२०८३ असोज १८ , आइतबार 4, October 2026, Sunday

नरैनापुरका सबै विद्यालय अब डिजिटल प्रणालीमा

बाँकेको नरैनापुर गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार तथा विद्यालयको नियमित अनुगमनका लागि पालिकाभित्रका सबै माध्यमिक विद्यालयहरुलाई डिजिटल प्रणालीमा आबद्ध गरेको छ । पालिकाभित्रका सबै सामुदायिक तथा धार्मिक माध्यामिक विद्यालयमा शिक्षकको अनलाइन हाजिरी, सीसीटीभी निगरानी तथा शैक्षिक व्यवस्थापन सूचना प्रणाली–ईएमआईएस लागू गरिएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीका अनुसार डिजिटल प्रणालीले शिक्षक तथा कर्मचारीको उपस्थिति अभिलेख व्यवस्थित गर्नुका साथै विद्यालयका शैक्षिक तथा प्रशासनिक गतिविधिको अनुगमनमा सहजता हुनेछ । गाउँपालिकाले विद्यालयका शिक्षक तथा कर्मचारीलाई ईएमआईएसका पूर्ण सुविधाको प्रयोग सम्बन्धी तालिमसमेत दिएको गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले बताए ।

उनले शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै विद्यालयको शैक्षिक तथा प्रशासनिक गतिविधिलाई व्यवस्थित गर्ने अभियान अनुसार यी कार्यहरु अघि बढाइएको जनाएका छन् । अध्यक्ष शाहका अनुसार गाउँपालिकाले आफ्नो प्रशासनिक कामकाजलाई समेत कागजविहीन प्रणालीतर्फ अघि बढाएको छ । पहिलो चरणमा सूचना प्रविधि, शिक्षा र प्रशासन शाखामा डिजिटल कार्यप्रणाली लागू गरिएको छ ।

यसैगरी, आन्तरिक राजस्व कार्यालय नेपालगन्जसँगको सम्झौतापछि गाउँपालिकाले स्थायी लेखा नम्बर-प्यान र करचुक्ता प्रमाणपत्र लगायतका करदाता सेवा स्थानीय तहमै उपलब्ध गराउन थालेको छ । गाउँपालिकाले डिजिटल प्रणालीलाई क्रमशः समग्र सेवा प्रवाहमा विस्तार गर्ने योजना बनाएको जनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज १८ गते आइतबार