२०८३ कात्तिक २१ , शनिबार 7, November 2026, Saturday

आयातित दियोले स्वदेशी पाला ओझेलमा

तिहार सुरु भएसँगै बुट्टासहितका माटाका दियो र पाला बजारमा छ्यापछ्याप्ती छन् । विक्रेताका अनुसार अहिले बजारमा माग बढेका यस्ता दियो र पाला भने भारतबाट आयात गरिएका हुन् । नेपालमै पर्याप्त दियो र पाला उत्पादन हुने भए पनि बजारमा भने भारतीय सामानको दबदबा छ ।

नेपालमा उत्पादन हुने पालाको तुलनामा भारतीय दियो र पालाको मूल्य चार गुणासम्म महँगो छ । तर पनि स्वदेशी बजारमा भारतीय दियो र पालाकै माग बढेको पाइन्छ । काठमाडौँको भेँडासिंहमा माटाका भाँडा बिक्री गर्दै आएकी नानुमाया कर्माचार्यको अनुभवमा तिहारमा पछिल्लो समय भारतबाट आउने बुट्टे दियो र पाला धेरै बिक्री हुने गरेको छ ।

उनका अनुसार नेपाली दियो प्रतिदर्जन ४० रुपैयाँ रहेकोमा भारतबाट आएका दियो भने प्रतिदर्जन २२० रुपैयाँ छ । नेपाली दियो सस्तो भए पनि धेरैले भारतबाट आएका बुट्टे दियो खोज्ने गरेकाले नेपाली दियो ओझेलमा परेको उनको भनाइ छ । सोही ठाउँका अर्का व्यापारी राजुमान शाक्यले भारतबाट आएका बुट्टे दियो महँगो भए पनि धेरै माग रहेको बताए ।

भारतबाट आयात गरिएका १० दर्जन बुट्टे दियो बिक्री गर्दा मुस्किलले दुई दर्जन मात्रै नेपाली दियो बिक्री भएको उनले बताए । उनका अनुसार छ/सात वर्षअघिसम्म तिहारमा चाहिने सामग्रीमध्ये दियो तथा पाला मात्रै भए पनि स्वदेशी उत्पादनले धानिरहेको थियो । अहिले नेपाली उत्पादनभन्दा पनि भारत र चीनका उत्पादनले बजार लिन थालेको छ ।

तिहारलाई ४५ लाख माला

दाजुभाइलाई लगाइदिने र घरमा समेत माला बनाएर सजाइने भएकाले तिहारमा सयपत्री फूलको माला धेरै खपत हुन्छ । नेपाल फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का अनुसार यस वर्ष सयपत्री फूलको माग १४ प्रतिशत वृद्धि भएको छ । अघिल्लो वर्ष तिहारमा करिब ३५ लाख थान सयपत्री फूलको माला खपत भएको थियो ।

यो वर्ष सयपत्री फूलको माला ४० लाख, मखमली माला चार लाख ७५ हजार, गोदावरी २० हजार र मिश्रित माला ३० हजार गरी जम्मा ४५ लाख २५ हजार फूलका माला माग हुने अनुमान फ्यानले गरेको छ । यसबाहेक तिहारमा ढाकाटोपीको बिक्री पनि बढ्न थालेको व्यापारीको भनाइ छ ।

असनका टोपी व्यापारी विनय श्रेष्ठको अनुभवमा तिहारमा टोपीको माग पहिले जस्तो नभए पनि धेरै घटेको छैन । बजारमा पाल्पाली र पुर्बेली ढाकाटोपी प्रख्यात छन् । यी ढाकाका लागि पनि भारतको गोरखपुरबाट कच्चा पदार्थ आयात गर्नुपर्ने श्रेष्ठले बताए । उनका अनुसार प्रतिथान टोपी ५० रुपैयाँँदेखि दुई हजार ५०० रुपैयाँमा बेच्न राखिए पनि तिहारमा २५० देखि ५०० रुपैयाँ पर्ने टोपी धेरै बिक्री भएका छन् ।

प्रकाशित मिति : २०८३ कात्तिक २१ गते शनिबार