२०८३ कात्तिक १ , शनिबार 17, October 2026, Saturday

पत्रकार किशोर श्रेष्ठ पक्राउबारे प्रहरीले भन्यो, ‘पक्राउ गरिएको छैन’

जनआस्था साप्ताहिकका सञ्चालक एवं प्रधान सम्पादक रहेको पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ परेको खबर सार्वजनीक भएको छ । नेपाल प्रहरीको साइबर ब्युरोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता तथा कलाकार हिमेश पन्तले दिएको जाहेरीको अनुसन्धानका लागि प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएको खबर सार्वजनीक भएको हो ।

साइबर ब्यूरोले घरमै पुगेर श्रेष्ठलाई धरपकड गरेको र पक्राउ गरिएको विषय सामाजिक सञ्जालमा यत्रतत्र रहेको छ । यद्यपी साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिपकराज अवस्थीले श्रेष्ठलाई पक्राउ नगरिएको जानकारी दिए । उनका अनुसार आज श्रेष्ठसँग छलफल गर्ने भए पनि बाहिर आएको जस्तो पक्राउ नगरिएको उनले बताएका छन् ।

‘उहाँलाई पक्राउ गरिएको छैन, बाहिर जे कुरा आइरहेको छ त्यस्तो होइन । आज उहाँसँग छलफल चाँही हुनसक्छ,’ उनले भने । ललितपुरस्थित श्रेष्ठको निवासमा प्रहरी पुगेको विषय आफूलाई जानकारी नभएको समेत उनले बताए । ‘अब उजुरी परेपछि सम्बन्धित पक्षसँग छलफल गर्नु हाम्रो दायित्व हो, तर श्रेष्ठलाई धरपकड र पक्राउ गरिएको भन्ने होइन,’ अवस्थीले भने ।

उहाँको घरमा अहिले प्रहरी पुगेको हो ? उहाँमाथि धरपकड भएको हो ? भन्ने प्रश्नमा उनले लोकपथसँग भने, ‘हाम्रो टिम चाँही होइन अरु कोही गएको भए मैले जान्ने कुरा भएन । पक्राउ गरिएको भन्ने विषय गलत हो ।’ श्रेष्ठले कमेडियन हिमेश पन्त र परिवारले अन्य व्यक्तिको जग्गा हडपेको दाबीसहित समाचार लेखेका थिए ।

त्यसयता पन्त र श्रेष्ठसहित जनआस्थासँग सामाजिक सञ्जालमा भनाभन चलिरहेको छ । पन्तको परिवारले जग्गा कब्जा गरेको सम्बन्धमा प्रकाशित समाचारपछि श्रेष्ठविरुद्ध जाहेरी परेको थियो । जाहेरीमा उल्लेख भएअनुसार, २०८३ असोज २९ गते अनलाइन श्रेष्ठको आधिकारिक फेसबुक प्रोफाइलमार्फत आफ्नो चरित्रहत्या हुने गरी सामग्री सम्प्रेषण गरिएको पन्तको आरोप छ ।

कलाकार तथा रास्वपाका केन्द्रीय सदस्य पन्तबारे उक्त अनलाइन तथा फेसबुक पेजबाट ‘कलाकार हिमेश, अरुको जग्गा हडप्नले कस्तो कानुन सिकाउने ?’ भन्ने शीर्षक राखेर कपोलकल्पित, भ्रामक, अर्नगल र बदनियतपूर्ण समाचार सामग्री प्रकाशित तथा प्रसारित गरिएको भन्दै शुक्रबार नेपाल प्रहरीको साइबर ब्युरोमा जाहेरी दर्ता भएको थियो ।

विद्युतीय माध्यममार्फत आफ्नो व्यक्तिगत चरित्रहत्या गर्ने, व्यावसायिक निष्ठामा आघात पुर्याउने तथा राजनीतिक जीवन र छविलाई ध्वस्त पार्ने दुराशययुक्त कार्य भएको भन्दै पन्तले पत्रकार श्रेष्ठलाई आवश्यक कानुनी कारबाही गर्न माग गरेका छन् । उक्त उजुरीसँगै पन्तले आवश्यक स्क्रिनसटहरू र नागरिकताको प्रतिलिपि समेत प्रमाणका रूपमा ब्युरोमा पेस गरेका छन् ।

प्रकाशित मिति : २०८३ कात्तिक १ गते शनिबार