२०८३ कात्तिक ६ , बिहीबार 22, October 2026, Thursday

दसैँ टीकाको आज दोस्रो दिन, मान्यजनको हातबाट टीका-जमरा ग्रहण गरिँदै

बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाउने क्रम जारी छ । नवदुर्गा भवानीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म नै दसैँको टीका र जमरा लगाएर आशीर्वाद ग्रहण गर्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

विजयादशमीको दिन आफ्नै घरपरिवारभित्र टीका–जमरा लगाएकाहरू आज दोस्रो दिन आफ्ना टाढा–टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर आशीर्वाद लिने गर्दछन् । नेपालका कतिपय स्थानमा विजयादशमीको दिन मात्र टीका लगाउने परम्परा भए पनि अधिकांश स्थानमा भने विजयादशमीदेखि सुरु भएको टीका लगाउने क्रम कोजाग्रत पूर्णिमासम्मै निरन्तर चल्ने गर्दछ ।

मान्यजन टाढा हुनेहरू आजदेखि कोजाग्रत पूर्णिमासम्म नै आशीर्वाद थाप्न जाने गर्दछन् । खासगरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दसैँको टीका थाप्ने र आशीर्वाद लिने चलन छ । त्यसैले आज टीकाको दोस्रो दिन पनि टीका लगाउन आउ–जाउ गर्नेहरूको चहलपहल जारी हुनेछ । कोजाग्रत पूर्णिमाको दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा गरेपछि १५ दिन लामो बडादसैँ समाप्त हुन्छ ।

प्रकाशित मिति : २०८३ कात्तिक ६ गते बिहीबार