नेपालगन्ज रङ्गशालामा उच्च क्षमताको प्रकाश प्रणाली (फ्लडलाइट) जडान गरिँदैछ । सरकारले मुख्य सहरमा व्यावसायिक खेलकुदको विकाससँगै रात्रिकालीन प्रतियोगिता सञ्चालन गर्ने योजनाअन्तर्गत यहाँको रङ्गशालालाई फ्लडलाइट जडानसहित स्तरोन्नति गर्न लागेको हो । फ्लडलाइट जडानपछि रात्रिकालीन समयमा खेलकुद गतिविधि सञ्चालन गर्न सहज भइ खेल पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
फ्लडलाइट जडानले यहाँको खेलकुद गतिविधिलाई नयाँ गति दिनेछ । यहाँ गर्मीका कारण दिउँसो खेलकुद गतिविधि सञ्चालन गर्न कठिन छ । फ्लडलाइट जडान भएपछि राति पनि नियमित खेल, अभ्यास र प्रतियोगिता सञ्चालन गर्न सकिनेछ । यसले खेलकुदको दायरा विस्तारका साथै नेपालगन्जलाई खेल पर्यटन गन्तव्यका रूपमा विकास गर्न समेत सहयोग पुर्याउनेछ । यस्ता कार्यक्रम आधुनिक पूर्वाधार विस्तारसँगै खेलाडी, दर्शक तथा आयोजकलाई समेत सहज वातावरण निर्माण हुनेछ ।
उक्त प्रविधिको जडानसँगै फुटबल मैदानको आधारभूत पूर्वाधार सुधारमा ध्यान दिइनुपर्ने आवश्यकता औँल्याइएको छ । जिल्ला खेलकुद विकास समिति बाँकेका पूर्वअध्यक्ष मोहित शाहले मैदानको सतह, पानी निकास लगायतका पक्षमा सुधारको खाँचो औँल्याए । त्यस रङ्गशालामा खेलकुद तथा अन्य कार्यक्रम सञ्चालनबाट आम्दानीका स्रोत बढ्न गई मर्मत सम्भारलाई निरन्तरता दिन सकिने सरोकारवालाको भनाइ छ ।
नेपाल सरकारको खेलकुद पूर्वाधार विकास योजनाअन्तर्गत पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)बीच यसैसाता खेलकुद संरचनाको निर्माण तथा स्तरोन्नतिका लागि सम्झौता भएको थियो । सम्झौताअनुसार आगामी तीन वर्षभित्र रङ्गशाला लगायत निश्चित खेलकुद पूर्वाधारमा रु २५ करोडसम्म लगानी गरी आधुनिक फ्लडलाइट जडान तथा मर्मत सम्भारका काम गर्ने लक्ष्य राखिएको छ । लामो समयदेखि रङ्गशालालाई आधुनिक र सुविधा सम्पन्न बनाउन पर्ने माग हुँदै आएको थियो ।
दशौंका केही खेलहरू हुने
आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरिने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेलहरू नेपालगन्ज रंगशालामा सञ्चालन गरिने भएका छन् । सोही उद्देश्यले शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलको नेतृत्वको टोलीले सोमबार नेपालगन्ज रंगशालाको निरीक्षण तथा अनुगमन गरेको छ ।
साबिक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महेश चन्दका अनुसार दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सम्बन्धमा स्थलगत जानकारी लिन सुर्खेत पुगेको मन्त्रालयका सचिव पौडेल र सहसचिव रमेश ढकाल लगायतले फर्किने क्रममा नेपालगन्ज पुगेर रंगशालामा रहेका खेल पूर्वाधारहरुको निरीक्षण गरेका हुन् ।
सो क्रमममा उनीहरूले रंगशालाको मुख्य मैदान, पौडी पोखरी, सुटिङ रेन्ज, कभर्ड हल लगायतको निरीक्षण गरी दशौं राष्टिय खेलकुद प्रतियोगिताका करिब ६ वटा खेलहरू नेपालगन्जमा खेलाउने तयारी गर्नुपर्ने बताएका हुन् । समितिका प्रमुख चन्दले भने, ‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्व तयारीका क्रममा खेलकुद मन्त्रालयका सचिव र सहसचिव लगायतले नेपालगन्ज रंगशालामा सञ्चालन हुने सम्भावित खेलस्थलहरूको अनुगमन तथा निरीक्षण गर्नुभएको हो ।”
सो अवसरमा साबिक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले नेपालगन्ज रंगशालाका विभिन्न खेलस्थल तथा पूर्वाधारबारे जानकारी गराएका थिए । नेपालगन्जमा सम्पन्न भएको आठौं राष्ट्रिय खेलकुदका लागि ठुला लगानीका साथ धेरै खेलकुद पूर्वाधारहरू तयार पारिएका थिए । उचित संरक्षण र रखेदेखका लागि बजेट नहुँदा खेल पूर्वाधारहरूको अवस्था दयनीय बन्दै गएको बेला नेपालगन्जमा दशौं खेलकुदका केही खेलहरू आयोजन गरिए पूर्वाधारको संरक्षण र रेखदेखमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
