भोटेकोशी बाढीमा रसुवा र नुवाकोटबाट बेपत्ता हुनेको संख्या एकैदिनमा ९७१ जनाले वृद्धि भएर छ हजार १५० पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मंगलबारको प्रतिवेदनमा बेपत्ताको संख्या पाँच हजार १७९ जना थियो । बुधबार साँझको प्रतिवेदनमा भने भने बेपत्ताको संख्या वृद्धि छ हजार १५० पुगेको छ । एकै दिनमा ९७१ जना थप बेपत्ता सुचीकृत भएका छन् ।
प्राधिकरणका प्रवक्ता शान्ति महतले सम्बन्धित जिल्लाबाट बेपत्ताको सूचि थप भएर आएपछि वृद्धि भएको बताइन् । ‘थपिएका बेपत्ताको संख्या तीन–चार दिनअघि नै प्राधिकरणमा आएको थियो,’ उनले भनिन्, ‘त्यतिबेला संख्या मात्रै आएकाले बेपत्ताको विवरणमा थप गरेनौं, रसुवा र नुवाकोट जिल्लाबाट बेपत्ताको नाम ठेगाना, उमेर, विस्तृत तथ्यांक अपडेट भएर आएपछि हामीले विवरण थप गर्यौं । एक्कासी तथ्याङ्क बढेको देखियो ।’
बेपत्ताको संख्या वृद्धि हुनुमा रसुवा, नुवाकोटका स्थानीयबासी, ती जिल्ला बाहेकका नेपाली र विदेशी नागरिकको संख्या पनि थप भएको छ । रसुवाबाट स्थानीय बेपत्ताको संख्या एक हजार ३९३ बाट बढेर एक हजार ६७७ पुगेको छ । अर्थात रसुवाबाट बेपत्ता हुनेको अद्यावधिक सूचिमा २८४ जना थप भएका छन् । त्यस्तै रसुवाबाट अन्य जिल्लाका थप २५० जना नेपाली नागरिक बेपत्ता भएका छन् ।
मंगलबारसम्म एक हजार ५८६ जना बेपत्ता रहेकोमा बुधबारसम्म एक हजार ८३६ जना बेपत्ता भएको तथ्यांक छ । त्यस्तै नुवाकोटका ७९६ जना स्थानीय बेपत्ता रहेको प्राधिकरणले जनाएको छ । ६७१ जना बेपत्तामा थप १२५ जना नुवाकोटका स्थानीय थप भएका हुन् । नुवाकोटबाट बेपत्ता हुने नेपाली नागरिकको संख्या पनि १७४ जनाले बडेको छ । एक हजार १३६ बाट बढेर १ हजार ३१० जना पुगेको छ ।
विदेशी नागरिक ५८७ जना बेपत्ता रहेकोमा अद्यावधिक तथ्यांकमा ४९ जना बेपत्ता थपिएर ६३६ जना पुगेको छ । बाढीमा परेर एक हजार ४०३ जनाको मृत्यु भएको छ । चितवनमा ३६४, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२, रसुवामा १९३, गोरखामा ७८, धादिङमा ७२ र तनहुँमा जनाको मानव अंग सहितको शव फेला परेको थियो । भोटेकोशीमा आएको बाढीले त्रिशूली नदि हुँदै शव र मानवअंगहरु ती जिल्लामा पुर्याएको थियो । बाढीमा परेर घाइते भएका दुई जनाको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ ।
५४४ जना पुरुष, ३३६ जना महिलाको शव र ५२३ वटा आंशिक अंग फेला परेको प्राधिकरणले जनाएको छ । शव पहिचानका लागि एक हजार २८६ मृतकका एक हजार ८८९ जनाको डिएनए नमुना संकलन गरिएको छ । घाइते ३४४ जना अस्पतालमा उपचाररत छन् भने २८९ जना डिस्चार्ज भएका छन् । बाढीबाट विस्थापितहरु नुवाकोट र रसुवाका २९ वटा होल्डिङ सेन्टरमा बसोबास गरेका छन् । एक हजार ५१५ जना होल्डिङ सेन्टरमा बसेका छन् । होल्डिङ सेन्टरमा बस्नेको संख्या भने क्रमशः घट्दो छ ।
