२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

आमालाई ६ महिना प्रसूति बिदा, बुबालाई ४२ दिन स्याहार बिदा प्रस्ताव

सरकारले आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने व्यवस्था प्रस्ताव गरेको छ । बच्चा जन्मिएपछि आमासँगै बुबालाई पनि शिशु स्याहारमा समय दिन सक्ने गरी कानुन संशोधन गर्न लागिएको हो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनका लागि तयार गरिएको विधेयकमा यस्तो व्यवस्था प्रस्ताव गरिएको जानकारी दिएकी छन् । उनका अनुसार विधेयक अब मन्त्रिपरिषद्मा लैजाने र त्यसपछि संसद्मा पेस गरिनेछ ।

प्रस्तावित व्यवस्था अनुसार आमाले कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा पाउनेछिन् । त्यस्तै, बुबाले बच्चा जन्मिएपछि ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा लिन पाउनेछन् । मन्त्री गौतमले बच्चा जन्माउने प्रक्रिया आमासँग जोडिए पनि बच्चा हुर्काउने जिम्मेवारी आमाको मात्र नभएको बताएकी छन् ।

अभिभावकत्व साझा जिम्मेवारी भएकाले बच्चा जन्मिएपछि बुबालाई पनि शिशु स्याहारका लागि पर्याप्त समय उपलब्ध गराउने गरी कानुनी व्यवस्था गर्न लागिएको उनको भनाइ छ । बदलिँदो जीवनशैली र कामको चापका कारण अधिकांश परिवार एक वा दुई सन्तानमा सीमित भइरहेका अवस्थामा नवजात शिशु र परिवारलाई पर्याप्त समय दिन अभिभावकलाई सहयोग गर्नु राज्यको जिम्मेवारी भएको मन्त्री गौतमले बताएकी छन् ।

प्रस्तावित विधेयकले प्रसूति तथा शिशु स्याहारको विषयलाई आमाको बिदामा मात्र सीमित नगरी दुवै अभिभावकको जिम्मेवारीसँग जोड्न खोजेको छ । हाल कार्यान्वयनमा रहेको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ ले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी अधिकारको व्यवस्था गरेको छ ।

सरकारले प्रस्ताव गरेको संशोधन पारित भएमा प्रसूति तथा शिशु स्याहारसम्बन्धी बिदाको व्यवस्था थप फराकिलो हुनेछ । मन्त्री गौतमका अनुसार नयाँ व्यवस्थाको उद्देश्य नवजात शिशुको स्याहारमा अभिभावकको सहभागिता बढाउनुका साथै बच्चा जन्मिएपछि परिवारलाई आवश्यक समय उपलब्ध गराउनु हो ।

प्रकाशित मिति : २०८३ भदौ ३१ गते बुधबार