२०८३ कात्तिक २० , शुक्रबार 6, November 2026, Friday

ममता हत्या अभियोगमा नरेशको बयान, ‘शव लुकाएको स्वीकार’

पत्नी ममता काफ्ले भट्टको हत्या अभियोगमा अमेरिकामा मुद्दा खेपिरहेका नरेश भट्टले उनको शव बेडरुममा फेला पारेपछि टुक्राटुक्रा पारेको बताएका छन् । बिहीबार अदालतमा बयान दिने क्रममा उनले शव टुक्र्याउन थाले पनि शारीरिक शक्ति नपुगेपछि बीचमै रोकेको बयान दिएको फक्स न्यूजले उल्लेख गरेको छ ।

भट्टका अनुसार सन् २०२४ जुलाई ३० को बिहान उनले ममताको शव बेडरुमको भुइँमा देखेका थिए । उनको अनुहार र भुइँमा बान्ता थियो । बान्तामा रगत, खानाका कण, औषधिका क्याप्सुल र कीरा मार्न प्रयोग गरिने कृषि रसायन सेल्फोसको संकेत रहेको भट्टले अदालतमा बताए । उनले पत्नीलाई छोएर बोलाउने प्रयास गरेको र सीपीआरसहितका जीवन बचाउने उपाय अपनाएको दाबी गरेका छन् ।

तर त्यसपछि शव टुक्र्याउन थालेको उनको बयान थियो । सुरुमा खुट्टालाई शरीरबाट अलग गर्ने प्रयास गरेको उनले बताए । ममताको शव बाथरुममा सारेको तर, पहिलो दिन शारीरिक शक्ति नपुगेपछि काम रोक्नुपरेको उनको भनाइ थियो । त्यसपछि बेडरुमको ढोका छेकेर छोरीलाई लिन, खाना खुवाउन र सुताउन गएको उनले अदालतमा बताए । त्यो रात आफू सुत्न नसकेको पनि उनले बताएका छन् ।

परिवारले पूजापाठ गर्ने कोठामा गएको हो भन्ने प्रश्नमा भने आफूलाई डर लागेकाले नगएको जवाफ दिए । ममताको शव अहिलेसम्म फेला परेको छैन । भट्टमाथि हत्या, शव लुकाएको अभियोग छ । सन् २०२४ अगस्टमा पक्राउ परेयता उनी हिरासतमा छन् । ममता युभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्स थिइन् । उनी काममा उपस्थित नभएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

सुरुमा भट्टले आफूले पत्नीलाई अन्तिम पटक जुलाई २९ मा देखेको बताएका थिए । ममताका साथी र परिवारले भने उनले शिशु छोरीलाई छाडेर नजाने भन्दै प्रहरीलाई जानकारी गराएका थिए । भट्टले अगस्ट ५ मा पत्नी हराएको भन्दै प्रहरीमा निवेदन दिएका थिए । उनले ममताले घर छाड्ने र सम्बन्धविच्छेद गर्ने कुरा गरेको दाबी गरेका थिए । अगस्ट २२ मा दम्पतीको बेडरुम र बाथरुममा रगतका दाग फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २०८३ कात्तिक २० गते शुक्रबार