भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका बाँकेका व्यक्तिका परिवार डिएनए परीक्षण रिपोर्टको पर्खाइमा छन् । सास वा लाश केही फेला नपर्दा आफूले सामाजिक संस्कार समेत गर्न नपाएको नेपालगन्ज उपमहानगरपालिका–२० अनलाल रोकायले बताए ।
रसुवा भन्सार कार्यालय टिमुरे क्षेत्रमा काम गर्दै आएका ५३ वर्षीय शेरसिंह रोकाय, ५६ वर्षीया विष्णुमती रोकाय तथा उनीहरूलाई भेट्न गएका १९ वर्षीय दीपक रोकाय बाढीपछि सम्पर्कविहीन भएको २२ दिन पुग्दा पनि कुनै सूचना प्राप्त गर्न नसक्दा पीरमाथि दुःख थपिएको अनलालले बताए ।
बुढेसकालको सहारा एक्ला छोरा, जीवनका आधार बनेका दाजु र भाउजु एकै पटक सम्पर्कविहीन भएपछि अनलालको घरमा यतिबेला सन्नाटा छाएको छ । सासको आश मारिसके पनि लाश समेत फेला नपर्दा साह्रै चिन्ता लागेको अनलालले बताए ।
‘हाम्रा मान्छे कतै फर्किहाल्छन् कि भन्ने आशा मर्दै गएको छ,’ रोकायले भने, ‘डिएनए परीक्षण रिपोर्ट मिल्छ कि भन्ने झिनो आशा र मनभित्रको असैह्य पीडाबीच विछोडको भारी थाम्न विवश छौं ।’
शव पहिचानको लागि डिएनए परीक्षणको लागि नमूना पठाएपछि बाढीपछि सम्पर्कविहीन दाजु–भाउजु र छोराको शव पहिचान हुनेमा आफू आशावादी भएको उनको बताए । रोकायले नेपालगन्जस्थित भेरी अस्पतालमा डिएनए परीक्षणको लागि नमूना दिएका छन् ।
डिएनएको रिपोर्ट समेत नआउँदा बेपत्ता परिवारको सामाजिक संस्कार समेत गर्न नसकेको बताउँदै उनले डिएनए रिपोर्ट र बेपत्ता व्यक्तिको बरेमा सरकारले आधिकारिक धारणा परिवारलाई दिनुपर्ने बताए ।
त्यस्तै रोजीरोटीका लागि रसुवा पुगेका आराम दमाई र उजना दमाई पनि बाढीमा परी सम्पर्कविहीन भएपछि १६ वर्षीय सुभाष नेपाली, ११ वर्षीय भाइ अश्विन र ९ वर्षीया बहिनी स्मारिका दिनभरजसो नै आमा–बुबा फर्किने बाटो हेर्दै बिताउने गरेका छन् ।
रोकायजस्तै उनीहरुले पनि डिएनए रिपोर्टको प्रतीक्षा गरिरहेको प्रतिक्रिया दिए । नेपालगन्ज–२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले डिएनए रिपोर्ट नआएकाले सबैलाई सान्त्वना दिँदै र सम्झाउँदै आएको बताए ।
उनले सम्पर्कविहीनहरूको खोजी जारी राख्न र पीडित परिवार, विशेष गरी सहाराविहीन बनेका आराम र उजनाका बालबालिकाको पालनपोषण तथा शिक्षाका लागि आवश्यक समन्वय र सहयोग गर्ने बताए ।
बाढीपश्चात् सम्पर्कविहीन आफन्त खोज्न गएका केहीले चितवन र काठमाडौंस्थित अस्पतालमा तथा १६ जनाले भेरी अस्पतालमा डिएनए परीक्षणका लागि नमूना संकलन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिए ।
डिएनए परीक्षणको लागि सम्पर्कविहीन भएका व्यक्तिका पहिलो तहका नातेदार बाबु, आमा, छोरा वा छोरीको ताजा रगतको नमुना संकलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ ।
बाढीपछि बाँकेका २३ व्यक्ति हालसम्म बेपत्ता छन् । हालसम्म तीन जनाको शव सनाखत भई मृत्युको घोषणा भएको छ भने ३२ जनाको सकुशल उद्धार भएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए ।

