२०८३ कात्तिक २० , शुक्रबार 6, November 2026, Friday

आज धनतेरस : के-के खरिद गर्दा फलदायी हुन्छ ?

हिन्दु धर्म अनुसार कात्तिक महिना सबैभन्दा शुभ र फलदायक महिना मानिन्छ । यो महिना भगवान विष्णुको महिना हो । यस महिनामा भगवान विष्णु निद्रा अवस्थाबाट जाग्ने मान्यता छ । भगवान विष्णु निद्राबाट उठेपछि सबै मांगलिक कार्य शुरू गर्ने मान्यता रहँदै आएको छ ।

धनतेरस पर्व कात्तिक कृष्ण त्रयोदशीमा मनाइन्छ । धार्मिक मान्यताका अनुसार समुद्र मन्थनका क्रममा अमृतको कलश लिएर देवताका वैद्य धन्वतरी प्रकट भएका थिए । स्वास्थ्य रक्षा र आरोग्यका लागि यो दिन धन्वतरी देवताको उपासना गर्ने गरिन्छ ।

यो दिनलाई कुबेरको दिनका रुपमा पनि मानिन्छ । र धन सम्पन्नताका लागि कुवेरको पूजा गर्ने गरिएको छ । यस दिन मानिसले मूल्यवान धातुका साथमा नयाँ भाँडा कुडा र गरगहना किन्ने गर्छन् । त्यहि भाडा तथा मूर्तिमा दीपावलीको पूजा गर्ने प्रचलन रहेको छ । आज हिन्दूधर्मावलम्वीले धनतेरस पर्व मनाउँछन् ।

धनतेरसमा के–के किन्दा फलदायी हुन्छ ?

धनतेरसका दिन विशेष गरेर धातुका सामान किन्दा मानिन्छ । अझै पानीको गाग्रो, पूजा गर्दा प्रयोग हुने तामाको कलस, जस्ता पानी राख्ने भाडाहरु किन्दा एकदमै शुभ मानिने गरेको छ । यस्तै, सुन, चाँदी वा फलामबाट बनेको गणेशको मुर्ति, माटो वा फलामको दियो जस्ता सामाग्रीहरुको घरमा भित्र्याउनु एकदमै शुभ मानिन्छ ।

यसरी आर्थिक लाभका लागि पानीका भाडा, कारोबारमा विस्तारका लागि धातुको दियो, सन्तान सम्बन्धी समस्याका लागि तामाको थाली, स्वास्थ्य तथा आयुका लागि घन्ट, घरमा सुख शान्ति र प्रेमका लागि खाना पकाउने भाडा, नुन, कुचो आदि किन्ने परम्परा रहेको छ । यस्ता सामान खरिद गर्नाले माता लक्ष्मी प्रशन्न हुने र सदा धन वर्षा गरिदिने तथा सम्पूर्ण परिवारको सुख शान्ति र स्वास्थ्य हुने धार्मिक मान्यता छ ।

यसो गर्दा माता लक्ष्मी तथा कुबेर प्रशन्न हुने र धनवर्षा हुने जनविश्वास रहँदै आएको छ । हिजोआज मोटरवाहन, मोबाइल, कम्प्युटर जस्ता विलासिताका वस्तुहरू खरीद गर्न पनि यसै दिनलाई पर्खने गरिन्छ । रितिरिवाज र परम्परासँग जोडिन पुगेको यो ‘धनतेरस’ पर्व आर्थिक लगानीको सुरक्षणसँग पनि सम्बन्धित छ ।

यसले आर्थिक हैसियत र क्षमतालाई पनि प्रदर्शन गरिरहेको छ । यस पर्वलाई उच्च, मध्यम र निम्न वर्गले आ–आफ्नो हैसियतका आधारमा मनाउने गर्छन् । उच्च वर्गले यी दिन विभिन्न विलासीका वस्तुहरु पनि किन्ने गर्छन् भने मध्यम र निम्न वर्गले पर्वलाई टार्ने गरी आवश्यकता अनुसार मात्रै सामानहरु खरिद गर्ने गर्छन् ।

प्रकाशित मिति : २०८३ कात्तिक २० गते शुक्रबार