जाजरकोटमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको नलगाड नगरपालिका–८ खुमाउरे खोलास्थित भिरबाट अटो करिब ३०० मिटर तल खसेको हो ।
२०८३ असोज ३१ गते बिहान करिब ९:३० बजे दल्लीतर्फबाट तारगाड जाँदै गरेको लु प्र ०२००१ ह ०५२९ नम्बरको अटो दुर्घटनामा परेको थियो । अटो रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ निवासी २२ वर्षीय करण परियारले चलाएका थिए ।
दुर्घटनामा नलगाड नगरपालिका–९ का नाम नखुलेका एक जनाको मृत्यु भएको छ। मृतकको पहिचान खुल्न बाँकी छ । दुर्घटनामा जाजरकोटको नलगाड नगरपालिका–२ डाँडागाउँका ३५ वर्षीय प्रेम परियार, वडा नं.३ कट्केका २८ वर्षीय गोपाल परियार र अटो चालक करण परियार घाइते भएका छन् ।
उनीहरूको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रारम्भिक विवरणमा उल्लेख छ । अन्य घाइतेको विस्तृत विवरण खुल्न बाँकी छ । दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि नलगाड नगर अस्पताल लगिएको थियो। घटनाबारे जानकारी पाएपछि प्रहरी सहायक निरीक्षक मन्दिर थापाको कमान्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
प्रहरीको प्रारम्भिक विवरणअनुसार दुर्घटनास्थल मैदे प्रहरी पोस्टबाट करिब ५०० मिटर पूर्वमा पर्छ। अटो चालकसँग सवारी चालक अनुमतिपत्र लाइसेन्स नभएको पनि प्रारम्भिक विवरणमा उल्लेख छ । दुर्घटनामा अटोमा क्षति पुगेको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।

