२०८३ मंसिर १२ , शनिबार 28, November 2026, Saturday

बाँकेमा थपिए नयाँ कुष्ठरोगी

बाँके जिल्लामा गत एक वर्षको अवधिमा करिब तीन हजार कुष्ठरोगीको उपचार गरिएको छ । जिल्लाको जानकी गाउँपालिका–३ स्थित कुष्ठरोगको उपचारका लागि सञ्चालनमा आएको साइनिङ अस्पतालले एक वर्षमा करिब तीन हजार कुष्ठरोगीको उपचार गरेको जानकारी दिएको छ ।

साइनिङ अस्पतालका प्रमुख मङ्गलबहादुर थारूका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा अस्पतालले दुई हजार ९७४ जना कुष्ठरोगका बिरामीको उपचार गरेको छ । उहाँले सो अवधिमा १४८ जना कुष्ठरोगीलाई अस्पतालमा भर्ना गरेर उपचार गरिएको तथा अन्यलाई ओपिडी सेवामार्फत उपचार गरिएको बताए ।

२५ शैय्याको सो अस्पतालमा शनिबारबाहेक दैनिक ओपिडी सेवा सञ्चालन हुँदै आएको छ । अस्पतालले छाला सम्बन्धी रोगको परीक्षण तथा उपचारसँगै कुष्ठरोगका कारण उत्पन्न हुने जटिलताको पहिचान, उपचार र व्यवस्थापन गर्दै आएको जनाइएको छ । अस्पताल प्रमुख थारूले भने, ‘हाम्रो प्रयास कुष्ठरोग निवारण गर्नु हो । अस्पतालमा ओपिडी सेवासँगै बिरामी भर्ना गरेर पनि उपचार सेवा प्रदान गर्दै आएका छौँ ।’

विभिन्न स्वास्थ्य शिविर तथा खोजपड्ताल कार्यक्रमका क्रममा गत वर्ष १९३ जना नयाँ कुष्ठरोगी पहिचान भएको जानकारी पनि उनले दिए । नयाँ पहिचान भएकामध्ये सबैभन्दा धेरै ८१ जना बाँकेका बिरामी रहेका छन् । समुदायकेन्द्रित खोजपड्ताल कार्यक्रम सञ्चालन गर्दा नयाँ कुष्ठरोगी पहिचान हुने दर बढेको प्रमुख थारूले बताए ।

उनका अनुसार कुष्ठरोगको जोखिमका दृष्टिले बाँकेका सबै स्थानीय तह संवेदनशील अवस्थामा छन् । सरकारले सन् २०१० मा नेपाललाई कुष्ठरोग जनस्वास्थ्य समस्याका रूपमा नरहेको घोषणा गरेको थियो । तरत्यसको १६ वर्ष बितिसक्दा पनि कुष्ठरोगी पहिचान हुने क्रम रोकिएको छैन । बाँकेमा अझै पनि उल्लेख्य सङ्ख्यामा नयाँ कुष्ठरोगी पहिचान हुनु चिन्ताजनक रहेको भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.नवीन दर्नालले बताए ।

प्रकाशित मिति : २०८३ मंसिर १२ गते शनिबार