२०८३ कात्तिक २१ , शनिबार 7, November 2026, Saturday

बर्दियाबाट धादिङ लगियो कोठियाघाटमा थन्किएको ‘पन्टुन पुल’

हुलाकी राजमार्ग अन्तर्गत बर्दियाको गुलरिया–राजापुर खण्डको कोठियाघाटमा १३ वर्षदेखि थन्किएको ‘पन्टुन ब्रिज’ धादिङस्थित फुर्केखोलामा जडान गरिने भएको छ । बर्दियाबाट उक्त पुल ढुवानी गरेर शुक्रबार फुर्केखोला पुर्‍याइएको छ । लामो समयदेखि कर्णालीको गेरुवा किनारमा थन्किएको पुल धाधिङको गजुरी–२ स्थित फुर्केखोलामा जडानका लागि लगिएको हो । गत भदौ १० मा भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि आवागमन प्रभावित भएको थियो ।

भोटेकोशी बाढीले धादिङलगायत जिल्लाका पुल बगाएपछि अलपत्र पन्टुन पुलको सदुपयोग गर्नुपर्ने आवाज उठेको थियो । यो पुल फुर्केखोलाको जलदेवी मन्दिर छेउबाट जडान गरिनेछ । जसले गजुरी–२ र सिद्धलेक –६ लाई जोड्नेछ । बाढीले फुर्केखोलाको पुल बगाउँदा धादिङका १३ पालिकाको सदरमुकामसित सम्बन्ध बिच्छेद भएको गजुरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले बताए ।

विभागीय स्वीकृतीपछि राजापुर सिँचाई व्यवस्थापन आयोजनाले सबै प्रक्रिया पुर्‍याएर यो पुल जिल्ला प्रशासन धादिङलाई हस्तान्तरण गरेसँगै धादिङबाट क्रेन र टेलर ल्याएर पन्टुन ब्रिज ढुवानी गरिएको हो । शुक्रबारसम्म पुलका २४ वटा डब्बा लगिसकिएको राजापुर सिँचाई व्यवस्थापन आयोजनाले जनाएको छ । पुल बगाएर सदरमुकामसँग सम्बन्धबिच्छेद भएपछि धादिङका १३ वटै पालिकाका जनप्रतिनिधिले यहाँ आएर कोठियाघाटस्थित राजापुर सिँचाई व्यवस्थापन आयोजनाको साइड क्याम्पमा स्टोर गरिएको पन्टुन ब्रिज अवलोकन गरेर फर्किएका थिए ।

फुर्केखोलामा जडान सम्भव हुने/नहुने अवलोकन गर्न आग्रह गरेपछि दुई जना कर्मचारीले फुर्केखोला पुगेर अध्ययन गरेको सिँचाइ आयोजना अन्तर्गत पन्टुन ब्रिजका प्राविधिक शशीधर वाग्लेले बताए । ‘पन्टुन ब्रिज पानीमा तैरिने डब्बा भएकाले फुर्केखोलामा पानीको बहाव मापन गर्दा जडान गर्न सकिने देखियो,’ उनले भने,‘कोठियाघाटमा १३ वर्षदेखि घामपानीमा अलपत्र राख्दा खिया लागेको छ । तीन वटा डब्बामा प्वाल परेकोले मर्मत र रंगरोगन गरेर संचालनमा ल्याउन सकिन्छ ।’

फुर्केखोलाको लम्बाई ८० मिटर रहेकाले २४ वटा डब्बाले उक्त दूरीमा पुग्ने अनुमान गरिएको प्राविधिक वाग्लेले बताए । ‘तत्काललाई २४ वटा डब्बा मर्मत र रंगरोगन गरी सञ्चालनमा ल्याउने तयारी छ,’ उनले भने,‘पन्टुन ब्रिजका अन्य डब्बा उहाँहरुले बिस्तारै लैजादै गर्नुहुन्छ ।’ पहिलो सिफ्टमा पाँच वटा टेलरले १०, दोस्रो सिफ्टमा चार, तेस्रो सिफ्मा चार र शुक्रबार चौथो सिफ्टमा तीन वटा टेलरले छ वटा गरी २४ वटा डब्बा धादिङ पुर्‍याइएको छ । बाँकी सबै डब्बा बिस्तारै लैजाने उनले जनाए । रंगरोगन, मर्मत, ढुवानी र जडानमा लाग्ने खर्च भने एकिन नभएको उनले जनाए ।

‘तिहार लगत्तै दुई जना प्राविधिकको नेतृत्वमा अन्य १० जनाको जनशक्ति पुल जडान गर्न जानेछौं,’ उनले भने । फुर्केखोलामा पुर्‍याएका डब्बाको मर्मत, रंगरोगन र कसरी उठाएर राख्ने सिकाउन शुक्रबार आफु पनि धादिङतर्फ गइरहेको वाग्लेले बताए । ‘तिहार लगत्तै फुर्के खोलामा पन्टुन ब्रिज जडान गर्ने तयारी छ,’ उनले भने, ‘त्यसका लागि पन्टुन ब्रिजमा पहिला काम गरिसकेका १० जनासहित हामी सिँचाइ व्यवस्थापन आयोजनाका दुई जना प्राविधिक धादिङ गएर पुल जडानको काम गर्छौं ।’ पन्टुन ब्रिज जडानका लागि कम्तीमा एक साता समय लाग्ने उनले बताए ।

आयोजनाले बुधबार पन्टुन ब्रिज र त्यसमा लाग्ने सम्पूर्ण सामग्रीको विवरण धादिङ जिल्ला प्रशासनलाई बुझाइसकेको छ । कर्णाली नदीको भंगालो गेरुवाको कोठियाघाटमा २०५४ देखि २०७० सालसम्म यो पुल संचालनमा ल्याइएको थियो । आवागमनका लागि हिउँदमा पन्टुन ब्रिज जडान गर्ने र वर्षात्को सिजनमा निकालेर सुरक्षित स्थानमा राखिन्थ्यो । कोठियाघाटमा पक्की पुल बनेर संचालनमा आएपछि १३ वर्षदेखि पन्टुन ब्रीज प्रयोगविहीन बनेको थियो । पन्टुन ब्रिजका जम्मा ३३ वटा डब्बा रहेका छन् । तिनको लम्बाई १४५ मिटर रहेको छ । कोठियाघाटमा ३१ वटा डब्बा जडान गरिन्थ्यो ।

एउटा डब्बामा मोटरबोट जडान गरी पन्टुन ब्रिजका डब्बा जडान गर्न र खोल्न प्रयोग गरिन्थ्यो । कोठियाघाटमा पक्की पुल निर्माण हुनुअघि हिउँदको समयमा पुलले राजापुर क्षेत्रलाई बर्दियाको बाँकी भूभागसित जोड्ने गरेको थियो । वर्षातमा कोठियाघाट तर्न स्ट्रिमर सञ्चालन हुँदै आएको थियो । पुलबाट साविक राजापुर क्षेत्रका ११ गाबिसका बासिन्दा ओहोरदोहोर गर्थे भने खाद्यान्न लगायत सामान ढुवानीमा सहज हुन्थ्यो । मुलुकमै पहिलोपटक कोठियाघाटमा पन्टुन पुल सञ्चालनमा आउँदा धेरै ठाउँबाट सर्वसाधारण अवलोकन गर्नसमेत पुग्थे ।

पुल नहुँदा राजापुर टप्पुका किसानले उत्पादन गरेको खाद्यान्न बिक्रि सहज बनाउन राजापुर सिँचाइ आयोजनाले एशियाली विकास बैंकको ऋण सहयोगमा चीनमा निर्मित उक्त पुल खरिद गरेको थियो । स्थानीय बीरबल शाहीले कोठियाघाटमा पक्की पुल नबन्दासम्म यो पुलबाट ढुवानी सहज भएको बताए । बाढीले धादिङको सदरमुकाम धादिङबेसीसहित आठ स्थानीय तह र गोरखा जिल्लाका केही भागलाई पृथ्वी राजमार्गसित जोड्ने मुख्य पुल बगेपछि स्थानीयले विकल्पका रूपमा १९ किलोमिटर लामो कच्ची परेवाटार–मासटार सडक प्रयोग गर्नुपर्दा कष्टकर यात्रा गरिरहेका छन् भने ढुवानी भाडा महँगो पर्दा दैनिक उपभोग्य सामग्रीको मूल्य बढेको थियो ।

पुल धादिङसम्म ल्याउने र व्यवस्थापन गर्ने जिम्मेवारी ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैलाई दिइएको थियो । फुर्केखोलामा पुलको रंगरोगन र दुवैतर्फ एप्रोच रोड बनाउने काम तीव्र रूपमा भइरहेको छ । पूर्वतयारीका काम सकिन तीनदेखि चार दिन लाग्ने र तिहारलगत्तै पुल जडान गर्ने काम सुरु गरिनेछ । पुल ढुवानीदेखि जडानसम्मका सबै खर्च धादिङका १३ वटै स्थानीय तहले व्यहोर्ने गरी ‘बास्केट फण्ड’ तयार गरिएको नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले जानकारी दिए ।

ढुवानी, जडान र व्यवस्थापनमा हुने खर्चका आधारमा सबै पालिकाले लागत बेहोर्ने गरी संयुक्त कार्यविधि बनाइएको उनले बताए । त्यसैगरी, एप्रोज सडक निर्माण र स्थानीय स्तरको व्यवस्थापनको जिम्मेवारी गजुरी–२ का वडाध्यक्ष द्रोण कँडेललाई दिइएको गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताए । फुर्केखोलामा पन्टुन पुल जडान भए त्रिशूली वारि–पारिका बासिन्दालाई आउजाउ र ढुवानीमा सहज हुने र जनजीवन पुन: सामान्य बन्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक २१ गते शनिबार