२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

ट्रम्प-राजनीति, इरान युद्ध र एआईको जोखिम : २०२७ का सम्भावित १० प्रमुख परिदृश्य

डोनाल्ड ट्रम्पपछिको युग, इरान युद्धको असर, कृत्रिम बुद्धिमत्ता (एआई) विरुद्ध बढ्दो विरोध र चुलिँदो वित्तीय जोखिमले सन् २०२७ को विश्व परिदृश्यलाई प्रभावित पार्ने द इकोनोमिस्टको वार्षिक पूर्वानुमानले देखाएको छ ।

पत्रिकाले आफ्नो वार्षिक प्रकाशन ’द वल्र्ड अहेड २०२७’ सार्वजनिक गर्दै आगामी वर्ष विश्व राजनीति, अर्थतन्त्र, प्रविधि र समाजमा दूरगामी प्रभाव पार्न सक्ने १० प्रमुख विषय पहिचान गरेको छ । यसले राजनीतिक तथा वित्तीय क्षेत्रमा थप उतारचढाव, कृत्रिम बुद्धिमत्तासम्बन्धी बढ्दो चिन्ता र विश्वव्यापी खाद्य तथा ऊर्जा सुरक्षामा थप दबाब पर्ने प्रक्षेपण गरेको छ ।

द वल्र्ड अहेडका सम्पादक टम स्ट्यान्डेजले ट्रम्पपछिको युग सुरु हुन थाले पनि अमेरिकी राष्ट्रपति सजिलै राजनीतिक प्रभावबाट बाहिरिने अवस्थामा नरहेको बताएका छन् । ‘उनी प्रभावहीन राष्ट्रपति होइनन्, बरु विनाशकारी एंग्री बर्डजस्ता हुनेछन्,’ स्ट्यान्डेजले भने । अमेरिकी कंग्रेसका दुवै सदनमा डेमोक्र्याटहरूको नियन्त्रण कायम हुने अवस्थामा ट्रम्प अझ आक्रामक र अप्रत्याशित बन्न सक्ने उनको विश्लेषण छ ।

‘आफ्नो प्रभाव कायम राख्न र राजनीतिक विरासत निर्माण गर्न उनले थप कार्यकारी आदेश जारी गर्ने, कानुनी विवाद निम्त्याउने, भौगोलिक स्थानहरूको नाम अचानक परिवर्तन गर्ने, भव्य निर्माण परियोजना अघि बढाउने र सैन्य दुस्साहस गर्ने अपेक्षा गर्न सकिन्छ,’ उनले भने । स्ट्यान्डेजका अनुसार इरान युद्धका असरले अन्तर्राष्ट्रिय सम्बन्धलाई निरन्तर प्रभावित पार्नेछन् ।

यसैबीच, मलको अभाव र शक्तिशाली ‘एलनिनो’ मौसमी प्रभावका कारण लाखौं मानिसको खाद्य सुरक्षामा जोखिम उत्पन्न हुन सक्छ । कृत्रिम बुद्धिमत्ताको क्षमता विस्तार हुँदै जाँदा त्यससँग सम्बन्धित राजनीतिक, वित्तीय र साइबर सुरक्षाका जोखिम पनि थप स्पष्ट हुँदै जाने उनले चेतावनी दिएका छन् ।

युरोपमा भने फ्रान्सको आगामी राष्ट्रपति निर्वाचनमा मरिन ले पेन विजयी भए युरोपेली संघ (ईयू) को राजनीतिमा ठूलो हलचल आउन सक्छ । फ्रान्सको कमजोर वित्तीय अवस्थालाई लिएर पहिले नै चिन्तित रहेका वित्तीय बजारसमेत थप प्रभावित हुन सक्ने स्ट्यान्डेजले बताएका छन् ।

द वल्र्ड अहेडले पहिचान गरेका १० प्रमुख विषय

१. ट्रम्पपछिको युग ट्रम्पको उत्तराधिकारी चयन गर्ने राजनीतिक प्रतिस्पर्धा सुरु हुँदै गर्दा अमेरिकी राष्ट्रपति प्रभावहीन बन्नेभन्दा पनि अप्रत्याशित राजनीतिक शक्तिका रूपमा प्रस्तुत हुने अपेक्षा गरिएको छ । आफ्नो प्रभाव कायम राख्ने र राजनीतिक विरासत बनाउने उनको प्रयासले थप राजनीतिक टकराव निम्त्याउन सक्छ । यसबीच विश्वले ट्रम्पपछिको अमेरिका कस्तो होला भनेर चासो राख्न थाल्नेछ ।

२. इरान युद्धका थप असर इरान युद्धका परिणाम युद्धमैदानमा मात्र सीमित रहनेछैनन् । यसले क्षेत्रीय राजनीतिलाई पुन: आकार दिने, ऊर्जा आपूर्तिको प्रवाह बदल्ने र विश्वव्यापी खाद्य सुरक्षामा जोखिम निम्त्याउनेछ । युद्धपछि अमेरिकाका सहयोगी मुलुकको उसप्रतिको विश्वास कमजोर भएको छ भने उसका शत्रुहरूमा पनि अमेरिकाप्रतिको भय घटेको छ । मलको अभावले खाद्य आपूर्तिमा थप दबाब सिर्जना गर्न सक्छ ।

३. फेरि अर्को अत्यधिक गर्मी वर्ष सन् २०२७ मा पनि खडेरी, डढेलो र गर्मीको लहर दोहोरिन सक्नेछ । विश्वको तापक्रमले अर्को नयाँ कीर्तिमान बनाउने सम्भावना पनि छ । जलवायु नीतिप्रति ट्रम्पको विरोधका बाबजुद उनका कदमले अनपेक्षित रूपमा नवीकरणीय ऊर्जाको पक्षमा जनमत बलियो बनाउन सक्ने द इकोनोमिस्टको विश्लेषण छ । जलवायु परिवर्तनको असर कम गर्न मात्र होइन, विश्व ऊर्जा बजारको उतारचढावबाट जोगिन पनि नवीकरणीय ऊर्जा महत्वपूर्ण बन्दै गएको छ ।

४. कृत्रिम बुद्धिमत्ताविरुद्ध बढ्दो विरोध एआई कम्पनीहरूले जटिल र पारदर्शिताहीन वित्तीय सम्झौतामार्फत थप ऋण लिन थालेपछि यस क्षेत्रमा बजार दुर्घटनाको जोखिम बढ्नेछ । एआईसँग जोडिएका राजनीतिक, वित्तीय र साइबर सुरक्षासम्बन्धी खतरा पनि यसको क्षमता विस्तारसँगै थप स्पष्ट हुनेछन् । तर रोजगारी र वातावरणमा एआईको प्रभावलाई लिएर व्यक्त भइरहेका कतिपय चिन्ता भने अतिरञ्जित रहेको द इकोनोमिस्टको विश्लेषण छ ।

५. युरोपमा दक्षिणपन्थी लोकप्रियतावादको उदय फ्रान्सको राष्ट्रपति निर्वाचनमा मरिन ले पेनको विजयले युरोपेली राजनीतिमा ठूलो प्रभाव पार्न सक्छ । यसले युरोपेली संघको आधार मानिने फ्रान्स र जर्मनीबीचको साझेदारी कमजोर बनाउनेछ । साथै ऋणको भारमा परेको फ्रान्सको कमजोर सार्वजनिक वित्तीय अवस्थालाई लिएर चिन्ता थप बढ्न सक्छ ।

६. ऋणपत्र बजारमा बढ्दो दबाब वित्तीय संकटको जोखिम सामना गरिरहेको मुलुक फ्रान्स मात्र होइन । धेरै धनी मुलुक आफ्नो आर्थिक क्षमताभन्दा बढी खर्च गरिरहेका छन् । सरकारी ऋण बढ्दै जाँदा ऋणपत्रको प्रतिफल दर पनि उकालो लागिरहेको छ । यो अवस्था लामो समयसम्म टिक्न नसक्ने र कुनै न कुनै ठाउँमा आर्थिक वा वित्तीय समायोजन गर्नुपर्ने द इकोनोमिस्टको प्रक्षेपण छ ।

७. ताइवानमाथि संकटको जोखिम ताइवानलाई लिएर चीनको सैन्य महत्वाकांक्षा सन् २०२७ मा पनि प्रमुख अन्तर्राष्ट्रिय चासोको विषय रहनेछ । चिनियाँ राष्ट्रपति सी चिनफिङले त्यस वर्षसम्म चिनियाँ सेनालाई ताइवान कब्जा गर्न सक्ने गरी तयार राख्ने लक्ष्य दिएको बताइन्छ । तर प्रविधिको विकासले आधुनिक युद्धको स्वरूप बदलिदिएको छ । यसले युक्रेन र इरानका युद्धमा देखिएझैं साना शक्तिलाई ठूला सैन्य शक्तिविरुद्ध आफ्नो रक्षा गर्न सहज बनाएको छ । यी परिवर्तनले ताइवानसम्बन्धी बेइजिङको रणनीतिलाई कस्तो प्रभाव पार्छ भन्ने प्रश्न महत्वपूर्ण रहनेछ ।

८. ओजेम्पिकको प्रभाव तौल घटाउने औषधिहरूले उपभोक्ताको व्यवहार र औषधि उद्योग दुवैमा परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । धेरै मानिसको तौल घट्दै जाँदा उनीहरूको खर्च कपडा, सौन्दर्य सामग्री र शारीरिक तन्दुरुस्तीसम्बन्धी वस्तुमा बढ्न सक्छ । यससँगै यी औषधिमा देखिएका सम्भावित बुढ्यौली रोक्ने प्रभावले औषधि कम्पनीहरूलाई मानव आयु लम्ब्याउने उपचारको अनुसन्धानमा पुन: आकर्षित गरेको छ ।

९. अन्तरिक्ष यात्राको लागत घट्दै व्यावसायिक अन्तरिक्ष गतिविधि विस्तार भएसँगै उपग्रह प्रक्षेपणको लागत घट्ने अपेक्षा गरिएको छ । स्पेसएक्सको ‘स्टारसिप’ रकेटले नियमित रूपमा उपग्रह प्रक्षेपण गर्न थाल्ने अनुमान छ । निजी क्षेत्रबाट सञ्चालित पहिलो अन्तरिक्ष स्टेसन पनि प्रक्षेपण हुने अपेक्षा गरिएको छ । कुनै समय असम्भवजस्तै मानिएको अन्तरिक्षमा डेटा सेन्टर निर्माण गर्ने अवधारणासमेत व्यावसायिक रूपमा सम्भव देखिन थालेको छ ।

१०. पुराना चर्चित चलचित्र शृंखलाले नयाँ दर्शक आकर्षित गर्न आफूलाई नयाँ स्वरूपमा प्रस्तुत गर्नुपर्ने दबाब हलिउडले सामना गर्नेछ । युट्युबरहरूले निर्माण गरेका कम बजेटका चलचित्रले सफलता पाएपछि दर्शक परम्परागत हलिउड चलचित्रको विकल्प खोजिरहेका छन् कि भन्ने प्रश्न उठेको छ ।

यद्यपि साना र कम लागतका अन्तरिक्षयानले शक्तिशाली सैन्य महाशक्तिलाई चुनौती दिएको तथा आफ्नै योजनाअनुसार चल्ने रोबोट पात्रहरू प्रस्तुत गरेको स्टार वार्स सन् २०२७ मा झनै सान्दर्भिक हुन सक्ने प्रतिवेदनको विश्लेषण छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २०८३ मंसिर ४ गते शुक्रबार