२०८३ कात्तिक २ , आइतबार 18, October 2026, Sunday

दशैंमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्रु बाहिरिए

बडादसैँ मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख नजिक पुगेको छ । घटस्थापनादेखि कात्तिक १ गतेसम्म सार्वजनिक यातायातमार्फत ४ लाख ९६ हजार ३२३ जना यात्रुले उपत्यका छाडेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार असोज २५ गतेदेखि उपत्यका छाड्ने यात्रुको क्रम जारी छ । उहाँका अनुसार अघिल्ला दिनको तुलनामा आज उपत्यका छाड्ने यात्रुको सङ्ख्या केही घटेको छ ।

दसैँका लागि घर जाने यात्रुको चाप गोँगबुस्थित नयाँ बसपार्क, माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर र गौशाला लगायत क्षेत्रमा देखिएको छ । दसैँ मनाउन सर्वसाधारण फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाका हुँदै उपत्यकाबाट बाहिरिएका छन् ।

दसैँमा आफ्नो जन्मथलो पुगेर अभिभावकबाट टीका तथा आशीर्वाद ग्रहण गर्ने र आफन्तसँग भेटघाट गर्ने परम्पराका कारण हरेक वर्ष उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढ्ने गरेको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक २ गते आइतबार