२०८३ असोज ३ , शनिबार 19, September 2026, Saturday

कांग्रेस नेता र पत्रकार नेता वैदेशिक रोजगारी ठगीमा पक्राउ

वैदेशिक रोजगारी ठगीको आरोपमा नेपाली कांग्रेस र पत्रकारकी नेतालाई प्रहरीले पक्राउ गरेको छ । रामेछापका कांग्रेस नेता भरत चौलागाईं र कांग्रेससम्बद्ध प्रेस युनियनकी केन्द्रीय सदस्य बालिका शिवाकोटी पक्राउ परेकी हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का अनुसार प्रधानमन्त्रीको प्रमुख सल्लाहकार नाम तथा पदको दुरुपयोग गर्दै उनीहरूले ठगी गरेका थिए ।

नेपालबाट इजरायलमा केयर गिभरको लागि कामदार लैजाने भनी नेपाल सरकार र इजरायल सरकारबीच भएको जीटुजी सम्झौता बमोजिम छनौटमा नपरेका मानिसहरुलाई उनीहरूले इजरायल पठाउने भनी रकम लिएको सीआइबीले जनाएको छ ।

उनीहरूले इजरायल जान लक्की ड्रमा नपरेकामध्ये १५६ जनासँग प्रतिव्यक्ति छ लाख २० हजार रुपैयाँका दरले रकम संकलन गरेका थिए । सबैसँग गरी दुई करोड ५० लाख ठगी गरेका थिए ।

यो कसुरमा रामेछाप जिल्ला सुनापति गाउँपालिका वडा नं १ घर भएका वर्ष ५९ का चौलागाई र दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नं ८ घर भएकी वर्ष ३२ की सिवाकोटी पक्राउ परेको सीआईबीका प्रवक्ता एसएसपी अनुपमसमशेर जबराले जनाएका छन् ।

प्रकाशित मिति : २०८३ असोज ३ गते शनिबार