बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी हुँदा करिब एक करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
बिहीबार बिहान करिब १:३० बजे उद्योगभित्र रहेको फर्नेस आयल (फलाम पगाल्ने इन्जिनमा प्रयोग हुने तेल)को ट्यांकीमा विद्युत् सर्ट भई अचानक आगलागी भएको हो । आगलागी भएको उक्त ट्यांकी २ लाख लिटर क्षमताको रहेको प्रहरीले जनाएको छ ।
आगलागीको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट खटिएको प्रहरी टोली, स्थानीयवासी र दमकलको संयुक्त प्रयासमा बिहान करिब २:३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।
समयमै आगो नियन्त्रणमा लिइएका कारण उद्योगमा थप क्षति हुन पाएन भने घटनामा कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ । प्रारम्भिक अनुमान अनुसार एक करोड ५६ लाख बराबरको भौतिक क्षति देखिए पनि घटनाको वास्तविक कारण र क्षतिको पूर्ण विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

