चितवनको इच्छाकामना गाउँपालिका ४ स्थित घोप्टेभीरमा सोमबार बिहान सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण राजमार्गमा दुईतर्फी सवारी आवागमन ठप्प हुँदा सयौँ यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।
सोमबार बिहान करिब ५ बजे सडकमाथिबाट ठूलो परिमाणमा ढुंगा र माटोसहितको पहिरो खसेर सडक ढाकेको हो । पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएपछि काठमाडौं र चितवनतर्फ जाने तथा आउने सवारीसाधनको आवागमन प्रभावित बनेको छ ।
चितवन प्रहरीका अनुसार पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । सडक खुल्न समय लाग्न सक्ने भएकाले यात्रु तथा सवारी चालकलाई सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।
प्रकाशित मिति : २०८३ कात्तिक २३ गते सोमबार

