प्रधानमन्त्री वालेन्द्र शाहले तिहार पर्वको शुभकामना दिएका छन् । यमपञ्चकको पहिलो दिन आज काग तिहारको अवसरमा उनले सामाजिक सञ्जालबाट शुभकामना दिएका हुन् । प्रधानमन्त्री बालेनले नेपाली चाडपर्वले मानव र पशुपन्छीबीचको आत्मीयता, प्रेम तथा सहअस्तित्वको सन्देश दिने बताएका छन् ।
शुभकामनामा उनले तिहार वर्षका विभिन्न पक्षको चर्चा गर्दै सत्य, न्याय र इमानदारीको बाटोमा अडिग रहेर समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा तिहार पर्वबाट प्राप्त होस् भन्ने कामना पनि गरेका छन् । प्रधानमन्त्री शाहले नेपाली मौलिक संस्कृति र परम्पराको महत्त्व उजागर गरेका हुन् ।
काग तिहारका अवसरमा कागलाई यमराजको दूतका रूपमा सम्मान गर्दै मीठा परिकार खुवाउने परम्पराले प्राचीन नेपाली समाजको विश्वास र सांस्कृतिक मान्यतालाई प्रतिबिम्बित गर्ने उनको सन्देशमा उल्लेख छ । आधुनिक सञ्चारको विकास हुनुअघि कागको आवाजलाई समाचार वा पाहुनाको आगमनसँग जोडेर हेर्ने चलन रहेको उनले स्मरण गराएका छन् ।
‘आज हामी यमराजको दूत मानिने कागलाई मीठा परिकार खुवाएर सम्मान गर्छौं । घरको आँगनमा काग कराएमा ‘शुभ बोल, शुभ बोल’ भन्दै खबरको प्रतीक्षा गर्ने र ‘काकेन दधि भक्षितम्’ भन्दै दही–भात दिएर यमराजसमक्ष शुभ सन्देश पुर्याउने कामना गर्ने प्रचलन छ । आधुनिक सञ्चार नभएको प्राचीन कालमा काग कराउँदा कतैबाट समाचार वा पाहुना आउँदैछन् भन्ने विश्वास गरिन्थ्यो,’ उनले लेखेका छन् ।
प्रधानमन्त्री शाहले यमपञ्चकमा परिवारका सदस्यको सुख, शान्ति र सुरक्षाको कामना गर्दै यमदीपदान गर्ने परम्पराको पनि चर्चा गरेका छन् । नेपाली संस्कृतिमा यमराजलाई मृत्युसँग मात्र नभई सत्य, न्याय र धर्मका प्रतीकका रूपमा समेत लिने गरिएको उनको भनाइ छ । त्यस्तै, धन्वन्तरी जयन्तीका अवसरमा आयुर्वेदका प्रवर्तक तथा आरोग्यका देवता भगवान् धन्वन्तरीको स्मरण गर्दै उनले सबैको सुस्वास्थ्य र निरोगी जीवनको कामना गरेका छन् ।
‘समुद्र मन्थनबाट अमृत कलश लिएर प्रकट हुनुभएको आयुर्वेदका प्रवर्तक तथा आरोग्यका देवता भगवान् धन्वन्तरीको स्मरण गर्दै सम्पूर्णमा निरोगी जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछु,’ उनले लेखेका छन् । भोलि मनाइने कुकुर तिहारलाई पनि उनले मानव र पशुपन्छीबीचको सम्बन्ध प्रगाढ बनाउने पर्वका रूपमा व्याख्या गरेका छन् ।
घरको सुरक्षा, अनुसन्धान तथा उद्धार लगायतका काममा कुकुरले पुर्याउँदै आएको योगदानको सम्मान गर्ने यस पर्वले अन्य जीवप्रतिको प्रेम र कृतज्ञता बढाउने विश्वास उनले व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहले चाडपर्वले समाजमा सत्य, न्याय र इमानदारीको भावना विकास गर्दै सुशासन तथा जनपक्षीय कार्यप्रति प्रेरित गर्नुपर्ने सन्देश दिएका छन् । उनले भने सत्य, न्याय र इमानदारीको बाटोमा अडिग रहेर समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा यी पर्वहरूले हामीलाई दिओस् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्,
यमपञ्चकको पहिलो दिन तथा काग तिहारको अवसरमा आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना !
आज हामी यमराजको दूत मानिने कागलाई मीठा परिकार खुवाएर सम्मान गर्छौं । घरको आँगनमा काग कराएमा ‘शुभ बोल, शुभ बोल’ भन्दै खबरको प्रतीक्षा गर्ने र ‘काकेन दधि भक्षितम्’ भन्दै दही–भात दिएर यमराजसमक्ष शुभ सन्देश पुर्याउने कामना गर्ने प्रचलन छ । आधुनिक सञ्चार नभएको प्राचीन कालमा काग कराउँदा कतैबाट समाचार वा पाहुना आउँदैछन् भन्ने विश्वास गरिन्थ्यो ।
साथै, यमयातनाबाट मुक्तिका लागि परिवारका सदस्यका नाममा यम दीपदान गर्ने परम्परा पनि छ । हाम्रो संस्कृतिले यमराजलाई डरको रूपमा मात्रै होइन, न्यायको प्रतीकका रूपमा पनि बुझाएको छ । यमराजले दुष्कर्म गर्नेलाई दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वास गरिन्छ ।
यसैगरी, आजै परेको धन्वन्तरी जयन्तीका अवसरमा समुद्र मन्थनबाट अमृत कलश लिएर प्रकट हुनुभएको आयुर्वेदका प्रवर्तक तथा आरोग्यका देवता भगवान् धन्वन्तरीको स्मरण गर्दै सम्पूर्णमा निरोगी जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
भोलि पर्ने कुकुर तिहारका अवसरमा, मानव सभ्यताको विश्वासिलो र वफादार साथी कुकुरलाई मीठा परिकार खुवाएर पूजा गरिन्छ । घरको रखवारी गर्नेदेखि विभिन्न अनुसन्धान र उद्धार कार्यमा समेत मानिसलाई साथ दिने कुकुरप्रतिको प्रेम र कृतज्ञता प्रकट गर्ने यो दिनले हाम्रा अन्य जीवहरूप्रतिको सहअस्तित्व र सद्भावलाई अझ प्रगाढ बनाओस् । पशुपन्छीहरूसँगको यो आत्मीयता हाम्रा चाडपर्वहरूको सुन्दर पाटो हो ।
सत्य, न्याय र इमानदारीको बाटोमा अडिग रहेर समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा यी पर्वहरूले हामीलाई दिओस् ।
जय देश, जय संस्कृति !

