गाईलाई हिन्दु समुदायमा माता र लक्ष्मीका रूपमा लिइन्छ । अरु घरपालुवा जनावरभन्दा विशिष्ठ मानिन्छ । किन त ? पाँच हजार वर्षअघि सिन्धु नदीको आसपासमा अन्य घरपालुवा पशुका साथै गाईपालनको पनि चर्चा गरिएको छ । वैदिक कालमा गाईको आर्थिक र सामाजिक मात्र नभई धार्मिकरूपमा ज्यादै महत्व थियो ।त्यसबेला यी पशु नै मानिसको धन दौलत तथा समृद्धि मापनको आधार थिए । जोसँग धेरै पशु हुन्थ्यो ऊसको सामाजिक प्रतिष्ठा र इज्जत धेरै हुन्थ्यो । धेरै धनी व्यक्तिलाई संस्कृतमा गोपति (अर्थात् गाईहरुको मालिक) भनिन्छ । राजाहरुले हात्ती, घोडा र गाई जस्ता पशु उपहार वा दानको रूपमा दिने गर्थे ।
दूध, दही, घीउ आदि हिन्दुहरुको सबै प्रकारका धार्मिक कार्यमा नभई हुदैन थियो । वेदमा गाई, गोरु र साँढेको उल्लेख अरु जनावरभन्दा धेरै भएबाट पनि वैदिक कालदेखि नै हिन्दुले गाईलाई विशेष महत्व दिने गरेको बुझिन्छ । गाईलाई पवित्र मानी पूजा गर्ने चलन भने करिब २५०० वर्षअगाडिदेखि सवल हुँदै गएको मान्न सकिन्छ । छान्दोग्य उपनिषद्मा अहिंसाबारे वयान गरिनु र पुरानो वैदिक विश्लेषण कमजोर हँुदै गएपछि गोबधलाई हिन्दुहरुले निषेध गर्दै गएको देखिन्छ । हिन्दु धर्ममा अहिंसाले थप स्थान पाउनमा बुद्ध, जैन र कृष्णका उपासक तथा अनुयायीहरुले गहिरो प्रभाव पारेपछि भने गोबधलाई जघन्य पापका रूपमा व्याख्या गर्न थालेको प्रतीत हुन्छ ।
संहारकर्ता शिवको बाहन नन्दी अर्थात साँढे हरेक शिव मन्दिर अघिल्तर राखिनु, भगवान कृष्णलाई गाईपालक अर्थात गोपालवंशी भनिनु र नेपालको इतिहासमा गाईपालकहरुले राज्य गरेको इतिहास भेटिनुले नेपाली हिन्दु समुदायमा गाईको धार्मिक महत्व अत्याधिक रहेकोमा सन्देह रहँदैन । गाईलाई राष्ट्रिय जनावरका रूपमा व्याख्या गरिनुले यसलाई कति महत्व दिइएको थियो भन्ने कुरा ज्ञात हुन्छ । अर्कातिर पश्चिमा विद्वान्हरुले प्राचीनकालमा हिन्दुहरुले पनि गाईको मासु खाने गर्थेे भन्ने प्रमाण पेश गरेका छन् । रिग्वेद ८.४३.११ मा गाई र गोरुको बलिदिने विषय उल्लेख छ । अमरनाथ पाल (१९९६) का अनुसार उत्तरवैदिक कालमा हिन्दुबीच पाहुनालाई गोरु काटेर खुवाउने चलन थियो ।
अमरनाथको यो विश्लेषणलाई लोड्रिक (२००५)ले आफ्नो अनुसन्धानमा पुनर्पुष्टि गर्दै हिन्दुहरुले गाईलाई लक्ष्मीको स्वरूप, माता मान्ने प्रचलनको प्रारम्भ इशाको चौथो शताब्दीदेखि प्रारम्भ भएको व्याख्या गरेका छन् । डा. उमेशचन्द्र पाण्डेयले आफ्नो पुस्तक गौतमधर्मसूत्राणी (संवत् २०६९०) मा हिन्दुहरुले गाई र गोरुको मासु खान्थे भन्ने कुराको खण्डन गरेका छन् । जे भए तापनि हिन्दु समाजमा गाईको ठूलो महत्व थियो भन्ने विषयमा दुई मत छैन । इशाको १००० तिर गाईलाई पवित्र मान्ने चलन ज्यादै सुदृढ भएको बुझिन्छ । यो विश्वास कति बलियो थियो भन्ने कुरा चौधौँ तथा पन्ध्रौं शताब्दीमा भारतका मुस्लिम शासक बाबर तथा अकबरले समेत गाई काट्ने प्रचलन रोक्ने कानुन निर्माण गरेबाट पनि बुझ्न सकिन्छ ।
भारतका शासक सिवाजी (ई. १६२७–१६८०) ले गोबध रोक्ने अभियान चलाउँदा उनलाई करोडौँ हिन्दुले समर्थन गरेका थिए । गाईलाई उनीहरुले आफ्नो पहिचान, प्रतिष्ठा र सभ्यताको द्योतकका रूपमा लिएका थिए । गाई सामाजिक/सांस्कृतिकरूपमा विवादित विषय पनि हो । गाईको मासु खानु पाप हो भनेर विश्वास गर्ने हिन्दु र गाईको मासु खाने समुदायबीच हजारौं वर्षदेखि यसले राजनीतिक, साम्प्रदायिक तथा सामाजिक द्वन्द्व सिर्जना गर्ने विषय पनि बनेको छ । नेपालमा पनि गाई मारेको विषयमा हिन्दु र गैरहिन्दुबीच समय /समयमा झडप हुँदै आएका छन् । गाईको दूध, घीउका साथै यसको पिसाब अर्थात गहुँत र गोबरलाई हिन्दुले आफ्नो दैनिक जीवनमा शुद्धीकरण गर्ने वस्तुका रूपमा प्रयोग गरेको देखिन्छ ।
गोबरले आफ्नो भान्सा वा चुलो दैनिक लिपेर सफाइ गर्ने, कुनै पनि अशुद्ध हुने क्रियाकलाप जस्तै जुठो परेको, सुतक परेको आदि अपवित्र हुने क्रियाकलापपछि गहुँत प्रयोग गरी शुद्धीकरण गर्ने काममा प्रयोग गरिन्छ । गाईलाई मातृत्व, धन र प्रतीकात्मकरूपमा लिने गरिन्थ्यो । यसलाई जे मागे पनि दिनसक्ने वस्तु अर्थात कामधेनुका रूपमा बयान गरिएको पाइन्छ । महाभारतमा वर्णन गरिएअनुसार दक्षले सबै जीवजन्तु सृष्टि गरेपछि खानेकुरा हाहाकार भयो । सबै प्राणीलाई खाना उपलब्ध गराउनका लागि उनले अमृत पान गरेपछि उनको मुखबाट सौरभी नामको गाई सृष्टि भएको उल्लेख छ ।
कृष्ण भगवानले भन्नुभएको छ, हामी गाईका गोठाला हौं, गाई नै हाम्रो धन हो र हामी यसैको उपासना गर्छाैं । (हरिवंश पुराण २.१६.२) बाल्यकालमा गाईको मख्खन चोरेर खाएको, युवावस्थामा गाईको अगाडि बसेर कृष्णले बाँसुरी बजाइरहेको चित्रहरु जताततै देख्न पाइन्छ । यसबाट पनि कृष्ण र गाईको ज्यादै नजिकको सम्बन्ध प्रष्टिन्छ । यसबाट महाभारतकालमा नेपाललगायत भारत वर्षमा गाईलाई ज्यादै महत्व दिइएको पुष्टि हुन्छ । गाई संरक्षण र यसको मासु खान गरिएको बन्देज खासगरी माथिल्ला भनेर चिनिने जातिहरुको हकमा मात्र कडाईका साथ लागु गरिएको पाइन्छ । गैरहिन्दु जाति खासगरी बौद्ध, मुस्लिम तथा क्रिश्चियन आदि धर्म मान्ने समुदायसमेत बसोबास गर्ने नेपाली समाजमा गाईको मासु नखाने चलन माथिल्ला जातिका हिन्दुहरुको हकमा मात्र कडाईका साथ लागु गरिएको संकेत मिल्छ ।
विविधतायुक्त हिन्दु समाजका तल्लो जाति भनेर वर्गीकरण गरिएका व्यक्तिहरुलाई भने गाई र गोरुको मासु खाने प्रचलन कायमै रहेबाट पनि यो कुरालाई बल प्रदान गर्छ । हिन्दुको गाईलाई संरक्षण गर्ने प्रतिबद्धतामा गान्धीले भनेका थिए– हिन्दुहरुको क्षमता उनीहरुको गार्ई संरक्षण गर्ने क्षमताबाट देख्न सकिन्छ त्यसैले हिन्दुले गाईको संरक्षण गर्नुपर्छ । गाईलाई नेपाल तथा हिन्दू संस्कृतिमा केवल एक सामान्य घरपालुवा पशु मात्र नभई गौमाता, लक्ष्मीमाता र आस्था, संस्कृति तथा समृद्धिको सर्वोच्च प्रतीकका रूपमा सम्मान गरिन्छ । नेपालको सनातन संस्कृतिमा गाईको गहिरो धार्मिक, सामाजिक र सांस्कृतिक महत्त्व रहेको छ,
१. राष्ट्रिय जनावरको मान्यता
नेपालको संविधान तथा कानुनले गाईलाई नेपालको राष्ट्रिय जनावरको रूपमा मान्यता दिएको छ । यसले राष्ट्रिय पहिचान र सांस्कृतिक एकतामा गाईको विशिष्ट स्थान रहेको पुष्टि गर्छ ।
२. धार्मिक आस्था र गौमाताको रूपमा सम्मान
लक्ष्मीको स्वरूप – हिन्दू परम्परामा गाईलाई धन, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको स्वरूप मानिन्छ गाईको सेवा र पूजा गर्नुले घरमा सुख–शान्ति र समृद्धि भित्रिने जनविश्वास छ ।
वैतरणी नदी पार गर्ने विश्वास – धार्मिक ग्रन्थ तथा जनविश्वास अनुसार, मानिसको मृत्युपश्चात परलोक जाँदा वैतरणी नदी पार गर्न गाईले सहयोग गर्छ भन्ने मान्यता राखिन्छ । त्यसैले मृत आत्माको मोक्ष र शान्तिका लागि गौदान गर्ने परम्परा छ ।
अहिंसा र पवित्रताको प्रतीक – गाईलाई शान्त, सहनशील र अहिंसाको जीवित प्रतीक मानिन्छ ।
३. चाडपर्व र परम्परामा गाईको स्थान
गाई तिहार (गाईपूजा) – तिहार पर्वको तेस्रो दिन (औंसीको दिन) गाईको पूजा गरिन्छ यस दिन गाईलाई मीठा खानेकुरा खुवाएर माला लगाइयो पूजा गरी उनीहरूप्रति कृतज्ञता प्रकट गरिन्छ ।
गाईजात्रा – विशेषगरी नेवार समुदायमा मनाइने ऋजभकतजब ध्भभपथि गाईजात्रा पर्वमा वर्षभरि दिवंगत भएका आफन्तहरूको सम्झनामा गाईलाई नगर परिक्रमा गराउने वा गाईको प्रतीकसहित सांस्कृतिक झाँकी निकाल्ने परम्परा रहेको छ ।
४. मानवता, पर्यावरण र संस्कृतिको धरोहर
सांस्कृतिक निरन्तरता – गाई संरक्षण केवल एउटा धार्मिक कर्तव्य मात्र नभई हाम्रा पुर्खाले सुम्पिआएको मौलिक संस्कृति, सभ्यता र भक्तिको प्रतीक हो ।
आयुर्वेदिक र व्यावहारिक उपयोगिता – गाईबाट प्राप्त हुने दूध, दही, घिउ, गहुँत (मूत्र) र गोबर (पञ्चगव्य) लाई धार्मिक तथा आयुर्वेदिक दृष्टिले अति पवित्र र स्वास्थ्यवर्धक मानिन्छ । यसले कृषि र ग्रामीण अर्थतन्त्रलाई समेत टेवा पुर्याउँदै आएको छ ।
धर्म, संस्कृति र मानवताको दायित्व
नेपाल कृषि प्रधान देश हो । यहाँ गाईलाई केवल एक जनावरका रूपमा मात्र नभई आस्था, संस्कृति, सभ्यता र समृद्धिको प्रतीकका रूपमा सम्मान गरिन्छ । नेपालको राष्ट्रिय जनावर गाईलाई हिन्दू धर्ममा ‘गौमाता’ तथा ‘लक्ष्मीमाता’का रूपमा पूजा गर्ने परम्परा रहिआएको छ । गाईको सेवा र संरक्षण गर्नु केवल धार्मिक कर्तव्य मात्र नभई राष्ट्रिय दायित्व पनि हो । प्राचीन कालदेखि नै गाई मानव जीवनसँग प्रत्यक्ष रूपमा जोडिँदै आएको छ । गाईबाट प्राप्त दूध, दही, घ्यू, गोबर र गहुँत स्वास्थ्य, कृषि तथा धार्मिक कार्यका लागि उपयोगी मानिन्छन् ।
गाईको गोबर जैविक मलका रूपमा प्रयोग हुने भएकाले वातावरण संरक्षण र अर्गानिक खेती प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्याउँछ । त्यसैले गाईलाई हाम्रो जीवनको अभिन्न अंग मानिएको हो । तर पछिल्ला वर्षहरूमा सडक, बजार तथा सार्वजनिक स्थानहरूमा छाडा गाईहरू भौतारिँदै हिँड्ने गरेको दृश्य सामान्य बन्दै गएको छ । कतिपय गाईहरू दुर्घटनामा पर्ने, भोकभोकै बस्नुपर्ने तथा विभिन्न प्रकारका यातना सहन बाध्य हुने अवस्था सिर्जना भएको छ । गाईप्रति देखिएको यस्तो बेवास्ताले हाम्रो संस्कृति र मानवीय संवेदनामाथि नै प्रश्न उठाएको छ । गाईको संरक्षण सरकार वा कुनै एक संस्थाको मात्र जिम्मेवारी होइन ।
यो सम्पूर्ण समाज, स्थानीय तह, धार्मिक संघसंस्था र प्रत्येक नागरिकको साझा दायित्व हो । यदि हामीले सडक, बजार वा अन्य कुनै स्थानमा अलपत्र अवस्थामा रहेका गाईहरू भेट्यौं भने उनीहरूलाई सुरक्षित स्थानमा पुर्याउने प्रयास गर्नुपर्छ । साथै यस्ता गाईहरूलाई राष्ट्रिय गौरक्षा वाहिनी गौसेवा संरक्षण केन्द्र, नेपाल वा सम्बन्धित संरक्षण संस्थासम्म पुर्याउन सहयोग गर्नु आवश्यक छ । गाई संरक्षणले केवल जनावरको रक्षा मात्र गर्दैन, यसले हाम्रो धर्म, संस्कृति र राष्ट्रिय पहिचानको पनि संरक्षण गर्छ । आजको आधुनिक युगमा विकास र प्रविधिको चर्चा भइरहँदा हाम्रो मौलिक परम्परा र संस्कृतिको संरक्षण पनि उत्तिकै महत्वपूर्ण विषय हो ।
गाईप्रति सम्मान, माया र जिम्मेवारीको भावना विकास गर्न सके मात्र भावी पुस्तालाई पनि हाम्रो सांस्कृतिक सम्पदा हस्तान्तरण गर्न सकिन्छ । सनातन संस्कृति, ग्रामीण अर्थतन्त्र र मानव स्वास्थ्यको दृष्टिकोणले गाई एक अत्यन्तै महत्त्वपूर्ण र पूजनीय प्राणी मानिन्छ । हिन्दू परम्परामा गाईलाई गौमाताका रूपमा सम्मान गर्दै महालक्ष्मी र प्रकृतिको प्रतीकका रूपमा पूजा गरिन्छ । धर्मशास्त्रमा गाईको सेवा र संरक्षणलाई पुण्यदायी मानिनुका साथै गाई तिहारजस्ता पर्वहरूमा यसको विशेष पूजाआजा गर्ने परम्परा रहेको छ । धार्मिक महत्त्वका अतिरिक्त गाईको आर्थिक र कृषिगत योगदान पनि उल्लेखनीय छ । परम्परागत नेपाली कृषि प्रणाली पूर्ण रूपमा गाई र गाईजन्य उत्पादनमा निर्भर रहँदै आएको छ ।
गाईको दूध पौष्टिक र स्वास्थ्यवर्धक हुन्छ, जसले मानव शरीरलाई आवश्यक ऊर्जा र रोगप्रतिरोधात्मक क्षमता प्रदान गर्दछ । दूधबाट बनेका दही, घिउ, मोही र पञ्चामृत धार्मिक अनुष्ठानका साथै दैनिक भोजनका अभिन्न अङ्ग हुन् । कृषि क्षेत्रमा गाईको मल (गोबर) र मूत्र प्राकृतिक मलखाद तथा जैविक कीटनाशकका रूपमा प्रयोग हुन्छ । यसले माटोको उर्वराशक्ति बढाउनुका साथै रसायनमुक्त खेतीपातीलाई प्रोत्साहन गर्दछ । गाईको गोबरबाट उत्पादन गरिने बायोग्यासले ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको स्रोतका रूपमा काम गर्दै वातावरण संरक्षणमा योगदान पुर्याएको छ । आधुनिक वैज्ञानिक अनुसन्धानहरूले पनि गाईजन्य उत्पादनको औषधीय गुणलाई पुष्टि गरेका छन् ।
वातावरण शुद्धीकरणदेखि मानव स्वास्थ्यको रक्षासम्म गाईको भूमिका अतुलनीय छ । त्यसैले, गाईको संरक्षण र संवर्धन गर्नु केवल धार्मिक कर्तव्य मात्र नभई दिगो ग्रामीण विकास, जैविक खेती र स्वस्थ जीवनशैलीका लागि अपरिहार्य रहेको छ । अन्तत:, गाई हाम्रो राष्ट्रिय गौरवको प्रतीक हो । गौमाताको सेवा गर्नु पुण्य कार्य मानिन्छ । त्यसैले ‘गाई बचाऔं, संस्कृति जोगाऔं’ भन्ने अभियानलाई सबैले आत्मसात् गर्दै गाईमाथि हुने हिंसा, बेवास्ता र दुर्व्यवहार अन्त्य गर्न हातेमालो गरौं । गाईको संरक्षणमा राज्य, समाज र नागरिक सबै एकजुट भएमा मात्र सभ्य, संस्कारित र जिम्मेवार समाज निर्माण सम्भव हुनेछ ।

