तिहारको उल्लाससँगै पटाका र आतसबाजीको प्रयोग बढ्दा वायु तथा ध्वनि प्रदूषणको समस्या पनि बढ्न थालेको छ । रातको समयमा पड्काइने पटाकाको चर्को आवाजले बस्तीको शान्ति खलल पुर्याउनुका साथै त्यसबाट निस्कने धुवाँ र विषाक्त पदार्थले वायुमण्डललाई प्रदूषित बनाइरहेको छ । चिकित्सकहरूले पटाकाको विस्फोटबाट कानको श्रवण क्षमता स्थायी रूपमा गुम्न सक्ने जोखिमसमेत औँल्याएका छन् ।
तिहारमा घरआँगनमा फुलेका फूल, झिलिमिली बत्ती र देउसी–भैलोले चाडपर्वको रौनक बढाइरहेका बेला पटाकाको अनियन्त्रित प्रयोग भने चिन्ताको विषय बनेको छ । विशेषगरी रातिको समयमा पड्काइने पटाकाको आवाजले बालबालिका, वृद्धवृद्धा, बिरामी तथा सर्वसाधारणको निद्रा र शान्त वातावरणमा असर पुर्याइरहेको छ । पटाकाले ध्वनि प्रदूषण मात्र होइन, वायु प्रदूषणसमेत बढाउने वातावरणविद्हरूको भनाइ छ ।
एयर क्वालिटी इन्डेक्स (एक्यूआई)को तथ्याङ्कअनुसार आज मध्याह्नसम्म काठमाडौँको वायु गुणस्तर १४३ एक्यूआई पुगेको छ । यो स्तर अस्वस्थकर मानिन्छ । उक्त तथ्याङ्कका आधारमा काठमाडौँ विश्वका बढी वायु प्रदूषण भएका सहरमध्ये शीर्ष १० भित्र परेको जनाइएको छ । एक्यूआई मापदण्डअनुसार शून्यदेखि ५० सम्मको अवस्था राम्रो, ५१ देखि १०० सम्म मध्यम, १०१ देखि १५० सम्म संवेदनशील समूहका लागि अस्वस्थ, १५१ देखि २०० सम्म सबैका लागि अस्वस्थ, २०१ देखि ३०० सम्म धेरै अस्वस्थ र ३०० भन्दा माथिको अवस्था अत्यन्त खतरनाक मानिन्छ ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले तिहारमा प्रयोग गरिने पटाका, प्लास्टिकका फूल र अन्य प्रदूषणजन्य सामग्रीले वातावरणमा प्रतिकूल असर पार्ने बताएको छ । उनका अनुसार यस्ता सामग्रीको प्रयोगले प्रदूषणसँगै कार्बन उत्सर्जनसमेत बढाउँछ । सुवेदीले तिहारमा घर, कार्यालय तथा सार्वजनिकस्थल सजाउन प्लास्टिकका फूल प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै प्राकृतिक फूलको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताए ।
सरकारले प्लास्टिकका फूलको आयात नियन्त्रण गर्ने प्रयास गरे पनि खुला सिमानाका कारण पूर्ण रूपमा रोक्न कठिन भइरहेको उनको भनाइ छ । उपभोक्ताले नै प्लास्टिकका फूल प्रयोग नगर्ने प्रतिबद्धता जनाएमा यसको प्रयोग घटाउन सहज हुने उनले बताए । चाडपर्वका नाममा पटाका र आतसबाजी प्रयोग गर्दा निस्कने धुवाँ, धुलो तथा विषाक्त ग्यासले वायुको गुणस्तर बिगार्ने र चर्को आवाजले मानव स्वास्थ्यमा असर पार्ने उनले उल्लेख गरे ।
महानिर्देशक सुवेदीका अनुसार नेपालको कुल वायु प्रदूषणमा आधाभन्दा बढी हिस्सा बाह्य स्रोतबाट हुने प्रदूषणको छ । यस्तो अवस्थामा चाडपर्वका नाममा थप प्रदूषण निम्त्याउने गतिविधि बढाउनु उचित नहुने उनको धारणा छ । उनले प्राकृतिक फूलको प्रयोग गर्न र पटाका तथा आतसबाजीको सट्टा प्रदूषणरहित विकल्प अपनाउन आग्रह गरेका छन् ।
विज्ञको चिन्ता : पटाकाले थप्यो वायु प्रदूषण
वातावरणविद् राजन थापाले तिहारमा पड्काइने पटाकाबाट निस्कने धुवाँ, धुलो तथा रासायनिक पदार्थले वायु प्रदूषण बढाउन सहयोग गरिरहेको बताएको छ । उनका अनुसार चक्रवातको प्रभावका कारण नेपालमा करिब तीन दिन वर्षा भएपछि वायुमण्डलमा रहेका धुलो तथा प्रदूषक कण पखालिएका थिए । त्यसपछि काठमाडौँ उपत्यकाको वातावरण केही स्वच्छ बनेको भए पनि अहिले पुन: प्रदूषण बढेर अस्वस्थकर अवस्थातर्फ उन्मुख भएको छ ।
थापाले अहिले सार्वजनिक बिदाका कारण उपत्यकाबाट धेरै सवारीसाधन बाहिरिएका र सहरभित्र सवारी चाप घटेको अवस्थामा समेत प्रदूषण बढ्नुले अन्य स्रोतबाट पनि प्रदूषण भइरहेको संकेत गर्ने बताए । उनका अनुसार अहिले उपत्यकामा पूर्वाधार निर्माणका गतिविधि पनि खासै छैनन् र धानको पराल जलाउने समयसमेत सुरु भएको छैन ।
यस्तो अवस्थामा तिहारमा प्रयोग भइरहेका पटाका तथा अन्य प्रदूषणजन्य गतिविधितर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ । पटाकाबाट निस्कने धुवाँ र रासायनिक पदार्थले मानव स्वास्थ्यका साथै पशुपन्छी तथा अन्य जीवजन्तुलाई पनि असर पुर्याउने उहाँले बताए । पटाकाको चर्को आवाजले जनावर तर्सिने र उनीहरूको प्राकृतिक व्यवहारमा समेत असर पर्ने भएकाले यसको प्रयोग निरुत्साहित गर्नुपर्ने उनको सुझाव छ ।
पटाकाको आवाजले स्थायी बहिरोपनको जोखिम
तिहारमा मनोरञ्जनका लागि पड्काइने पटाका र आतसबाजीको चर्को आवाजले कानको श्रवण क्षमतामा गम्भीर क्षति पुर्याउन सक्ने चिकित्सकहरूले बताएका छन् । वीर अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा.विमलेशकुमार गुप्ताका अनुसार सामान्यतया ८५ डेसिबलसम्मको ध्वनिलाई सुरक्षित मानिन्छ । तर पटाका विस्फोट हुँदा १४० देखि १५० डेसिबल वा त्यसभन्दा बढी ध्वनि उत्पन्न हुन सक्छ । यस्तो तीव्र आवाजले कानको भित्री संरचनामा क्षति पुर्याउन सक्ने उनले बताए ।
‘पटाका विस्फोट हुँदा उत्पन्न हुने तीव्र ध्वनिले कानको जाली फुटाउन र कानभित्रका श्रवणसम्बन्धी सूक्ष्म कोषिका नष्ट गर्न सक्छ । यी कोषिका नष्ट भएपछि पुन: निर्माण हुँदैनन्। त्यसैले यस्तो क्षतिका कारण स्थायी बहिरोपनसमेत हुन सक्छ,’ डा. गुप्ताले भने । चिकित्सकका अनुसार पटाकाको चर्को आवाजका कारण कानमा सिट्टी बजेजस्तो वा गुनगुनाएजस्तो हुने, अरूले बोलेको स्पष्ट नसुनिने, कान बन्द वा भारी भएको महसुस हुने तथा दुख्ने समस्या देखिन सक्छ । कानको जाली फुटेमा रगतसमेत आउन सक्छ ।
यस्ता जोखिमबाट बच्न पटाका पड्काइने स्थानबाट सुरक्षित दूरी कायम गर्न र विशेषगरी बालबालिकालाई पटाका नजिक जान नदिन डा.गुप्ताले सुझाव दिएका छन् । आवश्यक अवस्थामा इयर प्लग वा अन्य श्रवण सुरक्षा सामग्री प्रयोग गर्न सकिने उनको भनाइ छ । पटाका पड्किएको आवाजपछि कानमा सिट्टी बज्ने, आवाज धमिलो सुनिने वा कान थुनिएको महसुस हुने लक्षण देखिए बेवास्ता गर्न नहुने उनले बताए । यस्ता लक्षण २४ देखि ४८ घण्टासम्म पनि कम नभए नाक, कान तथा घाँटी रोग विशेषज्ञसँग परामर्श लिनुपर्ने उनको सुझाव छ ।
पटाका पड्काउँदा बालकको मृत्यु
पटाकाको प्रयोगले प्रदूषण र स्वास्थ्य जोखिम मात्र होइन, मानवीय क्षतिसमेत निम्त्याइरहेको छ । पर्साको पकहामैनपुर गाउँपालिका–२ मा पटाका पड्काउने क्रममा छर्रा लागेर आठ वर्षीय बालकको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार स्थानीय रामगुलाम सहनीका छोरा कुन्दन सहनी आफ्नै घरअगाडि पटाका पड्काउने क्रममा छर्रा लागेर घाइते भएका थिए । पटाकाको छर्रा उनको छातीको बीच भागमा लागेको थियो ।
घाइते बालकलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । चाडपर्वको खुसी मनाउने क्रममा अरूको स्वास्थ्य, शान्ति र वातावरणमा असर नपर्ने गतिविधि अपनाउनु आवश्यक देखिएको छ । प्राकृतिक फूलको प्रयोग, पटाकाको विकल्पमा प्रदूषणरहित सजावट र ध्वनि प्रदूषण नियन्त्रणमा ध्यान दिन सके तिहारको सांस्कृतिक रौनकसँगै वातावरणीय स्वच्छता र मानवीय सुरक्षासमेत जोगाउन सकिन्छ ।

