अन्डमान सागरमा उत्पत्ति भई बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली न्यून चापीय क्षेत्र भारतको ओडिशा तटीय क्षेत्र पार गरेपछि त्यसको प्रभाव नेपालमा बढेको छ । आज र भोलि उक्त प्रणालीको उच्च प्रभावका कारण नेपालका अधिकांश भेगमा भारी वर्षासँगै उच्च हिमाली क्षेत्रमा हिउँ हुरीसहित भारी हिमपात भइरहेको छ ।
शक्तिशाली न्यूनचापीय क्षेत्र भारतको विशाखापट्टनम र गोपालपुरको बिचबाट अघि बढ्दै कलिङ्गपट्टनमको दक्षिणपश्चिम नजिकबाट उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशाको तटीय क्षेत्र पार गरेको हो । उक्त प्रणाली उत्तरपश्चिमतर्फ सर्दै आगामी २४ घण्टामा क्रमशः कमजोर हुने अनुमान मौसम विज्ञान विभागले गरेको छ ।
उक्त प्रणालीको प्रभावले नेपालमा देशव्यापी बदलीसँगै अधिकांश स्थानमा वर्षा भइरहेको छ । विभागका अनुसार हिमाली क्षेत्रमा भारी हिमपात भइरहेको छ । सर्वोच्च शिखर सगरमाथा आसपास बुधबारदेखि सुरु भएको हिमपात बिहीबार पनि जारी रहेको आधार शिविरस्थित पिरामिड प्रयोगशालाका व्यवस्थापक काजी विष्टले जानकारी दिए ।

उनले भने, ‘लगातार हिउँ परिरहेको छ । साँझदेखि झनै बाक्लिएको छ । मध्य हिउँदको जस्तो मौसम सगरमाथा क्षेत्रमा बनेको छ ।’ उनी बस्ने आसपासका क्षेत्रमा बिहीबारसम्म दुई फिटभन्दा बढी बाक्लो हिउँ परिसकेको छ । पिरामिड प्रयोगशालाको भवनसमेत पूरै हिउँले ढाकिएको छ । पाँच हजार ५० मिटर उचाइमा रहेको उक्त प्रयोगशालाले हिमाली क्षेत्रको वातावरण र जनजीवनको अध्ययन गर्दै आएको छ ।
त्यस्तै अन्नपूर्ण, मनास्लु, धौलागिरि, कञ्चनजङ्घा लगायत आरोहण हुने हिमाली क्षेत्रमा समेत भारी हिमपात भएको छ । मौसम बिग्रिएपछि धेरै आरोही सुरक्षित स्थानतर्फ फर्कने क्रम बढेको छ । मौसम विज्ञान विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सुदूरपश्चिम, कर्णाली र बागमती प्रदेशका उच्च हिमाली क्षेत्रमा माइनस २७ डिग्री सेल्सियससम्म तापक्रम रहेको छ ।
त्यस्तै गण्डकी प्रदेशका उच्च हिमाली क्षेत्रमा माइनस २६ र कोशी प्रदेशका उच्च हिमाली क्षेत्रमा माइनस २५ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको छ । उच्च हिमाली क्षेत्रमा हिउँ हुरी चलिरहेको छ । हावाको वेग सामान्यतया १० नटबाट बढेर ५० नटसम्म पुगेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिमका सात हजार मिटरभन्दा माथिका क्षेत्रमा ५० नटसम्म तथा कोशी र वाग्मती प्रदेशका सात हजार मिटरभन्दा माथिका हिमालमा ४० नटसम्म हावाको वेग रहेको छ ।

हावाको वेग ४० नटभन्दा माथि पुगेपछि त्यसलाई हुरीका रूपमा लिने गरिन्छ । हाल कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश स्थानमा बादल लागेको छ भने सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
मौसमविद् निष्ठा निरौलाका अनुसार देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा आगामी दिनमा पनि जारी रहनेछ । केही स्थानमा भारी वर्षा दोहोरिने सम्भावना रहेको उहाँले बताउनुभयो। उहाँका अनुसार गत २४ घण्टामा पाल्पाको बल्ड्याङगढी लगायत विभिन्न वर्षा मापन केन्द्रमा भारी वर्षा रेकर्ड भएको छ । अर्घाखाँची र कपिलवस्तु आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको छ । भोलिसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
धेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको विभागले जनाएको छ । भोटेकोशी हिमबाढी प्रभावित क्षेत्रमा शुक्रबार भारी वर्षाको प्रबल सम्भावनासँगै रेड अलर्ट जारी गरिएको छ । वर्षासँगै गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । वर्षाका कारण विभिन्न क्षेत्रमा दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुने सम्भावना रहेको जनाइएको छ ।
