तिहार नजिकिँदै जाँदा नेपाली बजारमा भाइमसलाको कारोबार बढेको छ । भाइटीकामा दाजुभाइ तथा दिदीबहिनीलाई उपहार दिन र घरमा आउने पाहुनाको सत्कार गर्न प्रयोग हुने काजु, बदाम, ओखर, पिस्ता, किसमिस, खजुर र अञ्जिरजस्ता ड्राइफ्रुटको माग बढेसँगै बजारमा यसको मूल्यसमेत उकालो लागेको हो ।
यस वर्ष भाइमसला खरिद गर्दा गत वर्षको तुलनामा निकै महँगो मूल्य तिर्नुपरेको उपभोक्ताले गुनासो गरेका छन् । काठमाडौंका प्रमुख व्यापारिक केन्द्र असन र मखन गल्लीमा तिहारका लागि भाइमसला किन्ने ग्राहकको चहलपहल बढेको छ । तर, बजारमा उपलब्ध अधिकांश ड्राइफ्रुट तथा मसलाजन्य वस्तुको मूल्य गत वर्षको तुलनामा प्रतिकिलो १५० देखि ३०० रुपैयाँसम्म बढेको व्यापारीहरू बताउँछन् । केही वस्तुको मूल्य भने झन्डै दोब्बर पुगेको छ ।
यस वर्ष मूल्यवृद्धिको सबैभन्दा ठूलो असर पिस्तामा देखिएको छ । गत वर्ष प्रतिकिलो करिब दुई हजार रुपैयाँमा बिक्री भएको पिस्ताको मूल्य अहिले चार हजार रुपैयाँभन्दा माथि पुगेको छ । त्यस्तै, गत वर्ष एक हजार ५०० देखि एक हजार ६०० रुपैयाँसम्म रहेको बदामको मूल्य बढेर एक हजार ८०० देखि एक हजार ९०० रुपैयाँ पुगेको छ । ओखरको मूल्य पनि प्रतिकिलो ५०० रुपैयाँबाट बढेर ५५० देखि ६५० रुपैयाँसम्म पुगेको छ ।
असन र मखन बजारमा काजुको मूल्य प्रतिकिलो एक हजार ८०० देखि दुई हजार ५०० रुपैयाँसम्म रहेको छ । किसमिस ७०० देखि ८०० रुपैयाँ र मखना एक हजार ७०० देखि दुई हजार ४०० रुपैयाँमा बिक्री भइरहेको छ । नरिवलको मूल्य ८५० देखि एक हजार रुपैयाँसम्म पुगेको छ भने खुर्पानी एक हजारदेखि एक हजार २०० र अञ्जिर एक हजार ८०० देखि दुई हजार रुपैयाँसम्ममा कारोबार भइरहेको छ ।
त्यसैगरी, ल्वाङ प्रतिकिलो एक हजार ९०० देखि दुई हजार रुपैयाँ, सुकुमेल छ हजारदेखि छ हजार २०० रुपैयाँ र अलैँची तीन हजारदेखि तीन हजार २०० रुपैयाँसम्म पुगेको छ । दालचिनीको मूल्य प्रतिकिलो ६५० देखि ७०० रुपैयाँ रहेको छ । यस्तै, मिश्री १८० देखि २०० रुपैयाँ र काँचो बदाम २०० देखि २३० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । तिहारमा भाइमसलाको माग बढ्दै जाँदा नेपाली बजारको ड्राइफ्रुटमा विदेशी बजारमाथिको निर्भरता पनि स्पष्ट देखिएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८३/०८४ को साउनदेखि असोजसम्म नेपालले विभिन्न मुलुकबाट दुई अर्ब ४७ करोड ९२ लाख ९० हजार रुपैयाँ बराबरको ड्राइफ्रुट आयात गरेको छ । तीन महिनामै भएको यो ठूलो आयातले नेपाली बजारमा ड्राइफ्रुटको बढ्दो माग र त्यसलाई पूरा गर्न आयातमा निर्भर रहनुपरेको अवस्थालाई देखाउँछ । उक्त अवधिमा ४६ करोड ५७ लाख २६ हजार रुपैयाँ बराबरको काजु र ४७ करोड ९३ लाख ३५ हजार रुपैयाँ बराबरको बदाम आयात भएको छ ।
यी दुई वस्तुको आयात मूल्य मात्रै जोड्दा ९४ करोड ५० लाख ६१ हजार रुपैयाँ पुग्छ । भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि असोजसम्म ३२ लाख ४० हजार पाँच सय किलोग्राम सुपारी आयात भएको छ । यसै अवधिमा बोक्रासहितको ओखर १४ लाख ५१ हजार दुई सय किलोग्राम र बोक्रा हटाइएको ओखर ७४ हजार ५१ किलोग्राम आयात भएको उल्लेख छ । त्यस्तै, तीन महिनामा एक हजार ४१२ किलोग्राम सुक्खा खजुर, ४५ हजार ९२ किलोग्राम अन्य प्रकारका अञ्जिर र २२४ किलोग्राम ताजा अञ्जिर आयात भएको छ । यस अवधिमा अञ्जिर आयातमा मात्रै दुई करोड ८९ लाख २८ हजार रुपैयाँ खर्च भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

