२०८३ असोज ४ , आइतबार 20, September 2026, Sunday

मनास्लुमा हिमपहिरो, नेपाली गाइडसहित दुई जनाको मृत्यु

मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही ध्रुव ज्योति गुहाको मृत्यु भएको छ । शनिबार राति मनास्लुको क्याम्प–३ मा उनीहरू बसेको टेन्टमाथि ठूलो हिमपहिरो खसेपछि दुवै जना सम्पर्कविहीन भएका थिए । खोजी तथा उद्धार टोलीले उनीहरूका शव करिब सात फिट गहिरो हिउँमुनि पुरिएको अवस्थामा फेला पारेको हो ।

अभियान आयोजक कम्पनी मकाउ एडभेन्चरका प्रबन्ध निर्देशक मोहन लम्सालका अनुसार खराब मौसमकाबिच गुहा र शेर्पा क्याम्प–२ बाट क्याम्प–३ तर्फ अघि बढेका थिए । त्यही क्रममा उनीहरू बसेको टेन्टमाथि हिमपहिरो खसेको थियो । अभियानमा सहभागी अन्य ६ जना पर्वतारोहीले भने मौसम बिग्रिएपछि क्याम्प–२ बाटै फर्किने निर्णय गरेका थिए ।

उनीहरू सुरक्षित रहेको बताइएको छ । दुवैसँग अन्तिमपटक शनिबार राति सम्पर्क भएको थियो । त्यसपछि सम्पर्क हुन नसकेपछि उद्धार टोली क्याम्प–३ पुगेको थियो । टोलीले खोजी गर्दा दुवैका शव हिउँमा पुरिएको अवस्थामा फेला पारेको हो । हाल उद्धार टोलीले शवलाई क्याम्प–३ बाट बेसक्याम्पतर्फ ल्याउने प्रयास गरिरहेको छ ।

मौसम अनुकूल भए सोमबार बेसक्याम्पबाट शव काठमाडौं ल्याउने तयारी गरिएको छ । ध्रुव ज्योति गुहा भारतीय मूलका जर्मन पर्वतारोही थिए र जर्मनीमा बस्दै आएका थिए । उनी मनास्लु आरोहणका लागि नेपाल आएका थिए । उनका गाइड फुरसेम्बा शेर्पा मकालु क्षेत्रका अनुभवी नेपाली पर्वतीय गाइड रहेको बताइएको छ । यस पर्वतारोहण सिजनमा मनास्लुमा मृत्यु हुनेको संख्या चार पुगेको अभियान आयोजकले जनाएको छ ।

यसअघि सिंगापुरका एक पर्वतारोही र नेपालका एक गाइडको पनि अलग–अलग घटनामा मृत्यु भएको थियो । समुद्र सतहबाट ८ हजार १६३ मिटर अग्लो मनास्लु विश्वको आठौँ अग्लो हिमाल हो । गोरखा जिल्लामा रहेको यो हिमालमा मौसममा हुने तीव्र परिवर्तन, हिमपहिरो र कठिन भौगोलिक अवस्थाका कारण आरोहण चुनौतीपूर्ण मानिन्छ । पछिल्लो घटनाले खराब मौसमका बीच उच्च क्याम्पतर्फ अघि बढ्दा उत्पन्न हुने जोखिमलाई पुनः उजागर गरेको छ ।

प्रकाशित मिति : २०८३ असोज ४ गते आइतबार