दैनिक एक मुठी ओखर खाँदा मानिसहरुको मानसिक अवस्था अर्थात् मुड सुधार्न सहयोग पुग्ने एक अध्ययनले देखाएको छ । स्पेनको बार्सिलोना विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययन अनुसार लगातार आठ हप्तासम्म दैनिक ४० ग्राम ओखर सेवन गर्दा मुडमा सुधार देखिएको हो ।
फुड एन्ड फङ्सन जर्नलमा प्रकाशित अध्ययनमा २४ वर्ष औसत उमेर भएका ३१ जना स्वस्थ युवालाई सहभागी गराइएको थियो । १८ हप्तासम्म गरिएको क्लिनिकल परीक्षणमा सहभागीलाई आठ हप्तासम्म दैनिक ४० ग्राम ओखर खुवाइएको थियो । त्यसपछि ओखर सेवन नगरेको अवधिसँग नतिजा तुलना गरिएको थियो ।
अध्ययनले ओखर सेवनपछि समग्र मानसिक असन्तुलनमा उल्लेख्य कमी आएको देखाएको छ । त्यस्तै, रिस र थकानको स्तर घट्नुका साथै भावनात्मक अवस्थाका कारण बढी खाने बानी तथा खानासँग जोडिएको अपराधबोधका केही पक्षमा पनि सुधार देखिएको अनुसन्धानकर्ताले बताएका छन् ।
बार्सिलोना विश्वविद्यालयको टोरेबेरा क्याम्पसमा पोषण तथा खाद्य विज्ञानकी प्राध्यापक डा. मारिया इज्क्विएर्दो–पुलिडोको नेतृत्वमा भएको अनुसन्धानले ओखर र मानसिक स्वास्थ्यबीचको सम्बन्धमा आन्द्रामा रहेका सूक्ष्म जीवाण्ॉ (गट माइक्रोबायोटा) तथा सेरोटोनिनको भूमिकासमेत औंल्याएको छ ।
अनुसन्धानका क्रममा ओखर सेवन गर्ने सहभागीको पिसाबमा युरोलिथिन र ५–एचआईएएको मात्रा उल्लेख्य रूपमा बढेको पाइएको थियो । युरोलिथिन ओखरमा पाइने पोलिफिनोलको आन्द्रामा रहेका सूक्ष्म जीवाण्ॉद्वारा हुने रूपान्तरणबाट बन्ने पदार्थ हो । यसमा एन्टिअक्सिडेन्ट तथा सुन्निने प्रक्रिया कम गर्न सहयोग गर्ने गुण पाइन्छ ।
त्यस्तै, ५–एचआईएए सेरोटोनिनको मुख्य मेटाबोलाइट हो । सेरोटोनिनलाई मुड, भावनात्मक अवस्था र मानसिक स्वास्थ्यसँग सम्बन्धित महत्त्वपूर्ण रसायन मानिन्छ । अनुसन्धानकर्ताका अनुसार युरोलिथिन र सेरोटोनिनको चयापचय प्रक्रियाबीच देखिएको सम्बन्धले ओखर सेवन, आन्द्राको सूक्ष्म जीवाण्ॉ र भावनात्मक स्वास्थ्यबीचको सम्भावित सम्बन्धबारे थप अध्ययनको बाटो खोलेको छ ।
अध्ययनकी प्रमुख अनुसन्धानकर्ता डा. इज्क्विएर्दो–पुलिडोले ओखर सेवनपछि मुडमा सुधार देखिनुका साथै त्यससँग सम्बन्धित जैविक सूचकमा समेत परिवर्तन देखिनु महत्त्वपूर्ण भएको बताएकी छन् । उनका अनुसार यसले ओखरको सेवन र भावनात्मक स्वास्थ्यबीचको सम्बन्ध बुझ्न नयाँ अनुसन्धानको अवसर सिर्जना गरेको छ ।
यसअघि सन् २०२५ मा यही अनुसन्धान समूहले गरेको अर्को अध्ययनमा पनि ओखर सेवनपछि निद्राको नियमनमा महत्त्वपूर्ण भूमिका खेल्ने हर्मोन मेलाटोनिनको जैविक सूचक बढेको पाइएको थियो । दुवै अध्ययनले नियमित ओखर सेवनले मुड र निद्रासँग सम्बन्धित स्वास्थ्य पक्षमा सकारात्मक प्रभाव पार्न सक्ने सम्भावना देखाएका छन् ।
ओखरमा प्रोटिन, फाइबर, ट्रिप्टोफान, ओमेगा–३ फ्याटी एसिड, म्याग्नेसियम र पोलिफिनोल पाइन्छ । यीमध्ये ट्रिप्टोफान सेरोटोनिन निर्माण प्रक्रियासँग सम्बन्धित एमिनो एसिड हो भने ओमेगा–३ र पोलिफिनोलले मस्तिष्कको कार्यक्षमतासँग सम्बन्धित प्रक्रियामा भूमिका खेल्न सक्ने अध्ययनहरूले देखाएका छन् ।
यद्यपि, अनुसन्धानमा सहभागीको संख्या थोरै र अधिकांश महिला रहेकाले यसको नतिजालाई सबै उमेर समूह तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका व्यक्तिमा समान रूपमा लागू गर्न नसकिने अनुसन्धानकर्ताले बताएका छन् । ओखर सेवनले मुडमा पार्ने प्रभाव पुष्टि गर्न लामो अवधिसम्म र ठूलो जनसंख्यामा थप अध्ययन आवश्यक रहेको उनीहरूको भनाइ छ ।

