२०८३ मंसिर १२ , शनिबार 28, November 2026, Saturday

हिमाली भूभागका एक-दुई स्थानमा वर्षा र हिमपातको सम्भावना

हाल देशभर कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा हुस्सु र तुवाँलो लागेको छ । बाँकी भूभागको मौसम मुख्यतया सफा छ ।

शनिबार दिउँसो देशका हिमाली क्षेत्रमा आंशिक बदली रहने र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

यसैगरी, शनिबार राति कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । आइतबार बिहान उपत्यका तथा खोँचहरूका साथै तराईका थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८३ मंसिर १२ गते शनिबार