विराटनगर महानगरपालिका–४ इक्राहीस्थित उखुबारीमा शुक्रबार दिउँसो अन्दाजी २५–२६ वर्षीय युवकको शव शङ्कास्पद अवस्थामा फेला परेको छ । मृतकको पहिचान खुल्न सकेको छैन । उखुबारीभित्र घोप्टो परेको अवस्थामा शव भेटिएको हो ।
प्रहरीका अनुसार मृतकको शरीरमा कपडा यथावत् छन् भने दाहिने कानमा चोट लागेर सामान्य रगत बगेको देखिएको छ । घटनाको जानकारी पाएलगत्तै मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल प्रहरी टोलीसहित घटनास्थल पुगेका थिए ।
उनले युवकको शव शङ्कास्पद अवस्थामा भेटिएको पुष्टि गरेका छन् । युवकको मृत्यु वन्यजन्तुको आक्रमणबाट भएको हो वा हत्या गरेर शव उखुबारीमा फालिएको हो भन्ने खुल्न सकेको छैन । घटनास्थलको प्रारम्भिक अवस्था हेर्दा हत्या गरेर शव फालिएको हुनसक्ने प्रहरीको आशङ्का छ ।
प्रहरीले घटनास्थलको मुचुल्का उठाउनुका साथै आवश्यक प्रमाण सङ्कलन गरी अनुसन्धान अघि बढाएको छ । शव पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको र पोस्टमार्टम रिपोर्ट तथा अनुसन्धानपछि मात्रै मृत्युको वास्तविक कारण खुल्ने एसपी कटवालले जानकारी दिए ।
