२०८३ असोज १ , बिहीबार 17, September 2026, Thursday

सुदूरपश्चिममा मनाइँदै ‘बुढी पोल्ने’ पर्व

आज सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । धार्मिक विश्वासअनुसार बालबालिकालाई विषालु दूध खुवाएर मार्ने प्रयास गर्ने राक्षसी ‘पुतना’लाई भगवान् श्रीकृष्णले वध गरको खुसीयालीमा डोटी जिल्लामा यो पर्व मनाउने चलन छ । पौराणिक किंवदन्ती अनुसार भगवान् श्रीकृष्णले पुतनाको ‘बध’ गरेपछि सत्यको विजयको स्मरणार्थ यसपर्वको सुरुआत भएको हो ।

प्रत्येक वर्ष असोज १ गते मनाइने यो पर्व स्थानीय मौलिक संस्कृति र परम्परासँग जोडिएको छ । साथै सुदूरपश्चिम प्रदेशका विभिन्न पहाडी जिल्लामा पनि आज परम्परागत ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । भाद्र सङ्क्रान्तिदेखि संकलन गरेर राखिएका काठ, हाँगा तथा झ्याङलगायत सामग्रीबाट बनाइएको ‘बुढी’को प्रतीकलाई साँझपख सामूहिक रुपमा आज असोज १ गते बुढी पोलिने र सोही ठाउँमा काँक्रो खाँदै चारै दिशातर्फ लुतो फाल्ने प्रचलन छ ।

स्थानीय जनविश्वास अनुसार ‘बुढी पोल्ने’ परम्परा भगवान् श्रीकृष्णसँग सम्बन्धित पुतना बधको कथासँग जोडिएको मानिन्छ । पुतनालाई बुढीको प्रतीकका रूपमा लिएर उनको अन्त्यको सम्झनामा यो पर्व मनाउने गरिएको जनविश्वास छ । साथै यस पर्वसँग जोडिएका स्थानीय कथा, मान्यता र मनाउने विधिमा केही भिन्नता पाइन्छ । पशुचौपायामा कुनै रोग नलाग्ने विश्वास गरिन्छ । ‘बुढी पोल्ने’ परम्परा भगवान् श्रीकृष्णसँग सम्बन्धित पुतना बधको कथासँग जोडिएको ठूलाकेदार धामका मुुख्य पुजारी सिद्धराज बिराडीले बताए ।

उनले पुतनाको स्वरुप तयार गरी सिँगारिएको बाबियो लगायत सामग्रीलाई आज बिहान गोठबाट निकालेर दिनभर घाममा सुकाइ साँझ दोबाटोमा लगेर जलाउने चलन छ । आधुनिक जीवनशैली र बढ्दो बसाइँसराइका कारण परम्परागत संस्कृतिमा परिवर्तन आइरहेको भए पनि ‘बुढी पोल्ने’ पर्वले डोटीका समुदायलाई आफ्नो मौलिक परम्परा र सांस्कृतिक पहिचानसँग जोड्दै आएको छ । स्थानीयस्तरमा पर्वको संरक्षण र पुस्तान्तरणका लागि नयाँ पुस्ताको सहभागिता आवश्यक रहेको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाले बताए ।

प्रकाशित मिति : २०८३ असोज १ गते बिहीबार