बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले मूल नहरबाट किसानका खेतसम्म पानी पुर्याउने उद्देश्यले शाखा तथा उपशाखा नहर विस्तारको काम अघि बढाएको छ । आयोजनाले खजुरा र बैजनाथ गाउँपालिकाका थप क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्न गुरुवागाउँ शाखा तथा उपशाखा नहर निर्माणको तयारी तीव्र पारेको हो ।
आयोजनाका निर्देशक राजु आचार्यका अनुसार पश्चिम मूल नहरअन्तर्गत गुरुवागाउँ शाखा र उपशाखा नहर निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण प्रक्रिया अघि बढाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३ अनुसार असोज ८ गते सूचना जारी गरी आयोजनाका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया सुरु गरेको हो ।
जग्गा अधिग्रहणअन्तर्गत खजुरा गाउँपालिकाका वडा नं. १,२,५ र ८ तथा बैजनाथ गाउँपालिकाका वडा नं. ५ र ६ मा पर्ने जग्गा समेटिएको छ । आयोजनाका अनुसार सम्बन्धित जग्गाधनी वा कानुनी वारिसले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र जिल्ला प्रशासन कार्यालय वा सिक्टा सिँचाइ आयोजनाको कार्यालयमा निवेदन दिई मुआब्जा दाबी गर्न सक्नेछन् ।
अधिग्रहण गरिने जग्गामा घर, गोठ, पर्खाल तथा रुख–बिरुवा भए त्यसको विवरणसमेत निवेदनमा खुलाउनुपर्नेछ । त्यस्ता संरचना तथा रुख–बिरुवा बढीमा एक महिनाभित्र हटाई जग्गा खाली गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । सिक्टा सिँचाइ आयोजनाको उद्देश्य राप्ती नदीको दुवै भेगमा रहेका खेतीयोग्य जमिनमा भरपर्दो सिँचाइ सुविधा पुर्याउनु हो ।
पश्चिम मूल नहरबाट राप्ती नदीको पश्चिम भेगका ३३ हजार ७६६ हेक्टर र पूर्वी मूल नहरबाट पूर्वी भेगका करिब नौ हजार हेक्टर गरी कुल ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने आयोजनाको लक्ष्य छ । हालसम्म करिब २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको निर्देशक आचार्यले बताए ।
शाखा तथा उपशाखा नहर विस्तारसँगै मूल नहरबाट पुगेको पानी खेतसम्म पुर्याउने संरचना विकास हुने भएकाले आयोजनाको प्रभाव क्षेत्रसमेत विस्तार हुने अपेक्षा गरिएको छ । यसले वर्षामा मात्र निर्भर रहनुपर्ने किसानलाई बाह्रै महिना खेती गर्ने वातावरण बनाउन सहयोग पुग्ने आयोजनाको भनाइ छ । आयोजनाले चालु आर्थिक वर्ष २०८३–०८४ का लागि दुई अर्ब ५५ करोड रुपैयाँ बजेट पाएको छ ।
गत आर्थिक वर्ष २०८२–०८३ मा एक अर्ब ५७ करोड रुपियाँ विनियोजन भएकोमा चालु आर्थिक वर्षमा करिब एक अर्ब रुपैयाँ बजेट वृद्धि भएको हो । आयोजनाअन्तर्गत अहिले डुडुवा शाखा नहर निर्माणको काम भइरहेको छ । सिधनिया, प्रसेनीपुर र अकलघरवा शाखा नहर निर्माणका लागि ठेक्का सम्झौता भई काम अघि बढाइएको छ ।
गुरुवागाउँ तथा अकलघरवा शाखा र उपशाखा तथा पूर्वी मूल नहरका बाँकी कामका लागि पनि पूर्वतयारी भइरहेको निर्देशक आचार्यले जानकारी दिए । आयोजनाले शाखा तथा उपशाखा नहर निर्माणलाई विस्तार गर्दै लगेपछि यसअघि मूल नहर नजिक भएर पनि सिँचाइको प्रत्यक्ष लाभ लिन नसकेका क्षेत्रका किसानसमेत लाभान्वित हुने अपेक्षा गरिएको छ ।
सिक्टाको लक्ष्यअनुसार सिँचाइ क्षेत्र विस्तार गर्न भने नहर निर्माणसँगै जग्गा व्यवस्थापन, निर्माणको गुणस्तर, समयमै काम सम्पन्न गर्ने क्षमता र पानीको प्रभावकारी वितरणलाई पनि समान प्राथमिकता दिनुपर्ने देखिन्छ । आयोजना निर्देशक आचार्यका अनुसार सिक्टाको हालसम्म ५१ प्रतिशत भौतिक प्रगति भएको छ ।
पूर्वाधार निर्माणमा हालसम्म २४ अर्ब रुपैयाँ खर्च भइसकेको छ । आर्थिक वर्ष २०६२–०६३ मा सुरु भएको आयोजना अन्तर्गत राप्तीसोनारी गाउँपालिका–१ अगैयास्थित राप्ती नदीमा ३१७ मिटर लामो ब्यारेज निर्माण गरी ४२ हजार ७६६ हेक्टर भूमिमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको हो ।
