२०८३ असोज ११ , आइतबार 27, September 2026, Sunday

बाढी र पहिरोमा परी १२ को मृत्यु, सात जना बेपत्ता

लगातारको वर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण देशभर १२ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा मात्रै थप ६ जनाको मृत्यु भएको हो ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार असोज ८ गतेदेखि हालसम्म बाढी, पहिरो र अविरल वर्षाका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ । यस्तै, ७ जना सम्पर्कविहीन छन् । सम्पर्कविहीन हुनेमा पाल्पाका एक जना तथा पछिल्लो २४ घण्टामा बागलुङका चार जना र म्याग्दीका दुई जना छन् ।

उनीहरूको खोजी कार्य जारी रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रलाई सुरुदेखि नै उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको थियो । कालीगण्डकी र नारायणी नदी बेसिनका विभिन्न स्थानमा अति भारी वर्षा भएपछि नदीको बहाव बढ्नुका साथै कटानको जोखिमसमेत बढेको छ ।

नवलपुर, चितवन, पाल्पा, पर्वतलगायत जिल्लामा बाढी, कटान र पहिरोको प्रभाव देखिएको छ । पर्वतमा केही घर बाढीले बगाए पनि जोखिमयुक्त बस्तीका नागरिकलाई समयमै सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति हुन नपाएको महतले बताइन् ।

नवलपरासी क्षेत्रमा मात्रै एक हजार १०० भन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्राधिकरणले जनाएको छ । प्रभावित क्षेत्रमा उद्धार कार्य जारी छ । म्याग्दीमा उद्धारका लागि दुईवटा हेलिकोप्टर परिचालन गरिएको छ ।

प्राधिकरणले मौसम पूर्वानुमान महाशाखाबाट प्राप्त सूचना तथा जोखिमको अवस्थाका आधारमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, स्थानीय तह तथा अन्य सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिरहेको छ ।

रेड, एम्बर र येलो अलर्टका आधारमा जोखिमयुक्त क्षेत्र पहिचान गरी स्थानीय प्रशासन, सुरक्षा निकाय तथा स्थानीय तहलाई पूर्वतयारी र उद्धारका लागि परिचालन गरिएको महतले बताइन् । नदी बेसिन, वर्षाको अवस्था र प्रभावित क्षेत्रबारे ह्वाट्सएप, भाइबरलगायत डिजिटल माध्यमबाट समेत नियमित सूचना आदानप्रदान भइरहेको छ ।

यसैगरी, हिमाली क्षेत्रमा भारी वर्षासँगै हिमपातको सम्भावना रहेकाले पर्यटक तथा ट्रेकर्सलाई लक्षित गरी छुट्टै सूचना जारी गरिएको छ । हालसम्म ९ हजारभन्दा बढी पर्यटकलाई सुरक्षित स्थानमा झारिएको प्राधिकरणले जनाएको छ । विदेशी पर्यटक तथा यात्रुलाई मौसम र जोखिमबारे जानकारी गराउन अंग्रेजी भाषामा समेत एडभाइजरी जारी गरिएको छ ।

उद्धारपछि सुरक्षित स्थानमा राखिएका नागरिकका लागि खाना तथा आवश्यक सामग्रीको व्यवस्थापन स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारसँगको समन्वयमा भइरहेको छ । स्थानीय तथा प्रदेशस्तरका गोदामसँगै प्राधिकरणको केन्द्रीय गोदाम र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित गोदामबाट समेत आवश्यकता अनुसार राहत सामग्री पठाइरहेको प्राधिकरणले जनाएको छ ।

प्रवक्ता महतका अनुसार तत्कालको जोखिम भने अझै टरेको छैन । आइतबार रातिसम्म केही क्षेत्रमा वर्षा जारी रहन सक्ने भएकाले नदीको बहाव थप बढ्नुका साथै बाढी र पहिरोको जोखिम कायमै रहेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज ११ गते आइतबार