२०८३ कात्तिक २ , आइतबार 18, October 2026, Sunday

कोहलपुरको होल्डिङ सेन्टरमा आएन दसैँको रौनक

कोहलपुर बसपार्कमा दसैँ मनाउन घर फर्किने यात्रुको चहलपहल छ । बसपार्कबाट दैनिक हजारौँ यात्रु ओहोरदोहोर गरिरहेका छन् । तर, त्यही बसपार्कको टर्मिनल भवनभित्र भने दसैँको रौनक छैन । पाँच महिनादेखि आश्रय लिइरहेका विस्थापित परिवारका लागि चाडपर्वभन्दा बिहान–बेलुकाको छाक र ओत लाग्ने ठाउँको चिन्ता ठुलो छ ।

दोस्रो तलाको सिँढीमा भेटिएका १४ वर्षीय मनोज पुन मगर मोबाइलमा पब्जी खेलिरहनुभएको थियो । बाजे बज्यैसँग होल्डिङ सेन्टरमा बसिरहेका उनका आमाबुवा रोजगारीका लागि भारतमा हुनुहुन्छ । होल्डिङ सेन्टरमा दसैँ लागेको छ कि छैन भन्ने प्रश्नमा उनले छोटो जवाफ दिए, ‘ठिकै छ ।’ उनको सहज जवाफभित्रै अभावमा खुम्चिएको बाल्यकालको झल्को देखिन्थ्यो ।

२०८३ वैशाख २६ गते कोहलपुर नगरपालिकाले वडा नम्बर ११ स्थित शान्तिनगर बस्तीमा डोजर चलाएपछि विस्थापित भएका परिवारमध्ये १०४ परिवार अहिले बसपार्कस्थित टर्मिनल भवनमा बसिरहेका छन् । वर्षौँदेखि बनाएका घर गुमाएका उनीहरूका लागि दसैँको खुसीभन्दा भविष्यको अनिश्चित्ता ठुलो बनेको छ ।

न आफ्नै घर छ, न स्थायी बसोबासको टुङ्गो । साँघुरो भवनभित्र गुजारा चलाउनु उनीहरूको बाध्यता छ । ‘हामीलाई दसैँ होइन, दशा हो,’ होल्डिङ सेन्टरमा बस्दै आएकी कविता सुनारले भनिन्, ‘जीवनभर दु:ख गरेर बनाएको झुप्रो सरकारले भत्काइदियो । यहाँ बसेर सोच्दासोच्दै डिप्रेसनमा गइसकेँ ।’

स्वास्थ्य समस्याका कारण कोलाहलमा बस्न कठिन हुने उनी नजिकै कोठा भाडामा लिएर बस्छिन् । तर, दिनको केही समय पुराना साथीसँग दु:ख साट्न होल्डिङ सेन्टर पुग्ने गरेको उनी बताउँछिन् । बिर्माकुमारी डाँगीको पीडा पनि उस्तै छ । जवानीमै श्रीमानले छाडेपछि दु:ख गरेर छोराछोरी हुर्काएकी उहाँ बुढेसकालमा अस्थायी आश्रयमा बस्नुपर्दा निराश छन् ।

साँझबिहान के खाने भन्ने चिन्ताले चाडपर्वको उत्साह हराएको उनको भनाइ छ । कल्पना कामीलाई पनि ठुलो घर होइन, सानो झुप्रो भए पुग्ने थियो । ‘बस्ने ठाउँ भइदिए हामी दु:ख गरेर खान सक्छौँ । होटलमा भाँडा माझेर भए पनि छोराछोरी पाल्छौँ,’ उनले भनिन् । उनको भनाइले विस्थापित परिवारको प्राथमिकता स्पष्ट पार्छ, उनीहरूलाई तत्काल ठुलो राहतभन्दा सुरक्षित बासको आवश्यकता छ ।

आफ्नै घर हुँदा दसैँको तयारी गर्ने, जमरा राख्ने र परिवारसँग चाड मनाउने गरेको सम्झनादेवी घर्तीलाई अझै ताजा छ । अहिले अर्काको भवनमा बसेर परम्पराअनुसार चाड मनाउनसमेत कठिन भएको उनी बताउँछिन् । मिना दमाईले यस पटक आमाबुबा र सासु ससुराको श्राद्ध गर्न नपाएको दु:ख सुनाइन् । बस्ने ठाउँको अभावले उनीहरूको दैनिक जीवनसँगै सामाजिक र सांस्कृतिक अभ्यास प्रभावित भएका छन् ।

स्थायी व्यवस्थापनको प्रतीक्षा

कोहलपुर नगर विकास समितिको स्वामित्वमा रहेको २८ बिघा क्षेत्रमा तीन दशकदेखि बसोबास गर्दैआएका ७५३ घरपरिवार वैशाख २६ गतेको डोजर कारबाहीपछि विस्थापित भएका थिए । कोहलपुर नगरपालिकाले २०८० भदौमा गरेको पारिवारिक लगत सङ्कलन अनुसार शान्तिनगर क्षेत्रमा ४१६ अव्यवस्थित बसोबासी, १७२ भूमिहीन दलित र १६३ भूमिहीन सुकुम्वासी थिए ।

विस्थापित परिवारलाई बसपार्कस्थित टर्मिनल भवनसहित विभिन्न तीन स्थानमा राखिएको छ । तर, पाँच महिना बितिसक्दा पनि स्थायी व्यवस्थापनको टुङ्गो लाग्न सकेको छैन । सुकुम्वासी परिवारका अगुवा गोविन्द परियारका अनुसार नगरपालिकाले वास्तविक सुकुम्वासीको पहिचानका लागि अध्ययन गरिरहेको छ । अध्ययनको काम तिहारसम्म सक्ने जानकारी पाएको उनले बताए ।

अस्थायी आश्रयले तत्काल सडकमा पुग्नबाट जोगाए पनि दीर्घकालीन समस्याको समाधान गर्न सकेको छैन । आवास, जीविकोपार्जन, बालबालिकाको शिक्षा र आधारभूत सेवामा पहुँच सुनिश्चित नगरी विस्थापित परिवारको समस्या समाधान हुँदैन । भूमिसम्बन्धी विवाद र सार्वजनिक जग्गाको व्यवस्थापनमा कानुनी प्रक्रिया आवश्यक भए पनि त्यसको असरमा परेका नागरिकको मानवीय आवश्यकतालाई बेवास्ता गर्न नमिल्ने जानकारहरु बताउँछन् ।

प्रकाशित मिति : २०८३ कात्तिक २ गते आइतबार