सरकारसँग हाल देशभरिका गोदामहरूमा ८७ हजार ८९२ टन रासायनिक मल मौज्दात रहेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष १ साउनदेखि १ असोजसम्मको विवरण अनुसार किसानलाई वितरण गर्न कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका गोदामहरूमा उक्त परिमाणको मल मौज्दात छ । मौज्दात मलमध्ये युरियाको मात्रा सबैभन्दा बढी छ ।
मन्त्रालयको तथ्यांक अनुसार हाल गोदाममा ४० हजार ५२५ टन युरिया, ३२ हजार ७८५ टन डीएपी र १४ हजार ५८१ टन पोटास मल मौज्दात छ । सरकारले मल आपूर्ति र वितरण जिम्मा दिएका दुई सरकारी निकायमध्ये कृषि सामग्री कम्पनी लिमिटेडसँग सबैभन्दा धेरै ६३ हजार ८०६ टन मल मौज्दात छ । त्यसैगरी साल्ट ट्रेडिङ कर्पोरेसनको गोदाममा २४ हजार ८५ टन मौज्दात छ ।
थप ८२ हजार टन आउँदै
हाल गोदाममा रहेको वितरण हुँदै गर्दा बाहिरी देशबाट थप मलसमेत भित्रिने क्रममा रहेको मन्त्रालयले जनाएको छ । तथ्यांक अनुसार हाल ८२ हजार ९५५ टन रासायनिक मल मार्गस्थ (बाटोमा आउँदै गरेको) अवस्थामा छ ।
मार्गस्थ अवस्थामा रहेको मलमा युरिया र डीएपी मात्रै छ, जसमा ६५ हजार ९७० टन युरिया र १६ हजार ९८५ टन डीएपी छ । बाटोमा रहेको मलमध्ये कृषि सामग्री कम्पनीले ६० हजार २२० र साल्ट ट्रेडिङले २२ हजार ७३५ टन मल ल्याइरहेका छन् ।
हालसम्म १ लाख ३० हजार टन बिक्री
सरकारले किसानलाई मल वितरण पनि निरन्तर गरिरहेको जनाएको छ । गत आव २०८२–०८३ को बाँकी मौज्दात समेत गरी १ असोजसम्म कुल १ लाख ३० हजार ९७५ टन रासायनिक मल बिक्री भइसकेको छ ।
यस अवधिमा ८० हजार १९६ टन युरिया, ४७ हजार २७४ टन डीएपी र ३ हजार ५०३ टन पोटास किसानको खेतबारीसम्म पुगिसकेको मन्त्रालयको तथ्यांकले देखाउँछ । कुल बिक्री भएको मलमध्ये कृषि सामग्री कम्पनी मार्फत ९८ हजार ८९३ टन र साल्ट ट्रेडिङ मार्फत ३२ हजार ८१ टन मल वितरण भएको हो ।
यस वर्ष सरकारले ५ लाख ५० हजार टन रासायनिक मल ल्याउने लक्ष्य राखेको छ । यसका लागि ३२ अर्ब ४६ करोड १९ लाख विनियोजन गरिएको छ भने हालसम्म २ लाख ४० हजार टन मल खरिदका लागि टेन्डर प्रक्रिया समेत सम्पन्न भइसकेको मन्त्रालयको भनाइ छ । मन्त्रालयको तथ्यांक अनुसार गत आवको मार्गस्थ समेत गरी हालसम्म कुल १ लाख ४७ हजार ११ टन मल आपूर्ति भइसकेको छ ।
