२०८३ असोज ९ , शुक्रबार 25, September 2026, Friday

कृष्णभीरमा फेरि पहिरो, यातायात अवरुद्ध

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा ठूलो ढुङ्गासहितको पहिरो खसेको छ । लगातार परेको वर्षासँगै बिहीबार राति साढे १० बजेतिर सो क्षेत्रमा माथिबाट ठूलो ढुङ्गासहितको पहिरो खस्दा कृष्णभीर सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

भोटेकोसीको बाढीका कारण सडक भासिएपछि सडक डाइभर्सन निर्माण गरिएको छेउमा पहिरोसहितको ढुङ्गा खसेको स्थानीय सुदीप गौलीले बताए । ‘ठूला–ठूला ढुङ्गा झरेका छन्, अहिले सवारी आवागमन गर्न सक्ने अवस्था छैन,’ उनले सुनाए ।

कृष्णभीरमा पानी जमिनभित्र नछिरोस् भनेर मंगलबार प्लास्टिक हालिएको भए पनि सो स्थानको छेउमा पहिरो खसेको हो । स्थानीय प्रशासनले यो सडकखण्डमा राति ८ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारी सञ्चालनमा रोक लगाएको छ । रातिको समय र पहिरोको थप जोखिम भएका कारण अहिले पहिरो पन्छाउने काम सुरु भएको छैन ।

प्रकाशित मिति : २०८३ असोज ९ गते शुक्रबार