गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमीचौरमा सडक भासिएपछि रेसुङ्गा विमानस्थलतर्फ जाने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक भासिएसँगै उक्त सडकखण्डमा यातायात सञ्चालन हुन सकेको छैन ।
सडक भासिँदा रेसुङ्गा विमानस्थलसँगै तम्घास–सिमीचौर–राङबास–खज्र्याङ हुँदै रिडी जाने सडकसमेत प्रभावित भएको छ । सिमीचौरमा करिब ८० मिटर पक्की सडक भासिएपछि उक्त सडकखण्डमा यातायात सञ्चालन हुनसकेको छैन ।
मोटरसाइकलसमेत जोखिम मोलेर मुस्किलले आवतजावत गरिरहेका छन् । सडक भासिएपछि रु एक करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । पहिरोका कारण स्थानीय दुईवटा घरसमेत उच्च जोखिममा परेका छन् ।
स्थानीय तिलबहादुर कुँवरले पहिरोबाट मुस्किलले ज्यान जोगाएको बताउँदै वर्षा हुँदा कतै घर पनि बगाएर लैजाने हो कि भन्ने त्रास कायमै रहेको बताए । सघन सहरी विकास कार्यालय पाल्पाले ‘एकीकृत सडक स्तरोन्नति कार्यक्रम’ अन्तर्गत निर्माण गरेको उक्त सडक गत असार मसान्तमा निर्माण सम्पन्न भएको थियो ।
नर्माण सम्पन्न भएको एक वर्ष नपुग्दै अविरल वर्षाका कारण सडक भासिएको हो । सघन सहरी विकास कार्यालयका इन्जिनियर घनश्याम यादवले उक्त सडकमा तत्काल यातायात सञ्चालन सहज बनाउनका लागि एकदुई दिनभित्रै अस्थायी मार्ग खोल्ने तयारी भइरहेको बताए । भासिएको पक्की सडक पूर्ण रूपमा पुनर्निर्माण गर्न भने केही समय लाग्ने उनले बताए ।
