२०८३ असोज ४ , आइतबार 20, September 2026, Sunday

मानिसमा भेटियो ४९ औँ रक्त समूह प्रणाली, ‘जामा’ नाम दिइयो

बेलायत र इजरायलका वैज्ञानिकहरूले मानिसमा नयाँ रक्त समूह प्रणाली पत्ता लगाएका छन् । अन्तर्राष्ट्रिय रक्तसञ्चार सोसाइटीले यसलाई मानव शरीरको ४९ औँ रक्त समूह प्रणाली ‘जामा’ का रूपमा मान्यता दिएको छ ।

वैज्ञानिकहरूले एक इजरायली महिला र उनका भाइको रगतमा भेटिएको दुर्लभ एन्टिबडीको अध्ययनका क्रममा नयाँ रक्त समूह पहिचान गरेका हुन् । अनुसन्धानमा एफ ११ आर जीन र त्यसबाट बन्ने जेएएम–ए प्रोटिनसँग सम्बन्धित आनुवंशिक परिवर्तन पत्ता लागेको थियो ।

जामा रक्त समूहमा सामान्य मानिसमा पाइने एउटा विशेष एन्टिजन अनुपस्थित हुन्छ । यस्तो दुर्लभ अवस्था भएका व्यक्तिलाई सामान्य रगत दिँदा शरीरले एन्टिबडी बनाएर चढाइएको रातो रक्तकोषिकामाथि आक्रमण गर्न सक्ने भएकाले गम्भीर रक्तसञ्चार प्रतिक्रिया हुन सक्छ ।

वैज्ञानिकहरूका अनुसार नयाँ खोजले यस्ता दुर्लभ बिरामी र उपयुक्त रक्तदाताको पहिचान गर्न सहयोग गर्नेछ । डीएनए परीक्षणमार्फत बिरामी र रक्तदाताको पहिचान गर्न सकिने भएकाले भविष्यमा सुरक्षित रक्तसञ्चार र दुर्लभ एन्टिबडीको व्यवस्थापनमा यो खोज महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २०८३ असोज ४ गते आइतबार