पत्रकार टेकराज थामीको कुशको शव बनाएर पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । थामी समुदायको परम्परा अनुसार उनको अन्त्येष्टि गरिएको हो । १० भदौमा गएको बाढीमा बेपत्ता भएर लामो समयसम्म नभेटिएपछि कुशको शव बनाएर अन्त्येष्टि गरिएको परिवारजनले बताएका छन् ।
अन्त्येष्टिअघि आफन्त, पत्रकार, पेसाकर्मी, राजनीतिज्ञ, नेपाल थामी समाजका प्रतिनिधि लगायतले थामीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले महासंघको झन्डा ओढाएकी थिइन् भने नेपाल थामी समाजका अध्यक्ष रणबहादुर थामीलगायतले श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
थामीले एचबीसी एफएमबाट पत्रकारिता यात्रा थालेका थिए । त्यसपछि सगरमाथा टेलिभिजन र एबीसी टेलिभिजन हुँदै नयाँ पत्रिका दैनिकमा लामो समय काम गरे । उनी झन्डै डेढ दशकदेखि नयाँ पत्रिका दैनिकमा कार्यरत थिए । पत्रकार महासंघको पूर्वकेन्द्रीय सदस्यसमेत रहेका उनी गोरखापत्र दैनिकमा प्रकाशित हुने थामी भाषाको पृष्ठका संयोजकसमेत थिए ।
पत्रकारितासँगै उनी अध्यापनमा पनि जोडिएका थिए । बागीश्वरी क्याम्पस र समृद्धि क्याम्पसमा पत्रकारिता पढाएका उनले पत्रकारिता प्रशिक्षण र लेखनलाई पनि निरन्तरता दिएका थिए । थामीकी पत्नी कालिका खड्का राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत छिन् । उनीहरुकी एक छोरी छन् ।
