२०८३ मंसिर १२ , शनिबार 28, November 2026, Saturday

मानवसेवा आश्रममा आश्रित ९४ जनाको नि:शुल्क उपचार

चिसो बढ्दै जाँदा मानवसेवा आश्रममा रहेका बृद्धबृद्धा तथा बालबालिकाको स्वास्थ्य अवस्था बुझ्न तथा उनीहरुको उपचारका लागि नेपालगन्जस्थित मानव सेवा आश्रममा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

वेष्टर्न अस्पताल नेपालगन्जले मानवसेवा आश्रममा विहीबार आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरमा त्यहाँ रहेका ९४ जना बृद्धबृद्धा तथा बालबालिकाको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको मानवसेवा आश्रमले जनाएको छ ।

मानवसेवा आश्रमकी स्मृति त्रिपाठीले शिविरबाट आश्रममा रहेका व्यक्तिहरूको स्वास्थ्य अवस्था पत्ता लागेको र त्यहाँ रहेकाले ठुलो लाभ लिएको बताए । अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत शिविर सञ्चालन गरेको जनाएको छ ।

वेस्टर्न अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा.रोशन सापकोटाले शिविरमा आश्रममा आश्रित ९४ जनाको स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको जनाउँदै स्वास्थ्य परीक्षणका क्रममा आश्रममा रहेका अधिकांश व्यक्तिमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको बताए ।

उनले मानसिक स्वास्थ्य समस्याका अतिरिक्त उनीहरूमा दम, झाडापखाला, जोर्नी दुख्ने लगायतका समस्या पाइएको जानकारी दिए । शिविरमा डा.सापकोटासँगै मेडिकल अधिकृत डा.सुशान्त कार्की, केयर गिभर गौमति गुरुङ, ज्ञानु शाही, ताज बानु बागवान, ममता गोडिया, अर्चना थारु र लक्ष्मी थारु, अस्पतालका मार्केटिङ म्यानेजर नितिज श्रेष्ठ र मार्केटिङ अफिसर आशिष श्रेष्ठको सहभागिता थियो ।

प्रकाशित मिति : २०८३ मंसिर १२ गते शनिबार