२०८३ कात्तिक १ , शनिबार 17, October 2026, Saturday

चाडपर्व बिदामा बालबालिकालाई कसरी भुलाउने ?

दशैँतिहारका बेला लामो समय विद्यालय बिदा हुने कारणले बालबालिकालाई कसरी विभिन्न क्रियाकलापमा भुलाउने र उनीहरूको ‘स्क्रीन टाइम’ घटाउने भन्ने चिन्ताले सताउने गरेको अभिभावकहरू बताउँछन् । टेलिभिजन, मोबाइल फोन वा कुनै पनि ग्याजेटमा व्यस्त रहन खोज्ने भएका कारण उनीहरूको समय व्यवस्थापनलाई लिएर चिन्ता हुने गरेको उनीहरूले बताएका हुन् । त्यस्तै मध्येकी एक हुन् विमला प्रजापति ।

छोरीले बिदाका बेला धेरै टेलिभिजन हेर्ने गरेका कारण आफूलाई छोरीको समय कसरी बिताउने भन्ने कुराले सताउने गरेको उनी सुनाउँछिन् । ‘दशैँ आउन लाग्यो अब छोरीलाई लामो बिदामा दिनभरि के गरेर राख्ने भन्ने चिन्ता पर्न थालिसक्यो,’ प्रजापतिले भनिन्, ‘बिदाको दिन छोरी अलि ढिला उठ्छिन्, पूजाहरूमा इन्गेज गराउन खोज्छु । त्यसबाहेकको समय चाहिँ उनलाई के गर्न लगाउने भन्ने हुन्छ ।’

दशैँ बिदामा गृहकार्य पनि विद्यालयहरूले खासै नदिने र उनीहरूलाई पढ्न पनि कर नगर्ने गरेकाले समय कसरी बिताइदिने होला भन्ने चिन्तामा आफू रहने गरेको उनले बताइन् । विमला प्रजापतिजस्ता थुप्रै अभिभावकले बालबालिकाको समय कसरी सिर्जनात्मक बनाउने भन्ने जिज्ञाशा राख्ने गरेको बालबालिका तथा किशोरीकिशोरीलाई मनोसामाजिक परामर्श दिने मनोविद् पुष्पा अधिकारी बताउँछिन् ।

‘म आफू आमा पनि भएको कारणले अभिभावकको त्यस्तो चिन्ता महसुस गर्न सक्छु,’ उनले भनिन्, ‘चाडबाडका बेला बालबालिकालाई कसरी विभिन्न क्रियाकलाप सिकाउने भन्ने उपायहरू धेरै छन् ।’ चाडबाडका बेला मात्रै नभई अरू बेला पनि अभिभावकलाई बालबालिकाको मोबाइलको स्क्रीन कसरी कम गराउने भन्ने चिन्ता परिरहन्छ । खाना खाँदा होस् वा घरमा बसेको बेला बालबालिका मोबाइल वा ग्याजेटमात्रै धेरै हेर्छन् भन्ने गुनासो पछिल्ला वर्षहरूमा अभिभावकको हुने गरेको देखिन्छ ।

त्यसका लागि अभिभावकले पनि मोबाइलको कम प्रयोग गर्दामात्रै बालबालिकालाई बुझाउन सकिने मनोविद् अधिकारी बताउँछिन् । ‘आमाबुवाले मोबाइल चलाइरहेको देख्यो भने बालबालिकालाई तिमीले चलाउन हुँदैन भनेर मान्दैनन् । उनीहरूलाई मोबाइलको प्रयोग कम गराउन दशैँ तिहारका बेला आफ्नो संस्कृति सिकाउने, भान्सामा सँगै विभिन्न परिकार पकाउने र सरसफाइमा सँगै सहभागी गराउने गर्नुपर्छ,’ मनोविद् अधिकारीले भनिन् ।

उनले थपिन्, ‘यसो गर्दा उनीहरूले जिम्मेवारी पनि सँगै सिक्छन् । त्यसबाहेक चङ्गा कसरी बनाइन्छ, वा माटोबाट दियो कसरी बन्छ, दशैँतिहारमा परिकारहरू पकाउन के के सामानहरू चाहिन्छ भनेर किनमेल गर्न लैजाने गर्न सकिन्छ ।’ आमाबुवाले सँगै काम गर्‍यो भने समाजमा ‘आमाले यो गर्नुहुन्छ र बुवाले यो गर्नुहुन्छ’ भन्ने कामको विभाजन पनि नहुने र त्यसले बालबालिकाको मनस्थितिमा पनि राम्रो प्रभाव पर्ने उनी ठान्छिन् ।

‘आमाले मात्रै भान्साको काम गर्ने होइन र उहाँले गर्ने काम उत्तिकै महत्त्वपूर्ण हो भन्ने बालबालिकालाई सिकाउन पनि यो राम्रो हुन्छ,’ उनले भनिन्, ‘कति अभिभावकले तिमीले हात काट्छौ, फोहोर हुन्छ भनेर दिनुहुँदैन । तर उनीहरूलाई सुरक्षित राखेर सबै सिकाउनुपर्छ । तीन/चार वर्षदेखि नै उनीहरूले जिम्मेवारी के हो सिक्छ थाल्छन् भनिन्छ ।’

त्यसबाहेक प्रकृति नजिक पुग्ने गर्दा त्यसले बालबालिकालाई ‘हिलिङ’को काम पनि गर्ने उनी बताउँछिन् । बालबालिकालाई सहज हुने ठाउँमा हाइकिङ लैजाँदा उनीहरूलाई भुलाउन सजिलो हुने र उनीहरूले ताजा महसुस गर्ने उनी ठान्छिन् । ‘हाइकिङ जाँदा प्रकृतिसँग नजिक हुने भएकोले यसले तपाईँलाई शारीरिक र मानसिक दुवै रूपमा मद्दत गर्छ । यसले माइन्डफुल हुन पनि मद्दत गर्छ,’ उनले भनिन्, ‘बाहिर जान नमिलेको बेला घरभित्रै लुडो, चेस, उनोजस्ता खेलहरू खेलेर मोबाइलको स्क्रीन कम गर्न सकिन्छ ।’

प्रकाशित मिति : २०८३ कात्तिक १ गते शनिबार