२०८३ असोज ८ , बिहीबार 24, September 2026, Thursday

मनसुन ‘अलर्ट’ : जोखिमयुक्त क्षेत्रमा ११ हजार ७०० सशस्त्र प्रहरी खटाइयो

बाढी, पहिरो तथा डुबान लगायत मनसुनजन्य विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण तथा खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले देशभरका ६५० जोखिमयुक्त स्थानमा ११ हजार ७ सयभन्दा बढी जनशक्ति परिचालन गरेको छ ।

सशस्त्र प्रहरी बल नेपालका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै देशभर व्यापक पूर्वतयारी तथा परिचालन योजना कार्यान्वयनमा ल्याइएको छ । साथै आवश्यक जनशक्ति र उद्धार सामग्रीको समेत व्यवस्थापन गरिएको छ ।

विपद् व्यवस्थापनका लागि दुई हजार ६० जना तालिमप्राप्त जनशक्ति, १३३ जना गोताखोर तथा २२४ जना रोप रेस्क्यूसहित उच्च भू–भाग खोज तथा उद्धार तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारी प्रत्यक्ष रूपमा खटिएको सशस्त्र प्रहरी नायव महानिरीक्षक नेत्रबहादुर कार्कीले जानकारी दिए ।

डुबानमा परेकाको उद्धारका लागि १०३ वटा र्‍याफ्ट बोट र ५८ वटा मोटर बोट तयारी अवस्थामा राखिएको छ । खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउन ३० वटा तालिमप्राप्त के–नाइन डग स्क्वाड र पाँच वटा विशेष ड्रोनसमेत परिचालनका लागि तयारी अवस्थामा राखिएको छ ।

त्यस्तै, विपद्का कारण सडक अवरुद्ध भएमा तत्काल खुलाउन तथा हेभी रेस्क्युका लागि जोखिमयुक्त नदी करिडोर र प्रदेशस्थित वाहिनी मुख्यालयमा ह्विल लोडर, क्रेन र एक्साभेटर लगायत हेभी इक्यूपमेन्ट तयारी अवस्थामा राखिएको महानिरीक्षक कार्कीले जानकारी दिए ।

उच्च जोखिममा रहेका सुनकोशी, सप्तकोशी, भोटेकोशी, त्रिशूली, नारायणी र बाग्मती नदी तथा विष्णुमती, बल्खु, मनोहरा, हनुमन्ते र नख्खु लगायत खोलामा आवश्यक उद्धार सामग्रीसहित विपद् व्यवस्थापन जनशक्ति तयारी अवस्थामा राखिएको छ ।

सशस्त्र प्रहरी बल नेपालले र्‍याफ्ट एसोसिएसनसँगको सहकार्यमा गण्डकी र लुम्बिनी प्रदेशमा थप १०–१० वटा र्‍याफ्ट बोटसमेत पूर्वतयारी अवस्थामा राख्ने योजना बनाएको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान र आवश्यकता अनुसार थप जनशक्ति परिचालन गर्ने गरी रणनीति तयार गरिएको जनाइएको छ ।

भारी वर्षा तथा बाढीपहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै सशस्त्र प्रहरी बल नेपालले असोज ९ देखि ११ गतेसम्म जोखिमयुक्त नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन माइकिङ गर्ने जनाएको छ । साथै सडक मार्गमा अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा सम्भावित विपद्बाट जोगिन उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई विशेष अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २०८३ असोज ८ गते बिहीबार