कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुल भत्किएको छ । महाकाली नदीको बाढीले आज बिहान करिब आठ बजे झोलुङ्गे पुलको एक भाग पूरै भत्काएको हो ।
नदीको बीच भागमा रहेको एक पिलर भत्किएपछि पुलको भाग पनि नदीमा बगेको प्रत्यक्षदर्शीले जनाएका छन् । प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१३ तर्फबाट छैटौं नम्बर र दोधारा चाँदनी गाउँपालिकातर्फबाट तेस्रो नम्बरको भाग भत्किएको हो ।
सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक जगतप्रसाद जोशीका अनुसार दोधारा–चाँदनीको झोलुङ्गे पुलमा पुगेको क्षतिबारे अध्ययन गर्न प्राविधिक टोली पठाउने तयारी भइरहेको छ ।
उनले भने, ‘मैले पनि सिडिओ सा’बबाट झोलुङ्गे पुलमा पुगेको क्षतिबारे जानकारी पाएँ । जानकारी पाउनेबित्तिकै प्राविधिक टोली जाने तयारी भइरहेको छ । प्राविधिक टोलीले विस्तृत अध्ययन गरेपछि मात्रै क्षति यकिन गर्न सकिन्छ ।’
अस्वाभाविक रुपमा माथि उठेको थियो एउटा भाग

दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने सो पुल २०६१ सालमा निर्माण सम्पन्न भएको थियो । आज बिहान करिब चार–पाँच बजे सो पुलबाट ओहोरदोहोर गर्ने स्थानीयले पुलको एक भाग अस्वाभाविक रुपमा माथि उठेको देखेका थिए । त्यसबारे प्रहरीलाई जानकारी पनि गराइएको थियो ।
तर आज बिहान करिब आठ बजेतिर माथि उठेको सो भाग नदीमा खसेको रावलले बताए । पुलको बीचको एक भाग भत्किएपछि दोधाराचाँदनी र भीमदत्तनगरबीच आउ–जाउ गर्ने सो बाटो बन्द भएको छ । अब आउजाउ गर्दा करिब दुई किलोमटर माथि पुगेर पक्की पुलबाट यात्रा गर्नुपर्ने रावलले बताए ।
आवतजावत रोकियो, मर्मतपछि मात्र खुलाइने

एसियाकै दोस्रो लामो कञ्चनपुरको दोधारा–चाँदनी झोलुङ्गे पुलको आवागमन रोकिएको छ । पुलको केही भागमा फलामका पाताहरू अस्वाभाविक रूपले माथि उठेको पाइएपछि आवाागमन बन्द गरिएको प्रहरीले जनाएको छ ।
दोधारा–चाँदनी नगरपालिकालाई कञ्चनपुर सदरमुकामसँग जोड्ने पुलको केही भागमा फलामका पाता नट, बोल्ट फुत्किएर माथितिर उठेको पाइएपछि आवागमन बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले जानकारी दिए ।
उनकाअनुसार अहिले झोलुङ्गे पुल भएर हिँड्ने दुईपांग्रे सवारीसाधन र पैदल यात्रीलाई आउजाउमा पूर्ण रूपमा बन्देज लगाइएको छ । पुलको मर्मत सम्भार गरेपछि मात्रै आवागमन सुचारु गरिने प्रहरीले जनाएको छ । महाकाली नदीमाथि बनेको यो पुल एसियाकै दोस्रो लामो पुल हो । यसको लम्बाइ १ हजार ४५२ दशमलव ९६ मिटर रहेको छ ।
