यस वर्षको मनसुनमा नेपालभर समग्र वर्षा सरदरकै हाराहारीमा भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको ‘मनसुन २०८३ को अवस्था प्रतिवेदन’अनुसार प्रदेशगत रूपमा भने वर्षाको वितरण असमान देखिएको छ । कोशी र मधेश प्रदेशमा सरदरभन्दा कम वर्षा हुँदा कर्णालीमा सरदरभन्दा बढी वर्षा भएको छ ।
मौसम विज्ञान विभागले एलनिनोको प्रभावले मनसुनी वर्षा सरदरभन्दा कम हुने प्रक्षेपण गरेको थियो । प्रतिवेदन अनुसार कोशीमा सरदरको ८५.८ प्रतिशत र मधेशमा ८८.५ प्रतिशत वर्षा भएको छ । यी दुवै प्रदेशमा सामान्यभन्दा कम वर्षा भएको हो । त्यस्तै, बागमतीमा सरदरको १०८.६ प्रतिशत, गण्डकीमा १०४.४ प्रतिशत र लुम्बिनीमा १०६ प्रतिशत वर्षा भएको छ ।
सुदूरपश्चिममा सरदरको १०९.५ प्रतिशत वर्षा हुँदा कर्णालीमा सबैभन्दा बढी ११७.४ प्रतिशत वर्षा भएको प्रतिवेदनमा उल्लेख छ । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले असोज ८ देखि चार दिनसम्म अधिकांश भूभागमा लगातार वर्षा भएको थियो । सामान्यतया सरदरको ९० देखि ११० प्रतिशतसम्म वर्षा हुनुलाई सामान्य वर्षा मानिन्छ ।

यस आधारमा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा सामान्य वर्षा भएको देखिन्छ । कर्णालीमा सरदरभन्दा बढी तथा कोशी र मधेशमा सरदरभन्दा कम वर्षा भएको छ । १९९१ देखि २०२० सम्मको ३० वर्षको वर्षा अभिलेखलाई आधार मानेर सामान्य वर्षा निर्धारण गर्छ । यसलाई कुनै स्थानमा मनसुन अवधिमा सामान्यतया हुने वर्षाको तुलनात्मक मापदण्डका रूपमा लिइन्छ ।
औसत सामान्य हुनुको अर्थ सबै प्रदेशमा समान वर्षा भएको भन्ने होइन । यसवर्ष असार ५ मा भित्रिएको मनसुन असोज २८ गते बहिर्गमन भएको थियो । ११८ दिनको मनसुन अवधिमा जम्मा वर्षा १३२०.३ मिमि वर्षा भएको प्रतिवेदनमा उल्लेख छ । नेपाल मौसम विज्ञान विभागले देशभरका १२१ स्टेसनमा वर्षा मापन गरेको थियो । प्रतिवदेन अनुसार मनसुनजन्य विपद्बाट १३३ जनाको मृत्यु, १४ जना बेपत्ता र २२७ जना घाइते भए ।
तीन हजार ५३३ परिवार प्रत्यक्ष प्रभावित बने । यो रसुवा–भोटेकोशी बाढीबाहेकको विवरण हो । भोटेकोशी बाढीमा एक हजार ४६४ जनाको मृत्यु भएको छ भने पाँच हजार २८५ जना बेपत्ता छन् । गत वर्ष मनसुन अवधिमा १४० जनाको मृत्यु भएको थियो भने ३० जना बेपत्ता र ३०० घाइते भएका थिए । प्रभावित परिवारको संख्या पाँच हजार ९९५ थियो । यस वर्ष मनसुनमा भोटेकोशी बाढी, असोज ८ देखि ११ सम्मको भारी वर्षापछिको विपद् र बुढीगण्डकी बाढी प्रमुख घटनाका रुपमा रहे ।

