दसैं लगायतका चाडपर्वको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आसपासका क्षेत्रमा चंगा, बेलुन र ड्रोन नउडाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले सर्वसाधारणलाई आग्रह गरेको छ ।
विमानस्थल कार्यालय गौचरले प्रेस विज्ञप्ती जारी गर्दै विमानस्थल तथा विमानको उडान–अवतरण मार्गमा चंगा, बेलुन तथा ड्रोनजस्ता वस्तु उडाउँदा उडान सुरक्षामा गम्भीर चुनौती उत्पन्न हुन सक्ने जनाउँदै सर्वसाधारणलाई सचेत गराएको हो ।
दसैंको समय सुरु भएसँगै विमानस्थल तथा आसपासका क्षेत्रमा चंगा उडाउने गतिविधिमा उल्लेख्य वृद्धि हुने गरेको जनाउँदै चंगा, डोरी, धागो, बेलुन वा ड्रोन विमानस्थलमा जहाज उडान तथा अवतरण क्षेत्रमा प्रवेश गर्दा वायुयानको सुरक्षित उडान र अवतरणमा अवरोध पुग्नुका साथै उडान सुरक्षामा प्रतिकूल असर पर्न सक्ने भनेको छ ।
विमानस्थल आसपास यस्ता गतिविधि सञ्चालन गर्न प्रचलित नागरिक उड्डयनसम्बन्धी कानुनले समेत निषेध गरेको कार्यालयले स्मरण गराएको छ । कार्यालयले स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी सर्वसाधारणलाई सचेत गराउँदै आएको पनि छ ।
कार्यालयले विशेषगरी अभिभावक तथा समुदायलाई आफ्ना बालबालिकालाई विमानस्थल तथा आसपासका क्षेत्रमा चंगा, बेलुन र ड्रोन उडाउनमा संलग्न नगराउन आग्रह गरेको छ ।
