाउन सकिन्छ । नेपालले आफ्नो राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र स्वतन्त्र निर्णय गर्ने अधिकारलाई कायम राख्दै भारतसँग सहकार्य गर्नुपर्छ । त्यस्तै भारतले पनि नेपाललाई एउटा सानो छिमेकीका रूपमा होइन, समान सार्वभौमिकता भएको मित्रराष्ट्रका रूपमा सम्मान गर्नुपर्छ । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको चर्चित उपलब्धिमध्ये भारतले नेपाललाई घोषणा गरेको २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहयोग महत्वपूर्ण छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई भारतीय रुपैयाँ १५ हजार करोड अर्थात् नेपाली रुपैयाँ २४ हजार करोड बराबरको विकास सहकार्य उपलब्ध गराउने घोषणा गरेका छन् । यसमध्ये नेपाली रुपैयाँ ५ हजार ६ सय करोड विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार निर्माणका लागि अनुदान र १८ हजार ४ सय करोड ऊर्जा क्षेत्रका आयोजनाका लागि ऋण सुविधा हो । तर एउटा कुरा स्पष्ट हुनुपर्छ । २४ हजार करोड रुपैयाँ सबै अनुदान होइन । यसको ठूलो हिस्सा ऋण हो । त्यसैले सरकारले ऋणको ब्याजदर, भुक्तानी अवधि, परियोजनाको आर्थिक प्रतिफल र नेपालको दीर्घकालीन ऋणभारलाई ध्यानमा राखेर सम्झौता गर्नुपर्छ ।
नेपाल भूपरिवेष्टित मुलुक भएकाले अन्तर्राष्ट्रिय व्यापारका लागि छिमेकी देशको पारवहन सुविधामा निर्भर रहनुपर्छ । नेपालको आयात–निर्यातमा भारतीय मार्ग र बन्दरगाहको महत्वपूर्ण भूमिका छ । यस भ्रमणका क्रममा भारतले गुजरातस्थित काण्डला बन्दरगाह हुँदै नेपालको तेस्रो मुलुकसँगको व्यापारका लागि नयाँ पारवहन सुविधा उपलब्ध गराउने सहमति गरेको छ । आवश्यक पूर्वाधार तयार भएपछि ओडिसास्थित पारादीप बन्दरगाहको पहुँचसमेत उपलब्ध गराउने सहमति भएको छ । यो नेपालको व्यापारिक भविष्यका लागि महत्वपूर्ण विषय हो । अहिलेसम्म सीमित पारवहन विकल्पमा निर्भर रहँदा अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तु पुर्याउन समय र खर्च दुवै बढ्ने समस्या छ ।
थप बन्दरगाहको पहुँचले ढुवानीको विकल्प बढाउन, प्रतिस्पर्धा सिर्जना गर्न र व्यापार लागत घटाउन सहयोग गर्न सक्छ । यसको प्रत्यक्ष लाभ नेपाली उद्योगी, व्यवसायी, किसान, निर्यातकर्ता र उपभोक्ताले पाउन सक्छन् । विशेषगरी नेपालको कृषि उत्पादन, जडीबुटी, चिया, अलैँची, हस्तकला तथा अन्य निर्यातयोग्य वस्तुलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सहज वातावरण बनाउन सकिन्छ । नेपालको पर्यटन विकासका लागि हवाई सम्पर्क अत्यन्त महत्वपूर्ण छ । भ्रमणका क्रममा काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्ने सहमति भएको छ । यसअघि उक्त मार्ग एकतर्फी सञ्चालनको व्यवस्थामा थियो । अब प्राविधिक परामर्शपछि भारतबाट यही मार्ग हुँदै नेपाल प्रवेश गर्ने सुविधा विस्तार गर्ने प्रक्रिया अघि बढ्नेछ ।
यसबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उपयोगिता बढाउने सम्भावना छ । भैरहवा विमानस्थल प्रभावकारी रूपमा सञ्चालनमा आउँदा लुम्बिनी भ्रमण गर्न आउने भारतीय तथा तेस्रो मुलुकका पर्यटकलाई सुविधा पुग्न सक्छ । यसले होटल, यातायात, पर्यटन व्यवसाय, स्थानीय व्यापार र रोजगारीमा सकारात्मक प्रभाव पार्न सक्छ । नेपाल र भारतबीचको सम्बन्धको सबैभन्दा बलियो पक्ष धार्मिक तथा सांस्कृतिक निकटता हो । नेपालको जनकपुरधाम माता जानकीको जन्मभूमि र भारतको अयोध्या भगवान् श्रीरामको जन्मभूमिका रूपमा विश्वभर परिचित छन् । यी दुई धार्मिक तथा सांस्कृतिक सहरलाई जोड्ने सरयू–कमला एक्सप्रेस रेल सेवाको शुभारम्भ भ्रमणको महत्वपूर्ण उपलब्धि हो ।
यसले रामायण सर्किटअन्तर्गत धार्मिक पर्यटनलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । यसको सकारात्मक प्रभाव केवल तीर्थयात्रीको आवागमनमा सीमित रहने छैन । जनकपुरका होटल व्यवसायी, यातायात व्यवसायी, स्थानीय पसल, हस्तकला व्यवसायी तथा साना उद्यमीले आर्थिक लाभ लिन सक्छन् । अयोध्याबाट जनकपुर आउने भारतीय पर्यटकको संख्या बढ्दा मधेश प्रदेशको पर्यटन अर्थतन्त्रलाई समेत टेवा पुग्न सक्छ । बालेन शाहको भारत भ्रमणको चर्चा गर्दा मधेश प्रदेशको सम्भावनालाई विशेष रूपमा उल्लेख गर्न आवश्यक छ । नेपाल–भारत खुला सीमासँग प्रत्यक्ष जोडिएको मधेशका आठ जिल्लाका नागरिकको दैनिक जीवन भारतीय बजार, व्यापार, शिक्षा, स्वास्थ्य, रोजगारी र पारिवारिक सम्बन्धसँग जोडिएको छ ।
रौतहट, बारा, पर्सा, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीका नागरिकका लागि भारतसँगको सहज आवागमन कुनै कूटनीतिक नाराभन्दा पनि दैनिक जीवनको आवश्यकता हो । विशेषगरी रौतहटको गौर, राजपुर, ईशनाथ, परोहा, बौधिमाई, कटहरिया, गढीमाईलगायत सीमावर्ती क्षेत्रका नागरिकले भारतको बिहार राज्यका बजारसँग व्यापारिक सम्बन्ध राख्दै आएका छन् । भारतको बैरगनिया, सीतामढी, मोतिहारी, रक्सौल, मुजफ्फरपुर र पटना जस्ता सहरसँग मधेशका नागरिकको आर्थिक तथा सामाजिक सम्बन्ध छ । त्यसैले दुई देशबीचको सम्बन्ध सुधार हुँदा यसको प्रत्यक्ष लाभ सीमावर्ती नागरिकले पाउनुपर्छ । सीमामा अनावश्यक झन्झट कम हुनुपर्छ ।
व्यापारिक सामानको ओसारपसार व्यवस्थित र पारदर्शी हुनुपर्छ । साना व्यापारी, किसान र सर्वसाधारणलाई सहज आवागमनको वातावरण बनाउनुपर्छ । नेपाल जलस्रोतमा धनी देश हो । यहाँ उत्पादन हुने जलविद्युत् नेपालका लागि आर्थिक समृद्धिको महत्वपूर्ण आधार बन्न सक्छ । भारतसँगको ऊर्जा सहकार्यले नेपालको जलविद्युत् उत्पादन, प्रसारण र निर्यातको सम्भावनालाई विस्तार गर्न सक्छ । भ्रमणका क्रममा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । त्यस्तै पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, सप्तकोशी र सुनकोशी आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अघि बढाउने सहमति भएको छ । यसबाट नेपालले जलविद्युत् उत्पादन बढाउन, भारतीय बजारमा विद्युत् निर्यात गर्न र विदेशी मुद्रा आर्जन गर्न सक्छ । तर जलविद्युत् आयोजनामा लगानी गर्दा नेपालको हितलाई केन्द्रमा राख्नुपर्छ ।
पानीको उपयोग, विद्युत् उत्पादन, मूल्य निर्धारण, वातावरणीय प्रभाव, स्थानीय बासिन्दाको पुनर्वास र लाभको बाँडफाँटमा पारदर्शिता हुनुपर्छ । भ्रमणका क्रममा भएका शिक्षा, स्वास्थ्य, अनुसन्धान, सुरक्षा र प्रशासनिक क्षमता अभिवृद्धिसम्बन्धी समझदारी पनि महत्वपूर्ण छन् । नेपालमा भारतीय प्रविधि संस्थान (आई आई टी) को अफसोर क्याम्पस स्थापना गर्ने सहमति भविष्यका विद्यार्थीका लागि महत्वपूर्ण अवसर हुन सक्छ । त्यस्तै नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग र भारतको राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालयबीच अनुसन्धान तथा शैक्षिक सहकार्य गर्ने समझदारी भएको छ । स्वास्थ्य सेवा, औषधि, स्याटेलाइट सञ्चार, दिगो सहरी विकास, पशुपालन तथा मत्स्य विकासमा सहकार्यका समझदारी भएका छन् ।
यी विषय सामान्य प्राविधिक सम्झौता जस्ता लाग्न सक्छन्, तर कार्यान्वयन भएमा आम नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पार्न सक्छन् । उदाहरणका लागि फरेन्सिक विज्ञानमा सहकार्यले अपराध अनुसन्धानलाई वैज्ञानिक र विश्वसनीय बनाउन मद्दत गर्न सक्छ । स्वास्थ्य क्षेत्रमा सहकार्यले उपचार पद्धति, औषधि तथा चिकित्सकीय ज्ञानको आदानप्रदानलाई सहज बनाउन सक्छ । नेपालको ठूलो जनसंख्या कृषिमा निर्भर छ । विशेषगरी मधेश प्रदेशको अर्थतन्त्र कृषि, पशुपालन, दुग्ध व्यवसाय, माछापालन र साना उद्योगमा आधारित छ । नेपाल र भारतबीच पशुपालन तथा मत्स्य विकासमा सहकार्य गर्ने समझदारी भएको छ । त्यस्तै चितवनमा भारतको अनुदान सहयोगमा कृषि औद्योगिक पार्क स्थापना गर्ने घोषणा भएको छ ।
यसलाई मधेशको कृषि विकाससँग पनि जोड्न सकिन्छ । नेपालका किसानले मल, बीउ, आधुनिक प्रविधि, सिँचाइ, बजार व्यवस्थापन र कृषि उत्पादनको उचित मूल्य नपाउने समस्या भोगिरहेका छन् । भारतसँगको सहकार्यबाट कृषि अनुसन्धान, उन्नत बीउ, पशु स्वास्थ्य सेवा, माछापालन प्रविधि र कृषि प्रशोधन उद्योगमा सहयोग लिन सकिन्छ । रौतहट, बारा, पर्सा र सर्लाहीमा कृषि प्रशोधन उद्योग स्थापना गर्न सकिएमा स्थानीय किसानले आफ्नो उत्पादनको राम्रो मूल्य पाउन सक्छन् । धान, गहुँ, मकै, उखु, तरकारी, फलफूल, दूध र माछाको उत्पादनलाई उद्योगसँग जोड्नुपर्छ । कुनै पनि प्रधानमन्त्रीको विदेश भ्रमणको मूल्याङ्कन गर्दा आम नागरिकको जीवनमा के परिवर्तन आउँछ भन्ने विषय सबैभन्दा महत्वपूर्ण हुन्छ ।
बालेन शाहको भ्रमणका सहमतिहरू कार्यान्वयन भएमा रोजगारी सिर्जना, व्यापार विस्तार, शिक्षा तथा स्वास्थ्य सेवामा सुधार, पर्यटन प्रवद्र्धन, ऊर्जा निर्यात र पूर्वाधार विकासमा सकारात्मक प्रभाव पर्न सक्छ । भारतका आम नागरिकले पनि यसबाट लाभ लिन सक्छन् । नेपालको पर्यटन, जलविद्युत्, कृषि, व्यापार र पूर्वाधारमा भारतीय लगानीको सम्भावना बढ्न सक्छ । भारतीय पर्यटकलाई नेपाल भ्रमण सहज हुन सक्छ । भारतीय उद्योगले नेपाली बजार तथा उत्पादनसँग जोडिने अवसर पाउन सक्छन् । तर कुनै पनि भ्रमणको मूल्याङ्कन केवल प्राप्त उपलब्धिका आधारमा मात्र हुँदैन । कुन विषय उठाइयो, कुन विषय छुट्यो र कुन विषय भविष्यका लागि बाँकी रह्यो भन्ने पक्ष पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
बालेन शाहको भारत भ्रमणले धेरै नयाँ सम्भावना खोले पनि केही पुराना र संवेदनशील विषयमा ठोस राजनीतिक समाधानको घोषणा हुन सकेन । नेपाल र भारतबीच लामो समयदेखि कायम रहेको कालापानी, लिपुलेक र लिम्पियाधुरा सीमा विवाद अझै समाधान हुन सकेको छैन । यो विषय नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतासँग जोडिएको संवेदनशील विषय हो । नेपाल र भारतका विज्ञ सम्मिलित प्रबुद्ध व्यक्ति समूहले दुई देशबीचको सम्बन्धलाई समयानुकूल बनाउन सुझावसहित प्रतिवेदन तयार गरेको थियो । तर उक्त प्रतिवेदनको कार्यान्वयन अझै अनिश्चित छ । दुवै देशका सरकारले प्रतिवेदनको अध्ययन गरी आवश्यक निर्णय लिनुपर्छ ।
नेपाल र भारतबीच व्यापारिक सम्बन्ध विस्तार हुँदै गए पनि नेपालले भारतसँग ठूलो व्यापार घाटा व्यहोर्दै आएको छ । नेपाली वस्तुलाई भारतीय बजारमा पुर्याउँदा विभिन्न प्रक्रियागत, गुणस्तर परीक्षण र गैरभन्सार अवरोधका समस्या देखिने गरेका छन् । यसले नेपाली उद्योगी तथा निर्यातकर्तालाई निरुत्साहित गर्ने गरेको छ । नेपालले भारतसँग नेपाली उत्पादनलाई भारतीय बजारमा सहज पहुँच दिलाउने विषयलाई प्राथमिकतामा राख्नुपर्छ । विशेषगरी कृषि उत्पादन, जडीबुटी, हस्तकला, जलविद्युत् र साना उद्योगका वस्तु निर्यातमा सहज व्यवस्था आवश्यक छ ।
नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धमा गोर्खा सैनिकको योगदान विशेष छ । तर पछिल्लो समय गोर्खा सैनिक भर्तीसम्बन्धी विषयमा स्पष्टता र सहमतिको आवश्यकता कायम छ । नेपाली युवाको रोजगारी, सेवा सर्त, सामाजिक सुरक्षा र भविष्यसँग जोडिएको यो विषयलाई दुवै देशले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्छ । नेपाल–भारत सम्बन्धको अर्को संवेदनशील पक्ष खुला सीमा हो । सीमामा हुने अनधिकृत गतिविधि नियन्त्रण गर्नु दुवै देशको जिम्मेवारी हो । तर त्यसको नाममा सर्वसाधारण, किसान, बिरामी, विद्यार्थी र साना व्यापारीले अनावश्यक दु:ख पाउनु हुँदैन । सीमावर्ती क्षेत्रमा वर्षायाममा डुबान, नदी कटान, बाँध तथा तटबन्ध व्यवस्थापन, चोरी–तस्करी, मानव बेचबिखन र आवागमनसम्बन्धी समस्या देखिने गरेका छन् ।
विशेषगरी रौतहट लगायत मधेशका सीमावर्ती जिल्लामा वर्षेनी डुबान र बाढीको समस्या गम्भीर बन्ने गरेको छ । नेपाल र भारतबीच सीमा क्षेत्रमा निर्माण भएका संरचना, नदीको बहाव, तटबन्ध तथा जलनिकाससम्बन्धी विषयमा संयुक्त प्राविधिक संयन्त्र सक्रिय हुनुपर्छ । सीमाको दुवैतर्फ बस्ने नागरिकको जीवन सुरक्षित बनाउनु सरकारहरूको पहिलो दायित्व हो । नेपालको भौगोलिक अवस्था र अन्तर्राष्ट्रिय सम्बन्धलाई हेर्दा भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ । त्यस्तै चीन, अमेरिका र अन्य मित्रराष्ट्रसँगको सम्बन्ध पनि नेपालको विकास र समृद्धिका लागि आवश्यक छ । नेपालले कुनै पनि देशको पक्ष वा विपक्षमा उभिनेभन्दा आफ्नो राष्ट्रिय हितलाई केन्द्रमा राखेर स्वतन्त्र परराष्ट्र नीति सञ्चालन गर्नुपर्छ ।
भारत नेपालको नजिकको छिमेकी र प्रमुख व्यापारिक साझेदार हो । त्यसैले भारतसँगको सम्बन्ध बिगारेर नेपालले फाइदा लिन सक्दैन । त्यस्तै मित्रताको नाममा राष्ट्रिय हित, सार्वभौमिकता र स्वाभिमानका विषयमा सम्झौता गर्नु पनि उचित हुँदैन । बालेन सरकारले भारतसँग आर्थिक सहकार्य बढाउँदै चीनलगायत अन्य देशसँग पनि सन्तुलित सम्बन्ध कायम गर्न सक्नुपर्छ । नेपालको विदेश नीति भावनामा होइन, राष्ट्रिय आवश्यकता, आर्थिक सम्भावना र दीर्घकालीन रणनीतिमा आधारित हुनुपर्छ । बालेन शाहको भारत भ्रमणका क्रममा भएका सहमति र समझदारीलाई सकारात्मक मान्न सकिन्छ । तर नेपाल–भारत सम्बन्धको इतिहास हेर्दा धेरै आयोजना र प्रतिबद्धता वर्षौंदेखि कार्यान्वयनको प्रतीक्षामा रहेका छन् ।
कहिले बजेटको अभाव, कहिले जग्गा अधिग्रहण, कहिले प्राविधिक विवाद, कहिले प्रशासनिक ढिलाइ र कहिले राजनीतिक असमझदारीका कारण आयोजना अलपत्र पर्ने गरेका छन् । त्यसैले यसपटक सरकारले विशेष सावधानी अपनाउनुपर्छ । भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनका लागि स्पष्ट समयसीमा, जिम्मेवार निकाय, बजेट र नियमित अनुगमनको व्यवस्था गर्नुपर्छ । दुई देशबीच भएका सहमति कार्यान्वयनको प्रगति सार्वजनिक गर्नुपर्छ । दुई देशका नागरिकबीच सद्भाव, विश्वास र आत्मीयता बढाउन सांस्कृतिक कार्यक्रम, विद्यार्थी आदानप्रदान, खेलकुद प्रतियोगिता, व्यापारिक सम्मेलन र पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्नुपर्छ । यसले धार्मिक पर्यटनसँगै आर्थिक तथा सांस्कृतिक सम्बन्धलाई पनि बलियो बनाउनेछ ।
विशेषगरी युवापुस्तालाई रोजगारी र उद्यमशीलतासँग जोड्ने कार्यक्रम सञ्चालन गर्नुपर्छ । नेपालका युवाले आफ्नै देशमा रोजगारी पाउने वातावरण निर्माण गर्नु सरकारको प्राथमिकता हुनुपर्छ । भारतसँगको सहकार्यले नेपालमा उद्योग स्थापना, कृषि प्रशोधन, सूचना प्रविधि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानी बढाउन सकेमा विदेश पलायनको समस्या कम गर्न पनि सहयोग पुग्न सक्छ । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई समग्रमा सकारात्मक, सम्भावनायुक्त र भविष्यका लागि महत्वपूर्ण कूटनीतिक प्रयासका रूपमा लिन सकिन्छ । विकास सहयोग, बन्दरगाहको पहुँच, हवाई मार्ग, जनकपुर–अयोध्या रेल सेवा, ऊर्जा विकास, पेट्रोलियम पाइपलाइन, कृषि, शिक्षा, स्वास्थ्य, प्रहरी तालिम र प्रशासनिक सहकार्यका विषयले दुई देशबीचको सम्बन्धलाई नयाँ आयाम दिन सक्ने आधार तयार गरेका छन् ।
भारतले नेपाललाई असल छिमेकी र समान सार्वभौमिकता भएको मित्रराष्ट्रका रूपमा व्यवहार गर्नुपर्छ । नेपालले पनि आफ्नो राष्ट्रिय हितलाई स्पष्ट राख्दै भारतसँगको सम्बन्धलाई आर्थिक विकास, व्यापार र जनताको समृद्धिसँग जोड्नुपर्छ । हामीले बुझ्नुपर्ने कुरा के हो भने नेपाल र भारतको सम्बन्ध कुनै एउटा प्रधानमन्त्री, एउटा राजनीतिक दल वा एउटा सरकारको मात्र विषय होइन । यो दुई देशका करोडौँ नागरिकको भविष्यसँग जोडिएको विषय हो । त्यसैले बालेन शाहको भारत भ्रमणलाई न त अन्धसमर्थनको दृष्टिले हेर्नुपर्छ, न त राजनीतिक पूर्वाग्रहका आधारमा नकारात्मक टिप्पणी गर्नुपर्छ । प्राप्त उपलब्धिको स्वागत गर्दै छुटेका विषयमा सरकारलाई जिम्मेवार बनाउनु नै सचेत नागरिकको दायित्व हो ।
नेपाललाई भारतसँग मित्रता चाहिएको छ, तर त्यो मित्रता समानता र सम्मानमा आधारित हुनुपर्छ । भारतलाई पनि नेपालसँगको सम्बन्ध चाहिएको छ भने नेपालको स्वाभिमान र राष्ट्रिय हितको सम्मान गर्न सक्नुपर्छ । दुवै देशको सम्बन्धमा विश्वास बढोस्, सीमावर्ती नागरिकको जीवन सहज बनोस्, व्यापार फस्टाओस्, युवाले रोजगारी पाऊन्, किसानले उत्पादनको उचित मूल्य पाऊन् र दुवै देशका जनताको जीवनस्तर माथि उठोस् । अन्तत: बालेन शाहको भारत भ्रमणको सफलता भ्रमणका क्रममा भएका सम्झौता र घोषणाको संख्याले होइन, ती सम्झौताबाट नेपाली र भारतीय नागरिकले पाएको वास्तविक लाभले निर्धारण गर्नेछ । नारा होइन, परिणाम चाहिएको छ । आश्वासन होइन, कार्यान्वयन चाहिएको छ । राजनीतिक स्वार्थ होइन, दुवै देशका जनताको समृद्धि चाहिएको छ । यही नै नयाँ नेपाल–भारत सम्बन्धको वास्तविक लक्ष्य र आजको आवश्यकता हो ।
