२०८३ असोज २० , मंगलबार 6, October 2026, Tuesday

कोहलपुरका युट्युबर हिमान्सु शाही पक्राउ

बाँकेको कोहलपुरस्थित थापा मेडिकलमा स्वास्थ्यकर्मीमाथि महिलाले हातपात गरेको घटनाको भिडियो खिचेर सामाजिक सञ्जालमा प्रसारण गरेको आरोपमा एक युट्युबर पक्राउ परेका छन् । सहारा एचडी टिभी नामक युट्युब च्यानल सञ्चालन गर्दै आएका हिमान्सु शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

स्वास्थ्य जाँचका लागि मेडिकल पुगेकी एक युवतीमाथि स्वास्थ्यकर्मीले दुव्र्यवहार गरेको आरोप लगाउँदै महिलाले स्वास्थ्यकर्मीमाथि झापड हानेको भिडियो शाहीको च्यानलबाट सार्वजनिक भएको थियो । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि घटना योजनाबद्ध रूपमा खिचेर सार्वजनिक गरिएको भन्दै शाहीमाथि कारबाहीको मागसमेत उठेको थियो ।

नेपाल पत्रकार महासंघ बाँकेले समेत विज्ञप्ति जारी गर्दै पत्रकारिता आचारसंहिताविपरीतका गतिविधि गर्ने व्यक्ति पत्रकार हुन नसक्ने जनाएको थियो । महासंघले त्यस्ता गतिविधिमार्फत आर्थिक लाभ लिन खोज्ने व्यक्तिमाथि कारबाही हुनुपर्ने बताएको थियो । स्थानीय पत्रकारका अनुसार शाहीले यसअघि पनि विवादित घटनाका भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आएका थिए । उनी नेपाल पत्रकार महासंघका सदस्य भने नरहेको बताइएको छ ।

प्रकाशित मिति : २०८३ असोज २० गते मंगलबार