राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कर्णालीबाट पार्टीले मत पाए पनि नपाए पनि प्रदेशको विकासलाई सरकारले विशेष प्राथमिकतामा राख्ने बताएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको पार्टीको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै उनले चुनावी मतका आधारमा विकासको प्राथमिकता निर्धारण नहुने स्पष्ट पारे ।
कर्णालीबाट मत नपाएकै कारण विकासमा विभेद नगरिने उनको भनाइ थियो । ‘हाम्रा मान्छे जिताइदेऊ अनि हामी विकास गर्छौं भनेर सौदाबाजी गर्न आएका होइनौँ । रास्वपा सरकारमा रहुन्जेल कर्णालीबाट हामीलाई भोट नआए पनि यस प्रदेशलाई प्राथमिकतामा राख्न छोड्दैनौँ,’ उनले भने ।
लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी पुराना राजनीतिक दल र तिनको कार्यशैलीविरुद्धको विद्रोहका रूपमा स्थापना भएको बताए । उक्त विद्रोहलाई पार्टीले ‘निलो क्रान्ति’का रूपमा अघि बढाएको उनको भनाइ थियो । कर्णालीले विगतमा विद्रोहका कारण धेरै क्षति बेहोर्नुपरेको उल्लेख गर्दै उनले रास्वपाले हिंसात्मक नभई राजनीतिक माध्यमबाट परिवर्तनको अभियान सञ्चालन गरेको बताए ।
चार वर्षको अवधिमा पार्टी बहुमतको सरकार बनाउन सफल भएको उनले उल्लेख गरे । पार्टीका शुभेच्छुक, नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिने औपचारिक कार्यक्रम कर्णालीबाट सुरु गरिएको पनि लामिछानेले जानकारी दिए । प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन उनी शुक्रबार सुर्खेत पुगेका थिए ।
