मनास्लु हिमाल आरोहणको लागि आएका सिंगापुरका एक नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय लाउ वी सिंग भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका सामागाउँस्थित मनास्लु हिमालको दोस्रो क्याम्पबाट आधार शिविर (बेस क्याम्प)तर्फ फर्किने क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
बिहिबार बिहान करिब ६ बजे दोस्रो क्याम्पबाट बेस क्याम्पतर्फ फर्किने क्रममा पदमार्ग हिड्न कठिनाई भएपछि उनी बाटोमै बसेका थिए । सोहि स्थानमा उहाँको मृत्यु भएको खबर बिहान ८ बजेर ५० मिनेटमा प्रहरीलाई प्राप्त भएको थियो ।
पर्यटन विभाग काठमाडौंबाट अनुमति लिएर आइटके एक्सपेडनसन प्रालि लिमिटेड एजेनसीमार्फत उनी मनास्लु हिमाल आरोहणमा आएका थिए । उक्त एजेन्सीमार्फत आरोहणको लागि १५ जनाको समुह रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
मृतक सिंगारपुरका नागरिकको शव उद्धारको लागि सम्बन्धित ट्रेकिङ एजेन्सीमार्फत समन्वय भइरहेको प्रहरीको भनाई छ । उनी सन् २०२६ सेप्टेम्बर अर्थात २०८३ भदौ १७ गते काठमाडौं आइपुग्नु भएको थियो ।
सेप्टेम्बर ७ अर्थात भदौ २२ गते सामागाउँ पुगेका उनी सेप्टेम्बर ९ अर्थात भदौ २४ गते मनास्लु आधार शिविर पुगेका थिए । सामागाउँस्थित प्रहरी चौकीबाट करिब १५ किलोमिटर पश्चिममा पर्ने मनास्लु आधार शिविरमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठको भनाइ छ ।
उनको मृत्युको कारणबारे थप विवरण आउन बाँकी भएकाले शव उद्धार तथा आवश्यक प्रक्रिया पूरा गर्न सम्बन्धित निकायले समन्वय गरिरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
