मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यको करिब ३५ अर्ब रुपैयाँ ठूलो लगानीमा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको साढे चार वर्ष पुग्न लाग्दासमेत नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।
विमानस्थलबाट नियमित उडान सञ्चालन नहुँदा विमानस्थललाई नै केन्द्रमा राखेर अर्बौँ रुपैयाँ लगानी गरेका रुपन्देहीका निजी क्षेत्रका व्यवसायी तथा स्थानीय बासिन्दाहरूमा लगानी डुब्ने चिन्ता पुनः बढेको छ ।
विमानस्थललाई केन्द्रमा राखेर रूपन्देही र आसपासका क्षेत्रमा होटल, पर्यटन, यातायात तथा विभिन्न उद्योग व्यवसायमा ठूलो लगानी गरेका व्यवसायीहरूले नियमित उडानका लागि पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) लुम्बिनीका पूर्वअध्यक्ष सागर अधिकारीका अनुसार विमानस्थल सञ्चालनमा आउने र लुम्बिनीमा पर्यटकको आगमन बढ्ने विश्वासमा निजी क्षेत्रले राज्यको भन्दा दोब्बर बढी लगानी गरेको छ ।
तर लामो समयसम्म उडान नियमित नहुँदा निजी क्षेत्रको लगानी जोखिममा परेको र अपेक्षित प्रतिफल पाउन नसकिएको उनले बताएका छन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यका अनुसार उडान नियमित गराउन विगतका तत्कालीन सरकारहरूसँग पटक–पटक माग गर्दा पनि ठोस समस्या समाधान हुन सकेको थिएन ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हालेपछि व्यवसायीहरूले पुनः प्रधानमन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलाई भेट गरी उडान सञ्चालनका लागि पहल गर्न आग्रह गरेका छन् ।
यसैबीच, गत सेप्टेम्बर २३ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले बोइङ ७३७ म्याक्स–८ विमानमार्फत दुबई–पोखरा दैनिक उडान सुरु गरेपछि भैरहवाका व्यवसायीहरूमा पनि गौतम बुद्ध विमानस्थलबाट पुनः नियमित उडान सुरु हुने आशा पलाएको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म ६९ हजार ३७७ यात्रुले अन्तर्राष्ट्रिय सेवा लिएका छन् भने कुल एक हजार २२२ वटा सेड्युल तथा चार्टर उडानहरू भएका छन् । जसमा ३१ हजार ९३२ यात्रु नेपाल आएका र ३७ हजार ४४५ यात्रु बाहिरिएका छन् ।
विमानस्थलमा पछिल्लोपटक सन् २०२६ मार्च २५ मा थाइ एयर एसियाले बैङ्कक–भैरहवा–बैङ्कक उडान गरेको थियो । विमानस्थलका सूचना अधिकारी पवन अग्रहरीका अनुसार त्यसयता कुनै पनि अन्तर्राष्ट्रिय उडान भएको छैन र तत्कालका लागि उडानको नयाँ सेड्युलसमेत प्राप्त भएको छैन ।
सरकारले पार्किङ तथा इन्धन लगायतका क्षेत्रमा छुट र सहुलियतको व्यवस्था गरे तापनि विमानस्थल परिसरबाटै भिसा सेन्टर, नो अब्जेक्सन लेटर, स्वास्थ्य परीक्षण, बिमा तथा म्यानपावरसम्बन्धी सेवाहरू उपलब्ध हुन नसक्दा पूर्ण रूपमा सञ्चालनको वातावरण बन्न नसकेको व्यवसायीहरूको गुनासो रहेको छ ।
धावनमार्ग र टर्मिनल भवन लगायतका भौतिक पूर्वाधारहरू पूर्ण रूपमा तयार रहेकाले लुम्बिनीको अन्तर्राष्ट्रिय पर्यटकीय सम्भावनालाई साकार पार्न सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कम्तीमा एउटा अन्तर्राष्ट्रिय वायुसेवाको नियमित उडान सुनिश्चित गर्नुपर्नेमा व्यवसायीहरूले जोड दिएका छन् ।
