२०८३ असोज ५ , सोमबार 21, September 2026, Monday

भोटेकोशी बाढी : १४५१ जनाको शव फेला, ४६५५ अझै बेपत्ता

रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीमा परेर ज्यान गुमाउनेमध्ये अहिलेसम्म एक हजार ४५१ जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीले सोमबार बिहान सार्वजनिक गरेको विवरण अनुसार अहिलेसम्म रसुवामा २३६ जना, नुवाकोटमा २०३ जना, धादिङमा ७२ जना, चितवनमा ३६७ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी एक हजार ४४९ जनाको शव फेला परेको हो ।

बाढीमा घाइते भएका दुई जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना सङ्कलनसहितका आवश्यक प्रक्रिया पुरा गरी हालसम्म एक हजार २९२ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित) गरिएको छ ।

शव पहिचानका लागि मृतकका एक हजार २८६ र आफन्तका एक हजार ९९७ गरी कुल तीन हजार २८३ वटा डीएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको एक हजार ३६२ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म सात हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका चार हजार ६५५ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा एक हजार ३४२ जना व्यक्तिहरूलाई राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज ५ गते सोमबार